परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

तीन टुक्रा

कविता

इतिहास

 

मर्दा-पर्दा छर-छिमेकी वन्धु-वान्धव चाहिने हो नि

पराइको लहैलहैमा गाल पारापार गरियो


धारा सुक्दा लुरुक्क पुग्नु पर्ने मुहान त एउटै थियो

अन्तिम थोपा नखसुञ्‍जेल पानी बाराबार गरियो


गन्तब्यको आभाष त यात्रा शुरू भएपछि न हुने थियो

पहिलो पाइला टेक्ने ठाउँको लागि नै मारामार गरियो

 

हतार

पखेटा मागेको होइन उसले,
उड्ने बल मागेको होइन,
मागेको होइन कुनै सहयोग

सर्वत्र आकाशमा कुहिरो देखेर,
छिचोल्न नसकिने तुवाँलो देखेर,
अलिकति हच्किएको हो ऊ

तिमी पो हतारियौ
चरीलाई उड्न सिकाउन
तालीमका महंगा योजनासँग

तिम्रो कार्यक्रम बनिसक्दा
कुहिरो फाट्यो भने?
तुवाँलो हट्यो भने?

 

अगुवा

 

अनुहार अलग होस्, अहंकार अलग होस्

उसको बोलीमा अलंकार अलग होस्

 

विचार अलग होस्, संस्कार अलग होस्

ऊसँगको हरेक सञ्‍चार अलग होस्

 

आहार अलग होस्, व्यवहार अलग होस्

उसको सोचाइको आधार अलग होस्

 

मतियार अलग होस्, हतियार अलग होस्

ऊसँग भिड्नेको हार अलग होस्

 

अगुवा त यस्तो पाइयोस् जीवनमा

जसको उपस्थितिमा संसार अलग होस् 

Facebook Comments