परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पत्रकार रिसालको ‘नेपाली वाङ्मयका तीन तारा’ कृति सार्वजनिक

काठमाडौं । बरिष्ठ पत्रकार भैरव रिसालले ‘नेपाली वाङ्मयका तीन तारा’ कृति सार्वजनिक गरेर आफू अझै सक्रिय रहेको सन्देश दिनुभएको छ ।
गएकै साता ९२ जन्मोत्सव मनाउनुभएका उहाँको कृति शनिबार सार्वजनिक गरिएको हो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समलाई नेपाली वाङ्मयका ताराका रुपमा लिइन्छ ।
पत्रकारिताका क्षेत्रमा कार्यरत रहँदा राजनीति, साहित्य, कलासँर्गै धेरै क्षेत्रका धेरै जनासँग रिसालले भेट्ने, अन्तर्वार्ता लिने मौका पाउनुभयो ।
औपचारिक÷अनौपचारिकरुपमा भएका भेटघाटमा उहाँले समाचारका सामग्रीसँगै भेटभएका व्यक्तित्वहरुका जीवनीका साथै दैनिकीबारे पनि जान्ने अवसर पाउनुभयो ।

सार्वजनिक गरिएको कृतिमा देवकोटा, पौड्याल र समका व्यक्तिगत एवं घरायसी जीवनका साथै उहाँहरुका व्यवहारका कतिपय पाटा समेटिएका छन् ।
यस कृतिमा देवकोटाको घरमा शौचालयको व्यवस्था कस्तो थियो भन्ने उल्लेख गरिएको छ । त्यसैगरी, लेखनाथ पौड्याल र राणाका दवरबारसँगको सम्बन्धबारे पनि टिपोट छ ।

कलाकार, लेखकसमेत रहनुभएका सम हासेको आफूले कहिल्यै नदेखेको पनि पत्रकार रिसालले आफ्नो कृतिमा लेख्नुभएको छ ।
शमी साहित्य प्रतिष्ठान प्रकाशक रहेको पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसा उप्रेतीसँगै दुई बालबालिकाले संयुक्तरुपमा सार्वजनिक गर्नुभएको हो ।

पुस्तकका बारेमा टिप्पणी गर्दै डा. अभि सुवेदीले साहित्यकारको जीवनीले उहाँहरुका कृतिमा प्रभाव पार्छ भन्ने साहित्य समालोचनाको सिद्धान्तलाई लेखक रिसालले प्रस्तुत गर्नुभएका घटनाले पुष्टी गरेका छन् भन्नुभयो ।

टिप्पणीकार डा. अरुणा उप्रेतीले साहित्यकारका स्वभाव, उहाँहरुसँगका प्रशंगलगायतका विविध पक्ष समेटिएको प्रस्तुत कृति उहाँहरुबारे अध्ययन गर्न सहयोगी हुने बताउनुभयो ।

तस्वीरः प्रदिप रिजाल

Facebook Comments