व्यक्तिगत आरोप होइन, सफा मनले लेखौं
यही कार्तिक १० गते शुक्रबारदेखि मैले पत्रकारिता क्षेत्रमा आफूले भोगेका विषयमा लेख्न थालेको छु । यश बिचमा ५ वटा जति लेख कान्तिपुरसँग सम्बन्धित छापियो । कान्तिपुर दैनिक वा त्यो संस्था प्रति मेरो कुनै आग्रह वा पूर्वाग्रह छैन । यो कुरा मैले तिनै लेखहरूमा पनि लेखी सकेको छु । तर, कतिपय मेरा पत्रकार मित्रहरूलाई यी लेखहरूले अलि बढी नै सोच्न बाध्य बनाएको जस्तो मैले पाएँ । मैले कान्तिपुरमा भएका नहुनु पर्ने घटनाका बारेमा सामान्य रुपमा उल्लेख मात्र गरेको छु । नराम्रो लेख्ने र छाप्ने मात्र होइन धेरै जसो राम्रा विषयवस्तुको उठान र प्रचार पनि कान्तिपुरले नै गरेको छ । कसैले माने पनि नमाने पनि छापा पत्रकारिता क्षेत्रमा कान्तिपुरलाई कोशे ढुंगा मान्नै पर्छ । अहिले भने कान्तिपुरले आफूलाई खराब पत्रकारिताको पंक्तिमा उभ्याउन थालेको छ भन्ने आरोप लागिरहेको छ ।
मेरो पहिलो लेखको शीर्षक “कान्तिपुरमा झुठो समाचारको थालनी किन र कहिले सुरु भयो” भन्ने थियोे । यसमा विशेष त २०५१ सालको मध्यावधि निर्वाचनमा काभ्रे जनमोर्चाका नेता “कमान सिंह लामालाई एमालेका कार्यकर्ताले मारेर खोल्सामा फ्याँकी दिए” भन्ने थियोे । वास्तवमा त्यो समाचार काल्पनिक थियोे । यो समाचार लेख्ने, सम्पादन गर्ने, छाप्ने सम्बन्धित व्यक्तिहरू अहिले पनि सबै जीवितै हुनुहुन्छ र आआफ्नो क्षेत्रमा कार्यरत हुनुहुन्छ । तत्कालीन अवस्थामा कान्तिपुरमा कार्यरत त्यो समयका पत्रकारले त्यो समाचारलाई “काल्पनिक समाचार छापिएको होइन” भन्न सक्नु भएन । बरु त्यसपछि पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएकाहरूले “होइन कि” भन्ने शंका लागेर त्यो काल्पनिक समाचार खोजेर निकाल्नु भए छ । मसँग पनि मेरो लेखको चर्चित प्रसंग त्यो समाचारको कटिङ थिएन । पत्रकार कलेन्द्र सेंजुवालले कीर्तिपुरस्थित पुस्तकालयमा गएर, बडो दुख साथ खोजेर समाचारको कटिङ ल्याउनु भए छ । उहाँले त्यो समाचारको कटिङ मलाईसमेत पठाइ दिनु भयो । र अहिले मसँग त्यो सााचारको प्रतिलिपी सुरक्षित छ ।
तर, एउटा भन्नै पर्ने कुरो के छ भने मेरो लेखमा छापिएको झुठो समाचार त छदैछ त्यो भन्दा पनि कान्तिपुरका तत्कालीन सम्पादकले सहि गरेर पत्रकार युवराज गौतमलाई दिनु भएको “चिर्कटो” मुख्य थियोे त्यही काण्ड चाहिँ प्रमुख विषय बनेको हो । त्यसपछि पनि धेरै पत्रिकामा थुप्रै झुठा समाचार छापिए तर “चिर्कटो” काण्ड चाहिँ कतै भएन र सायद भविष्यमा पनि हुने छैन भन्ने मलाई लाग्छ । युवराज गौतमजीले चिर्कटो नहराएको भए यो लेखको लागि उत्तम हुने थियोे । तर, अब त्यो सम्भव भएन । उहाँले त्यसको महत्त्व नबुझेर हराउनु भए छ ।
मैले आफ्ना लेखहरूमा “आफूले पत्रकारिता क्षेत्रमा भोगेका केही कुराहरू” लेख्छु भनेर उल्लेख गरेको छु । जस्तै ( श्री सगरमाथा, स्पेस टाइम, गोरखापत्र दैनिक र साप्ताहिक पत्रिकाहरूमा भएका घटना र काण्ड लेख्ने बिचार गरेको छु । तर, मेरो यही घोषणाले कतिपय पत्रकार साथीहरू आक्रोश मिश्रित प्रतिक्रिया जनाउन थाल्नु भएको छ । र, अर्को खालका मित्रहरू उत्साहित हुनुहुन्छ । म दुवै खाले मित्रहरूलाई के आग्रह गर्छु भने मैले घटनामा जोडिने त्यो पनि प्रतक्ष संलग्न बाहेक कसैको चरित्र हत्या गर्ने हिसाबले लेख्ने छैन । भरसक प्रमाणहरू जुटाएर मात्र लेख्ने सोच बनाएको छु । तर, म जहिलेको विषयलाई उल्लेख गर्न खोज्दै छु तत्कालीन अवस्थामा ती विषय सुरक्षित गर्न सम्भव थिएन । त्यही कारणले प्रमाण जुटाउन कठिन हुनेछ ।
त्यस बेला हात हातमा मोबाइल फोन थिएन र कोठा सरी रहनु पर्ने हामी जस्ता पत्रकारले सबै पत्रिका सुरक्षित राख्न सक्ने अवस्था पनि थिएन । तथापि केही उत्साहित पत्रकार साथीहरूको सहयोग लिएर लेखलाई आवश्यक प्रमाणहरू जुटाउने प्रयास गर्ने छु ।
मेरो अनुभवमा मानिसको सोच, व्यबहार र आवश्यकता समयसँगै परिवर्तन हुदोरहेछ । यो स्वभाविक पनि हो । मेरो पत्रकारिता क्षेत्रका तत्कालीन सहयात्री साथीहरूमा पनि मैले समयसँगै परिवर्तन आएको पाएको छु । तत्कालीन अवस्थामा कतिपय समाचारका सन्दर्भमा उपस्थिति जनाउनु हुने मित्रहरू अहिले कुरा टार्न वा होइन भन्न नसकेर मेरो छेउमा रुखो उपस्थिति जनाउनु हुन्छ । ती मित्रहरूलाई आफ्नो विगत छोप्न निकै कठिन भएको मैले महसुस गरेको छु ।
खोला छेउको बगरमा बसेर बालुवा खेल्न आनन्द आए पनि शरीरमा लागेको त्यही बालुवा पोखाल्न भने अलिक गाह्रै हुन्छ । साथीहरूले “त्यस बेला जे भयो भयो, अहिले आएर नलेखौ” भन्नू र “मैले त्यस समय गरेका कामका बारेमा चाहिँ नलेख्नु होला, लेख्नु भयो भने राम्रो हुदैन” भनेर सल्लाह मिश्रित धम्की दिनु चाहिँ मलाई त्यति पचेन । म फेरि पनि भन्छु सत्य तत्थ्यमा आधारित समाचार लुकाएर झुठो समाचार कसरी पाठक, स्रोता र दर्शक सामु पठाइन्छ भनेर किन नलेख्ने रु अहिले त मैले “नलेख है, लेखिस् भने राम्रो हुनेछैन” भन्ने मेरा पत्रकार मित्रहरूको नाम लेखेको छैन । तर, कुनै एउटा लेखमा ती नामहरू छरपस्ट भएर आउने छन् ।
यसरी मैले लेखी रहँदा बिर्सिसकेका कतिपय पाटाहरू खुल्दै गएका छन् । तर, ती सबै लेखका विषय बन्न सक्ने नहुन सक्छन् । तत्कालीन अवस्थाका लेख्न सकिने घटनालाई मात्र लिपिवद्द गर्ने ठानेको छु । लेख्दा प्रमाणहरू खोज्नै पर्छ । मुख्य विषयहरू छुटाउन पनि मिल्दैन । तसर्थ पत्रकारिता क्षेत्रका मित्रहरू तपाईंहरूका हकमा अन्यथा पर्न गएमा सत्यमा टेकेर निर्मम तरिकाले आलोचना गरिदिनु भयो भने म आभारी हुनेछु । किन भने केही साथीहरूले यिनै लेख जम्मा गरेपछि त्रुटी भए सच्याएर पुस्तक निकाली दिन्छौं भन्नू भएको छ ।
हामीले भोगेको पत्रकारिता बारेमा हामी पछिकाले पनि थाहा पाउन भन्ने उद्देश्य बाहेक मेरो अरु कुनै स्वार्थ छैन । मलाई लाग्छ त्यही कारणले मैले लेख्न सकिरहेको छु । मानिसलाई स्वार्थी लोभले “पद र पैसा” तिर मात्र सोच्न लगायो भने कतिपय विषय वस्तु र कार्यहरू अबरुद्ध हुन्छन् । यी लेख लेख्ने क्रममा मैले सम्बन्धित प्राय पत्रकारहरूसँग सम्पर्क गरेको छु । धेरै पत्रकार ९ कान्तिपुर बाहिर रहनु भएका ० तत्कालीन अवस्थाको “कान्तिपुरे व्यबहार” बिर्सिएर अहिले पनि उतै आकर्षित भएको पाए । साथै थुप्रै साथीहरू पहिलाको भन्दा भिन्न धरातलमा टेक्न पुग्नु भएकोले होला “अब त्यो अवस्था फेरियो” भनेर जवाफ दिनुहुन्छ ।
तत्कालीन अवस्थाका बारेमा मैले सोधेकै हुदैन जवाफ भने त्यस्तो आउँछ । अवस्था र घटनाका बारेमा मलाई थाहा छ तपाईंलाई “ख” गराउन खोजेको मात्र हुँ भन्दा पनि वेप्रसंगको तर्क गरेर पन्छिने साथीहरू पनि मैले भेटें । वास्तमा खुलेर भन्ने हो भने तत्कालीन अवस्थामा श्रीसगरमाथामा कार्यरत पत्रकारहरूले सबैभन्दा बढी नमिठो अनुभव गर्नुभएको हुनुपर्छ । त्यस संस्थामा आफूले भोगेका तिता मिठा प्रसंग साथीहरूसँग हुनसक्छ । भएमा मलाई पठाई दिनु भए आभारी हुने थिए । कसैलाई एउटा घटनाले प्रभाव पारेर त्यसको सम्झना गराई रहेको हुनसक्छ भने कसैलाई अर्कै घटनाले घोची रहेको हुन सक्छ ।
प्रमाणसहितका घटनालाई मात्र अहिलेका पाठकले विश्वास गर्छन् । लेखमा होस् वा समाचारमा प्रमाण हेरेर मात्र विश्वास गर्नेहरूको जमात बढ्दै गएको छ । यो पाठक, लेखक र पत्रकारिता क्षेत्रसँग सम्बन्धितहरूका लागि खुशीको कुरा हो । पत्रकारलाई धेरैले थुप्रै कोणबाट विश्वास गरेका थिए । तर, त्यो विश्वासलाई हामी पत्रकारले नै खण्डित गर्दै लगेका हौ । अनुजा बानियाँको समाचार झुठो भए पनि सर्वसाधारण देखि राष्ट्रपतिसम्मले विश्वास गरेकै हो । त्यो भनेको, पत्रिका, पत्रकार र समाचारलाई विश्वास गरेको हो । त्यो विश्वासलाई कायम राख्न नसक्नु हाम्रो कमजोरी हो । त्यसैले अब प्रमाणमा आधारित सामाग्री मात्र बजारमा बेच्न सकिन्छ । अन्यथा हाम्रो र हामीले लेखेका सामाग्रीको विश्वास गरिने छैन।
हामीले भोगेका, देखेका र जानेका कुराहरू लिपिबद्द गरिदिए अर्को पुस्ताले खोदल्ने, खोस्रने र छान्ने गरेर इतिहास खोज्न सक्छ । मानवीय गुण नै हो आजको चाख लाग्दो वा दुख लाग्दो घटना पर्सिदेखि बिर्सन थालिन्छ । २५ र ३० वर्ष अगाडिको घटनालाई नै २० वर्ष अघि जन्मिएको युवाले अविश्वास गर्नु अस्वभाविक होइन । तसर्थ उ प्रमाण सहितको वर्णनमा विश्वास गर्छ । त्यसैले अबका समाचार वा लेख रचनाहरू पनि प्रमाणीक नै हुनुपर्छ ।
पछि अर्को लेख लिएर आउने प्रतिबद्धता सहित आजलाई नमस्कार !