कान्तिपुरबाट निस्कासित पहिलो र दोस्रो पत्रकार!
कान्तिपुर दैनिकमा अहिले पीडित पत्रकार र कर्मचारीको आन्दोलन चलिरहेको छ । मलाई अहिले कान्तिपुरमा भईरहेको आन्दोलन बारे खासै थाहा छैन । सुन्नमा आए अनुसार त्यहाँ कार्यरत पत्रकार – कर्मचारी लगभग एक सय जानलाई बर्खास्त गरिएको छ । आन्दोलनरतहरू भनिरहेका छन “कानुनले तोकेको उपदान र अन्य सेवा सुविधाको हिसाब गरेर भुक्तानी दिनु पर्यो । सामाजिक सुरक्षा कोषमा समावेश गराउनु पर्यो । साथै कानुन नमान्नेलाई दफा २३ अनुसार सरकारले कारबाही गर्नुपर्छ । यो माग अस्वभाविक लाग्दैन । जायज माग पुरागर्नु कान्तिपुरको पनि दायित्व भित्रै पर्नुपर्छ । कान्तिपुरका आफ्नै तर्कहरू हुन सक्छन् । तर, सबैले नियम कानुनको परिधिभित्र रहेर काम गर्नैपर्छ ।
मैले यो लेख लेख्दै गर्दा आन्दोलनरतहरूको केही माग कान्तिपुरले पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कान्तिपुरले नेपाल पत्रकार महासंघसँग दुई पक्ष सहमति गरेको छ । यसमा कान्तिपुर मिडिया ग्रुप र नेपाल पत्रकार महासंघबिच भएको सहमतिलाई आन्दोलनरत पक्षले स्वीकार गर्यो वा गरेन उल्लेख छैन । मलाई लाग्छ पत्रकार महासंघले मध्यस्थता मात्र गर्न सक्छ सहमति भने आन्दोलनरत पक्ष र कान्तिपुर मिडिया ग्रुपबिच नै हुनुपर्छ । उता सहमति भयो यता आन्दोलन रोकिएको छैन । यो खालको सहमति नेपाल पत्रकार महासंघले नगरेको भए हुनेथियो । आन्दोलनरत पक्षलाई पनि सहमति गराउन सक्नु पर्थ्यो । मध्यस्थता गर्नु थियो भने पनि तीनवटै पक्षबिच सहमति र हस्ताक्षर हुनु पर्थ्यो ।
मैले माथि नै भनीसके मलाई अहिलेको आन्दोलन बारे खासै थाहा छैन र आफूलाई थाहा नभएको विषयमा कलम चलाउनु पनि हुदैन । यदि कसैले कुनै विषयमा बहस वा आलोचना गर्नु छ भने तत विषयमा यथेष्ट जानकारी हुनैपर्छ । मैले लेख्नका लागि कान्तिपुरमा आफैंले भोगेका विषयहरू थुप्रै छन् । वर्तमानको आन्दोलन बारेमा जोसुकै पत्रकार पत्रकारकै पक्षमा उभिनु पर्छ र म पनि स्वभावैले आन्दोलनरत पत्रकारकै पक्षमा उभिन्छु । तर, पत्रकारले पनि नियम कानुनको परिधिभित्र रहनुपर्छ र आचारसंहिताको पालना गर्नैपर्छ । अहिले भने म कान्तिपुरले कहिलेदेखि पत्रकारलाई बर्खास्त गर्न थालेको हो भन्ने विषयतिर प्रवेश गर्छु । किनभने यसले अरुलाई स्वछताको पाठ पढाउने पत्रकारिता क्षेत्रले आफू भित्र कस्तो खेल खेल्छ भन्ने थाहा पाउन सजिलो हुन्छ ।
मलाई याद भएसम्म कान्तिपुरले बर्खास्तीको पहिलो शिकार पत्रकार रघु मैनालीलाई बनाएको थियो । उहाँलाई २०५० सालको तेस्रो वा चौथो महिनातिर जबर्जस्ती निकालिएको थियोे । यसबारेमा रघुजीलाई नै बढी थाहा छ । यसर्थ यसबारेमा उहाँले नै कलम चलाउनु हुन्छ भन्ने लाग्छ । मैले भने कान्तिपुरबाट निस्कासित दोस्रो पत्रकारको बारेमा लेख्नु उचित हुन्छ । किन भने त्यो घटना मलाई अलि बढी थाहा छ । कान्तिपुर दैनिकले दोस्रो शिकार धनकुटाका पत्रकार राजकुमार दिक्पाललाई बनाएको थियोे । त्यो बर्खास्ती पत्रमा बर्खास्त गर्ने व्यक्तिको हस्ताक्षर मेरो थियोे । र, राजकुमार जस्तो योग्य पत्रकारलाई बर्खास्ती पत्र पनि मेरै हातबाट थमाएको थिए । २०५० सालमा भएको यश घटनाले मलाई बारम्बार सोच्ने बनाउँथ्यो । त्यसबेला कान्तिपुरको चिफ रिपोर्टर हुनुहुन्थ्यो तीर्थ कोइराला ।
दिक्पाललाई निकाल्नु पर्ने कारण के थियो त ! धनकुटाबाट राजकुमार दिक्पालले एउटा संक्षिप्त समाचार पठाउनु भएको थियो । समाचारको सार भन्नुपर्दा धनकुटाको कुनै गाउँमा सौतेनी मामिलाको कारणले बाउ छोरा बेग्लाबेग्लै पार्टीमा लागे । छोरा अलि बदमाश टाइपका थिए र उनी फट्याइँ गरि रहन्थे । एमालेले २०४८ सालमा चुनावमा उठ्न टिकट नदिएपछि छोरा काङ्ग्रेसमा प्रवेश गरेर बाउको विरुद्धमा उभिएका थिए । कुनै कार्यक्रममा बाउ छोरा बीच छोराले बाउलाई छुरी हाने, बाउले छोरा उपर मुद्दा हाले । त्यही घटनालाई दिक्पालले छोटो समाचार बनाउनु भएको थियो । त्यसताका पत्रिकाको पेज भर्न निकै गाह्रो थियोे । जसले गर्दा जिल्लाबाट आएको छोटो समाचारलाई पनि डेक्समा बस्ने पत्रकारले थपथाप गरेर लामो बनाउने गर्थे ।
यो समाचारलाई पनि सत्य तथ्यमा टेकेर चिफ रिपोर्टर तीर्थजीले लामो बनाउनु भए छ । तीर्थजीलाई छुरी काण्ड मात्र होइन धनकुटाका काङ्ग्रेसीबिच कुरुलेतेनपा भन्ने गाउँमा भएको भ्रष्टाचार र मनोमालिन्य पनि थाहा रहेछ । उहाँले यो विषयलाई पनि जोडेर लेख्नु भयो । छुरी काण्ड र भ्रष्टाचार काण्डका पात्र एकै थिए । त्यो समाचार कान्तिपुर दैनिकको प्रथम पृष्ठमा छापियो । यही समाचार छापिएको पत्रिका धनकुटा पुगेपछि त्यहाँका काङ्ग्रेसीजनमा एक खालको असहज वातावरण पैदा भयो । तीर्थजीलाई भ्रष्टाचार सम्बन्धि समाचार भने आफूलाई काङ्ग्रेसी नेता दाबी गर्ने काङ्ग्रेसले नै सुनाएका रहेछन् । समाचार बनावटी थिएन । भएकै काण्ड समाचारले उधाङ्गो पारेको थियोे । तर, धनकुटाका काङ्ग्रेसी जनलाई समाचार पाच्य भएन । उनीहरू ज्यान फालेर दिक्पालको विरोधमा उभिए । किन भने धनकुटाको संवाददाता त दिक्पालजी नै हुनुहुन्थ्यो ।
धनकुटाको ग्रामिण क्षेत्रमा अति गोप्य रुपमा गरिएको भ्रष्टाचार काण्ड बारे कान्तिपुरका रिपोर्टर दिक्पालले कसरी थाहा पाए भन्ने बारे सम्बन्धितहरूले थाहा नै पाएनन् । सिमित व्यक्ति मध्य एक व्यक्ति तीर्थजीका कुनैबेलाका साथी थिए । गोप्य कुरा उनै चिनजानका मित्रले सुनाएका थिए । तर, छुरी काण्डले भन्दा पनि भ्रष्टाचार काण्डले काङ्ग्रेसी जनलाई भतभती पोलेपछि उनीहरूले दिक्पालजीलाई तारो बनाए । वास्तवमा भ्रष्टाचार काण्डका बारेमा राजकुमार दिक्पालजीले खोजी गर्नु भएकै थिएन । यथार्थमा आधारित भएर समाचार लेखियो । कान्तिपुरको टाउको दुखाइको विषय थिएन र बनेन पनि । तर, एउटा रिपोर्टरलाई त्यही समाचारले कस्तोसम्म भोगाउ छ भन्ने कुरा कान्तिपुरमा कार्यरतले बुझ्नै चाहेनन् ।
सत्यतत्थ्य समाचार लेख्ने योग्य पत्रकारको संरक्षण गर्ने दायित्व तत्कालीन कान्तिपुर प्रकाशन गृहको थियो । तर, दिक्पालजीको हकमा भने उल्टो भयो ।
त्यो समाचार छापिए पछि धनकुटाका काङ्ग्रेसले दिक्पाललाई देखि सहेनन् । एक त काङ्ग्रेसीहरू कान्तिपुरलाई आफ्नो पार्टीको पत्रिका ठान्थे भने अर्कोतिर काङ्ग्रेसका नराम्रा विषय कान्तिपुरमा छापिनु हुदैन भन्ने मान्यता राख्थे । यही समाचारले नै प्रकाशक हेमराज ज्ञवालीलाई काङ्ग्रेस विरोधीको पक्षतिर धकेल्न खोज्यो । ज्ञवालीजी माथि काङ्ग्रेसीहरूले ठूलै दबाब दिन थालेछन् । एक दिन ज्ञवालीजीले “यो राजकुमार दिक्पाल भन्ने व्यक्ति कस्तो मान्छे हो” भनेर मलाई सोध्नुभयो । मैले “ हामीसँग भएका जिल्ला संवाददाता मध्ये लेख्न सक्ने र समाचार खोज्न सक्ने व्यक्ति हुन” भन्ने जवाफ दिएको थिए ।
मलाई थाहा भए अनुसार अघिल्लो दिन धनकुटा काङ्ग्रेसका जिल्ला नेताहरू ज्ञवालीजीलाई भेट्न आएका थिए । त्यो काङ्ग्रेसी प्रतिनिधि मण्डलले “दिक्पाललाई निकाली दिनु होस्” भन्ने अनुरोध गरेको थियो । त्यही बेलुका युवराज गौतमजीले “राम्रोसँग लेख्न र समाचार खोज्न सक्ने पत्रकार कान्तिपुरमा टिक्न गाह्रै पर्ने भयो” भनेर दिक्पालको प्रसंग निकाल्नु भयो । हामीले दिक्पालजीका बारेमा भाबुक भएर कुरा गरेका थियौं । तीर्थजी पनि “प्रकाशकहरूको मर्जी अगाडि हाम्रो के लाग्छर” भन्ने स्थितिमा पुग्नु भएको थियोे । यता धनकुटाका काङ्ग्रेसीहरूको प्रतिनिधि मण्डल दैनिक जसो आउन थाल्यो । पछिल्लो पटक भने चुडामणि धमला, अर्जुन थापा, सञ्जय सन्तोषी राई लगायतका जिल्ला नेताहरू प्रतिनिधिका रुपमा आउनु भएको थियोे ।
हेमराज ज्ञवालीलाई नेपाली काङ्ग्रेसका ठूलासाना सबै खाले नेताले दबाब दिएपछि उहाँले त्यो दबाब थाम्न सक्नु भएन । ज्ञवालीजीले मलाई आफ्नो कार्यकक्षमा बोलाएर “दिक्पाललाई निकाल्नै पर्ने भयो, नत्र मलाई नै अप्ठ्यारो हुने भयो” भनेर सुनाउनु भयो । मलाई लाग्छ हेमराज ज्ञवाली अलि सफा दिल र खुलस्त बिचार राख्ने खालको हुनुहुन्थ्यो । दिक्पालजीलाई निकाल्ने वातावरण तयार भयो । योग्य र सक्षम पत्रकारलाई ननिकालौ भन्ने हाम्रो अनुरोधको सुनुवाइ भएन । आखिर दिक्पालजीलाई निकाल्न मैले दिक्पालजीकै अगाडि बसेर पत्र तयार गरे । मेरो अध्यारो मुखतिर हेर्दै उहाँ के सोच्दै हुनुहुन्थ्यो मलाई थाहा हुने कुरा भएन । म भने अनाहकमा एउटा योग्य पत्रकार गुमाएकोमा खिन्न थिए ।
मैले अवकाश पत्र थमाउदै “निराश नहुनु होस् । भविष्यमा गरिखाने बन्नु होस् । कलम नरोक्नु होला, कतै ठाउँ मिल्यो भने तपाईंलाई सम्झने छु” भनेर उहाँलाई बिदा गरे । मैले त्यसबेला सम्झे बकरेले खसी काट्ने बेलामा मन्साए जस्तै काम मबाट भयो । तर, त्यसो भएन । संयोगबस दिक्पाललाई मैले नियुक्ति पत्र दिने मौका पनि मिल्यो । त्यसको १/२ वर्ष पछि जब हामी कान्तिपुर छाडेर श्री सगरमाथा दैनिकमा गयौं तब मैले पहिलो प्राथमिकता दिक्पालजीलाई दिएको थिए । उहाँले “धनकुटा बस्तीन अध्ययन पनि गर्नु छ धरान हो भने बस्छु” भन्नुभयो । मैले पनि सम्पादक तीर्थ कोइरालासँग सल्लाह र थोरै जबर्जस्ती गरेर राजकुमार दिक्पाललाई धरानकै संवाददाता बनाए । र, कान्तिपुरमा आफूले करकापमा गर्नुपरेको गल्ती सच्याए ।
यो त भयो कान्तिपुरबाट अनाहकमा निकालिनु भएका पहिलो पत्रकारको प्रसंग । यसपछि भने कान्तिपुरले बेला कुबेला पत्रकारलाई निकाल्ने, अपायक सरुवा गर्ने र हतोत्साहित गर्ने मार्ग अपनाउन सहज मान्न थाल्यो । यसमा वरिष्ठ पत्रकार रघु मैनालीलाई छाडेर भन्नुपर्दा तेस्रो शिकार स्वर्गीय श्रीलाल साहा र अन्यको निस्कासन साथै उहाँहरूले अदालतबाट मुद्दा जितेको रोचक घटना आलै छ । दिलभुषण पाठक जस्ता योग्य र सक्षम पत्रकारलाई कान्तिपुरले डाडो कटाएर सुदुर पश्चिमतिर पठाएको अर्को अध्याय बाँकी नै छ ।
सके जति लेख्ने बिचार गरेको छु । कान्तिपुर तर्फको पाटो सकिए पछि साप्ताहिक कालको “मिसन” पत्रकारिता, प्रजातन्त्र पछिको “पार्टी” पत्रकारिता, साथै श्री सगरमाथा, स्पेसटाइम र गोरखापत्र दैनिकमा आफूले भोगी जानेको, देखि जानेको र अनुभव गरेको विषयमा पनि कलम चलाउने बिचार गरेको छु । आजलाई भने यति नै । नमस्कार !