पाँच ठूला आयोजना अघि बढाउँदै खानेपानी मन्त्रालय
सिएमइसीबाट लगानी जुटाउने प्रस्ताव
काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानीका पाँच ठूला आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने तयारी गरेको छ । मुलुकमा बढ्दै गइरहेको खानेपानी आवश्यकता पूरा गर्न मन्त्रालयले पाँच आयोजनालाई प्राथमिकता दिएको हो ।
खानेपानी मन्त्री बिना मगरले खानेपानीका पाँच आयोजनाहरू नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनाको कामलाई अघि बढाउन सचिव र विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
मेलम्ची खानेपानी आयोजनाले मात्रै उपत्यकाको खानेपानीको माग पूरा नहुने भन्दै भक्तपुरको महादेव खोला जलाशययुक्त खानेपानी आयोजना पनि सञ्चालन गर्ने तयारी भईरहेको छ । खानेपानी मन्त्रालयका अनुसार यसको सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । ३ अर्ब अनुमानित लागत रहेको यस आयोजना सञ्चालन भएपछि भक्तपुरका करिब ५ लाख जनसंख्या लाभान्वित हुनेछन् ।
कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर पूर्व, चितवन, बारा, पर्साका करिब ४० लाख जनसंख्या लाभान्वित हुने गरी नारायणी नदी थोक वितरण खानेपानी आयोजना निर्माण गर्ने तयारी हुँदैछ । खानेपानी तथा ढल व्यवस्थापन विभागको प्रारम्भिक अध्ययनअनुसार यस आयोजनाको लागत ६० अर्ब लाग्ने अनुमान गरिएको छ । यस आयोजनाको पनि सम्भाव्यता अध्ययन पूरा भइसकेको छ ।
त्यसैगरी करिब २ अर्ब लागतमा दाङको पातुखोला जलाशययुक्त खानेपानी आयोजना निर्माण गर्ने सरकारको योजना छ । मन्त्रालयको प्रारम्भिक अनुसन्धानबाट आयोजना सम्पन्न भएपछि दाङ क्षेत्रका करिब १ लाख ५० हजार जनसंख्या लाभान्वित हुनेछन् ।
मन्त्रालयले तेस्रो आयोजनाअन्तर्गत करिब ३ अर्बको लागतमा भेरी–सुर्खेत उपत्यका पम्पिङ खानेपानी आयोजना निर्माण गर्दैछ । यस आयोजनाको डीपीआर तयार भइसकेको छ । आयोजना सञ्चालन भएपछि सुर्खेतका करिब १ लाख ६५ हजार जनसंख्या लाभान्वित हुने बताइएको छ ।
त्यस्तै बाँके र बर्दियाका करिब १३ लाख जनसंख्या लाभान्वित हुने गरी मन्त्रालयले कर्णाली बबई थोक वितरण खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको छ । यो आयोजनाको लागत २१ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
चीनका ठूला कम्पनीहरू मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले नेपालको खानेपानीको क्षेत्रमा पहिलो प्राथमिकता दिएर लगानी जुटाउने प्रस्ताव पेश गरेको छ । कम्पनीले पेश गरेको प्रस्तावमा खानेपानीका यी पाँच ठूला आयोजनाहरूमा चाईना एक्जिम बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी ल्याउने र निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गरेको छ । सम्भाव्यता अध्ययन भईसकेका पाँच आयोजनाहरूको लागत ९० अर्ब लाग्ने अनुमान गरिएको छ । पाँच वटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।