परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

स्वर्गमा मानव क्लोनिङ्ग

विज्ञानोपनिषद् (खण्ड-६)

हर्ष र विषाद्को संयुक्त अनुभूति कस्तो हुन्छ ? कुनै धनपति अथवा राजयुवकलाई शायद् हुन्छ पनि होला, पिताको निधनमा । तर म जस्तो मध्यमवर्गीय प्राणीका लागि यी दुबै स्पष्ट विभाजनका साथ बेलामौका जीवनमा आउने गर्छन् । तर आज म यी दुबै अनुभूतिले एकै समयमा सङ्क्रमित भइरहेको छु ।

देवराजसँगको सान्निध्यले जहाँ हर्षको अन्त थिएन, त्यही आज नै उहाँको प्रस्थानको कार्यक्रमले मनलाई विषदको विषद मरुस्थलमा दग्ध गरीरहेको थियो । मैले प्रश्न गरेँं, देवराज नियति यति क्रूर किन छ ? चार दिनको हजुरसँगको सान्निध्य र अब जीवनभरिको विछोड । मैले चाहेर पनि हजुरलाई भेट्न नसक्ने । हजुरको स्मृतिमा म क्षुद्रको कुनै तरङ्ग पनि शेष नरहने……..।

यसै ‘प्वाइन्टमा’ त निराकारले साकारमाथि आफ्नो श्रेष्ठता प्रमाणित गर्छ । तिमी मेरो यस रूपको भ्रान्तिमा अल्झिरहेका छौ । सोच त जगतको मूल, तिम्रो पनि मूल ! के जगत तिमीभन्दा विभक्त भएर कतै जानसक्छ ?
प्रभू, यो ज्ञान चर्चाले अब मन मान्दैन । गोपिनीहरूले कृष्णका दूत उद्धवलाई दिएको जवाफ नै सम्झिन्छ यो त— ऊधौ मन छैनन् दस बीस, एक थियो जुन लग्यो श्यामले को जपी बसोस ईश ।

यो भक्ति एवं साकारको उदान्त पराकाष्ठा हो, तर एउटा रहस्य पनि त लुकेको छ यसमा…….त्यो विरह नै गोपिनीको उद्दात हर्ष हो, उनीहरू विछोडमा दुखी होइनन् उसको मन विषादले होइन, उसले त जीवनको जे अवस्था छ त्यसलाई सहज स्वीकार गरी सुख र दुःखको भेद न छुट्टयाई जीवनरूपी प्रक्रिया चल्न दिएकी छन् ।

‘ओह यो हो किमिया ’ हठात मेरो मुखबाट निक्लियो ।

‘यस यू गाट इट ’ देवराजले भन्नुभयो, यसलाई स्मरण राख्नु वत्स ।

प्रभू, साकार निराकार रूपी भेदको ‘ क्वन्टम मेकेनिक्स ’ लाई बुझेर म अज्ञान र कर्म वन्धनबाट मुक्त भएँ । प्रक्रियाका सबै नाटकमा मेरो भूमिका स्पष्ट भयो, ‘म’ भनाउँदो म पनि प्रक्रिया नै हो । म यो प्रक्रियामा सूर्य नहुँदा पनि थिएँ, सूर्य नहुँदा पनि रहनेछु ।

मेरो अभिव्यक्ति सुनिरहँदा देवराज मुसुमुसु हाँसिरहनुभयो । केही क्षणपछि उहाँले महिला मित्रसँग सोध्नुभयो, तिमी जर्मनी कहिले फर्किन्छ्यौ ?

देवराज मसँग ‘ओपन टिकट’ छ । नेपालको कानून अनुसार दुई महिनाको ‘भिसा’ थप हुनसक्छ ।

‘मेरो परामर्श छ तिमी आज बेलुका नै प्रस्थान गर’,देवराजले भन्नुभयो ।

किन र देवराज, के यिनको घरमा केही घटित हुनेवाला छ ?

होइन, होइन, त्यहाँ केही होइन, मेरो प्रस्थानले नेपालमा ठूलो उथलपुथल हुनसक्छ । राजनीतिक अराजकता फैलिनसक्छ । आउँदा पनि पुस १ गते आएको थियो ।

तर देवराज मलाई अहिले फर्किने इच्छा छैन, घरमा पनि कसैले मेरो आवश्यकता महसूस गरेका छैनन्, मित्रले भनिन् ।

तिम्रो पतिलाई तिम्रो अभाव खट्किन थालेको छ । बगैंचालाई पनि तिम्रो हेरचाहको आवश्यक भइसकेको छ । अहिले जाऊ, आउँदो शिवरात्रीमा आएर भगवान पशुपतिनाथको दर्शन गर्नू ।

होस प्रभू, त्यसो भए म आजलाई नै ‘टिकट कन्फमर्’ गरेर आउँछु भनी, उनी गइन् ।

देवराज, यी जर्मन मित्रसँग मेरो साथ कतिञ्जेलसम्म रहन्छ होला ?

तिमी दुवैले चाहुन्जेल साथ रहन्छ, त्यसमा पनि खास गरी तिमीले चाहुन्जेल । छिट्टै न तिम्रो जीवनको धारा परिवर्तन हुन्छ, त्यसमा यिनको ठूलो सहयोग रहन्छ । तिमी परिवर्तित भूमिकामा परिपक्व नभएसम्म त यो साथ रहन्छ ।

मित्र फर्केर आइपुगिन् र बस्दै भनिन्, बेलुकी ८ बजेको ‘फ्लाइट’ ‘कन्फमर्’ भयो । ५ बजे ‘एअरपोर्ट’ पुग्नुपर्छ । मलाई यो ‘एअरपोर्ट’मा तीन घण्टा पर्खिनु पटक्कै मन पदैन । फेरि ‘ब्याग’ पनि मिलाउनु बाँकी छ ।

देवराजले हाँस्दै तिम्रो यो समस्याको समाधान मसँग छ । तिमी ‘फ्लाइट’ भन्दा १० मिनेट पहिला ‘एअरपोर्ट’ पुगे पनि हुन्छ ।

मित्र खुशीले उफ्रिँदै, हो र देवराज के यो सम्भव छ ?

किन नहुनु, तिम्रो ‘क्लोन’ बनाएर सम्भव छ, देवराजले उत्तर दिनुभयो ।

क्लोन’ तुरुन्तै तयार हुन्छ र ?

तिम्रो प्रविधिमा तुरुन्त हुन्न अहिलेसम्म, तर देवगणका लागि यो सहज विज्ञान हो । तिमी मलाई आफ्नो एउटा केश देऊ । म त्यसबाट तिम्रो ‘क्लोन’ तयार पारी दिन्छु ।

मैले अचरजले सोधें केशबाट ? रगत, मासु, कफ जेबाट पनि ‘क्लोन’ बन्छ, केश दिनु सहज छरितो हुन्छ भनेर केश मागेको हुँ ।

मित्रले उखेलेर एउटा केश देवराजलाई दिइन । देवराजले केशलाई राम्ररी हेर्नुभयो, मानौँ पूरै ‘जेनेटिक्स’ पहिल्याउनुभयो । अर्को क्षण हामीमाझ मेरो मित्रको प्रतिकृति तयार थियो ।

तिम्रो यो ‘क्लोन’ ९५% भन्दा बढी तिमीसँग एकरूपता राख्छ । ५% तिमीभन्दा भिन्न होइन । तिम्रो मूलभन्दा कम्ती छ । हेर, यस प्रतिकृतिले कसरी काम गर्छ भनी देवराजले प्रतिकृतिलाई ‘गेष्टहाउसमा’ गएर आफ्नो ‘व्याग पैक’ गरी ल्याउन अ¥हाउनुभयो ।

हुन्छ देवराज, भनी प्रतिकृति ‘डिटो’ जर्मन मित्रको शैलीमा उठेर पाइला सार्दै गयो । तिमीले यसबारे केही जिज्ञासा राखेनौ नि ! देवराजले मलाई लक्षित गरी भन्नुभयो ।

प्रभू, रक्तबीज, रावण, भगवान कृष्णद्वारा गुरु संदीपनीका छोराको विनिर्माणदेखि ‘क्लोनिंग’ बारे पढेको हुनाले र आफू स्वयं देवराज समक्ष छु भन्ने भानले कुनै जिज्ञासा पनि उठेनन् र कुनै आश्चर्य पनि लागेन ।

देवराज मेरो सट्टा यही प्रतिकृतिलाई जर्मन पठाउन सकिन्न, मित्रले सोधिन् ।

अवश्य पनि, त्यो तिमी नै हौ, तिम्रो घरमा कसैले शंकासम्म गर्दैन । तर त्यसपछि के हुन्छ ? तिम्रा समस्त ‘आइडेन्टिटी’हरू ऊ सँग हुन्छन्, उसकै पति, उसकै छोरा, उसकै पासपोर्ट …………..सारा पहिचान गुमाएर तिमी बाँच्न सक्छौ ?

ओह गड ! ऊ मूल बन्छे, म पो प्रतिकृति हुन पुग्छु, ‘सो हरिबल’ ।

हामी सबै हाँस्यौं । प्रतिकृति ‘व्याग’ लिएर आइपुगिन् र कुर्सीमा बस्दै भनिन्, हतारमा मैले पैसा लिएर जान बिर्सेछु, ‘काउण्टरमा’ ‘बिल’ पेमेण्टका लागि भन्यो, मैले मेरो साथीले आएर तिर्छ भनें, धन्न उसले मान्यो । हामी सबै फेरि एक पटक हाँस्यौं ।

हामीले पुनः ‘कफी’ मगायौंँ । म ‘केक’ लिएर आउँछु, मेरी मूल जर्मन मित्र उठेर गइन् । मैले प्रतिकृति मित्रसँग सोधें, जर्मनीमा समय के गरी बिताउनुहुन्छ ?

तिमीलाई थाहै छ, ‘गार्डेनिङ्ग’मा मलाई औधी रुचि छ । छोराहरूले ‘केयर’ त गर्छन् बगैंचाको तर मैले गरे जस्तो गर्न सक्दैनन, उनीहरूसँग त्यति समय पनि हुन्न । एक पटक ‘पोल्याण्ड’ पनि जान्छु । आफ्नो किताब पनि पूरा गर्ने प्रयत्न गर्छु ।

म भने अब आश्चर्यले भरिएँ, ‘डिटो’ मेरो मित्रको जवाफ थियो । सारा जानकारी दुरुस्त थिए । मूल र प्रतिकृतिमा भेद गर्नु मेरो समस्या थियो । वास्तवमा कुनै भेद नै थिएन ।

मित्र ‘केक’ लिएर आइपुगिन् । हामी ‘केक’ र ‘कफी’ को स्वादमा मस्त हुन थाल्यौँ । ‘कफी’ पछि मैले ‘एअरपोर्ट’ को समय हुन लागेको भनी जानकारी दिएँ । मूल मित्रले आफूले बोकेको ठूलो ‘लेडिज व्याग’ बाट अर्को सानो पर्स झिक्दै त्यसमा ‘पासपोर्ट, टिकट, कलम, र केही रूपैयाँ राखेर’ आफ्नो अर्को स्वरूपलाई दिंदै भनिन्, ‘यसभित्र एअरपोर्टमा चाहिने सबै कागजात छन्’ ।

प्रतिकृतिले देवराजतिर हेर्दै सोधिन्, ‘म थैंक्स टु यू भनौं यिनलाई वा थैंक्स टु मि भनौँ?’

तिमी दुबै जनाको हकमा दुबै ठीक हुन, संसारका सबै नरनारीहरूका हकमा पनि दुबै ठीक हुन, ‘थैंक्स टु मि’ झनै ठीक हो । तिम्रो ‘थैंक्स गिभिंग’ ले जनक अष्टाबक्रको प्रसङ्ग ताजा ग¥यो ।

प्रतिकृतिले हिँड्ने तरखर गरिन्, देवराजलाई प्रणाम गरी विदा मागिन्, मलाई र त्यसपछि आफ्नै स्वरूपलाई आलिङ्गन गरी विदा भइन् ।

देवराज, यो कुनै स्वप्न थियो वा ‘ब्लैक म्याजिक’ जर्मन मित्रले सोधिन् ।

होइन निलोत्तमा, यो त विज्ञान हो । म यो त भन्न सक्दिन कि पृथ्वीका मानिसले पनि म जस्तै यति उन्नत किसिमको ‘क्लोनिङ्ग’ बनाउने सफलता पाउने छन् किनकि यसका लागि ‘सुपरनोभा’ जत्तिकै ‘इनर्जी’ आवश्यक हुन्छ । प्राणीलाई त्यति प्रचुर ‘इनर्जी’ मानवीय हिसावमा सम्भव छैन । तर ‘क्लोनिङ्ग’ को प्रारम्भ त पृथ्वीमा भइसकेको छ । जुन कुराको प्रारम्भ भयो त्यसको उत्तरोत्तर विकास नभई रहन सक्छ र ?

इति श्री अकर्मण्डयेपुराणे विज्ञानोपनिषद शीत ऋतुस्य
साकार निराकार तथा ‘क्लोनिंग’ नामो षष्ठम अध्याय समाप्त ः ।
ओम शान्ति ः शान्ति ः शान्ति ः

ज्ञानमित्र

Facebook Comments