को सुन्छ मर्का यहाँ ?
बुढ्यौली कविता शृङ्खला -२८
केही काम विशेषले म पनि त्यो अड्डा गएको थिएँ
अड्डाका सब हाल चाल बुझियो आश्चर्य आफैँ भएँ
बाजे एक थिए उमेर जसको पाँचै बढी सत्तरी
चिन्ताग्रस्त मुहारभित्र उनका पीडा थिए बेस्सरी ।
आफू बाईस वर्षका जब थिए बारातिरै बस्दथे
सामाग्री कृषिको थियोे अपिस जो वीरगन्जमा गार्ड थे
त्यो बेला जब ऐन नागरिकता आयो र लागू भयो
सोही ठाउँ दिलाउने गरिदियो जो कर्मचारी थियो ।
यो कानून लगाउने प्रथमतः राजा महेन्द्रै थिए
सो बेलातिर अञ्चलापति थिए आदेश बर्साउँथे
त्यो आदेश भयो महामहिमको ताहीँ बन्यो कागज
मेरो जे छ प्रमाण सो नगरमा ताहीँ भयो हाजिर ।
मैले नागरिता लिने समयमा पच्चीस वर्षे थिएँ
वर्षै तीस गरेर कार्य उसमा सेवा खुबै पो गरेँ
गोर्खा जन्म थियो सबै घर तथा संसार मेरो घर
टाढा भो घर जान दुःख पनि भो बेची दिएँ आखिर ।
आफ्नो वृद्ध उमेरको समयमा मेरो सबै कागज
चोरी भो घरबाट दुष्ट कसले साह्रै दियो आपत
यस्तो वृद्ध उमेरमा लिखित ती सम्पूर्ण सामान ता
खोजी गर्न भयो निकै कठिन हा साह्रै समस्या यता ।
गोर्खा भन्छ बसाइ सर्नु भइगो छैनन् यहाँ कागज
बारा भन्दछ अञ्चलापति सँगै सारा डढे कागज
मेरो यो नगरी महानगर हो ले भन्छ निस्सा सबै
मैले कागजपत्र जोर्न अब ता गाह्रो भएको खुबै ।
अड्डा भन्छ पुरानु के छ सब ले जम्मै कपी सुम्पिएँ
गोर्खाबाट बसाइ ल्याउन भने सोही सबै अर्पिएँ
बारामा पनि दौडिएर यसको सारा व्यथा खर्चिएँ
यो अड्डा र यही महा नगरमा घुम्दै र फिर्दै भएँ ।
आऊ भोलि भनेर भन्दछ कुनै यो आज ता हुन्न रे
गोर्खा जा भनि भन्छ फेरि कहिले बारा तिरै झोस्छ हे
सातादेखि घुमेर चक्कर गरेँ बन्दैन खै कागज
साह्रै दिक्क र बाक्क आज म भएँ धेरै भएँ आजित ।
धक्का लाइनमा दिएर म भएँ पालो कुरी पर्खने
तिघ्रे काम गराउँछन् अब हरे मेरो कहाँ यो हुने
खोस्टो कागज लेख्न सात दिन पो लाग्दै छ गाह्राे भयो
खै अड्डा सब ठग्न बस्छ किन हो नेपाल राम्रो भयो ।
छन्द :- शार्दूलविक्रीडित