भयङ्कर तनाव
म अहिले असमेल चिन्तामा छु । अर्को शब्दमा भन्ने हो भने द्वन्द्वमा छु । देशमा भइरहेका ननिका र अगतिला काम जति खाराकखुरुक निचोरेर मेरै दिमागमा घोप्ट्याइदिए जस्तो भइरहेको छ । सिके राउतलाई छोड्नुहुन्थ्यो कि हुँदैनथ्यो, विप्लवका गतिविधिलाई प्रतिबन्ध लगाउनु ठीक कि बेठीक, प्रधानमन्त्रीले रेल र पानीजहाजको कुरा गर्नु जायज कि नाजायज, काङ्ग्रेसले नेवि संघलाई सिल्टिमुर खुवाको हो कि होइन? नेकपाको पार्टी एकता हुनेवाला छ कि, भयो कि, हुँदैछ? मेलम्चीको पानी आम्छ कि आम्दैन ? यस्ता अनगिन्ती सवालहरू मेरो हुँदै नभएको दिमागमा आएर बेफ्वाकमा हल्ला मच्चाइरहेका छन् । अलि दिन यस्तै अवस्था रहने हो भने मेरो टाउको विप्लवले पड्काएको कुकरबम जस्तो पड्किन बेर छैन । हैन, यो वाइयात तर्क किन मेरो भागमा हाल्छन् हँ लठबुङहरूले ! हुन त अहिले म सुर्खेत र दैलेखको सिमानामा छु । ऊ … तल सुर्खेत बजार देखिदैछ । तर, आँखाले बजार देखेर के गर्नु, मनलाई भने राष्ट्रको समस्याले च्वास्च्वास् घोचेको छ। कठैबरा ढुङ्गा जस्तो कमलो मेरो मन !
एक दिन मेरो छिमेकी तनावेले भावुक भएर भनेको थियो “तेरो मन सारै बेढङ्गको छ” । मैले मनमनमा सोचेँ बिचरा तनावे ! नेपालको बुद्धिजीवी, मानवअधिकारकर्मी, नागरिक अगुवा, सामाजिक अभियन्ता लगायतको बिल्ला भिरेर हिँडेको छ । यस्ताले मेरो मन बेढङ्गको देख्नु के अचम्म भयो र ! हुन त राष्ट्रको सबैभन्दा ठूलो बोझ तनावेले नै बोकेको छ । तनावेको छेउमा मैले त एक पित्को पनि बोझ बोकेको छैन । सकी-नसकी, असिनपसिन हुँदै, ठस्ठसी कन्दै पाँङ न पुच्छरको भासन गरेको देखेर कतिपयले तनावेलाई “हेर हेर यूरो भुकेको” भनेका छन् । कतिपयले “डलर छादो” भनेर गिल्ला गरेका छन् । “हेर, हेर, दक्षिणको फुलौरा फुलेको” भन्नेहरू पनि कम छैनन् । जहिल्यै तनावमा हुने भएकाले कल्ले हो, यसको नाम नै “तनावे” राखिदिएछन् । जे होस् तनावेले मेरो मन वेढङ्गको देख्यो । अर्काको मन देख्ने खुबी प्रचूरमात्रामा तनावेसँग ओतप्रोत छ । आऽऽऽ… अर्काको कुरा कति गर्नू, खायो त खायो, तनावेले खायो ! भारु, डलर, यूरो केजाति उजाति स्वनामधन्य भएर खायो । उसले खाएकोमा के आरिस गर्नू ! म त गर्दिनँ ।
यो मन स्थिर छैन । बरु आँखा आफ्नै लयमा छन् । ऊ तलबाट राउटेहरू आउँदै रा`न् । सबैलाई आफ्नै चिन्ता र पिरलो । यिनार्लाई कम्ता पिरलो छैन ! “यो भेगमा आफूहरूले “राज” गर्न पाउनुपर्छ” भन्ने एकताका ठूलै आन्दोलन गरेका थिए । अर्को पटक “बाँदर मारेर खान पाउने राउटे अधिकार स्थापित हुनुपर्छ” भनेर सनसनीपूर्ण आन्दोलन छेडेका थिए । राउटे जनक्रान्तिको उठान र बैठानका लागि हाम्रा उनै तनावे उफ्रिएका थिए ।
छेउमा देखिएका राउटे मुखियालाई नमस्कार गर्दै सोधेँ – काँ`ट आएका हौ बाबू साब?
“काँ`ट आनु, सुर्खेताट । सरखारले हाम्रो हेर बिचार गरेको नाईं ।” उनले आफ्नै दुखेसो मछेऊ घोप्ट्याए ।
“रासन पानी ल्याएउ कि नाईं मुखिया”?
“ल्यानु नाई त खान्या के” ? भन्ने जवाफ दिएर राउटे लागे रातानाङ्गलातिर ।
सबैलाई आआफ्नै समस्या छ । म स्वयम् तनावमा छु भने राउटेका राजा, मेरो टोलका तनावे, अन्य ऐरे, गैरे, नत्थुखैरे तनावमा नपर्ने कुरै भएन !
सबैभन्दा ठूलो तनाव देउवा दाइलाई छ । हेर्दाहेर्दै पार्टी त भत्केको ठाँटी पो बन्ने भयो भन्ने तनावले दाइलाई दिउँसै कोकमा मिसाएर नखाई हुँदैन । यता प्रचण्ड कामरेड उखरमाउलो तनावमा छन् । प्रत्येक दिन आफ्नो हत्या हुँदै गरेको सपना देख्छन् । सबै सबै तनावमा छन् । उता प्रधानमन्त्री ओली अर्को तनाबमा छन् । गधालाई गाई देख्ने भा`का छन् रे । बाफ रे तनाव !