परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हिजो कोठा भित्र मेरो आफ्नै गनगन!

यो कोठामा २/४ दिन बस्न पाए हुन्थ्यो भन्ने लागेको छ । तर, यहाँ बसेर लेख्न पढ्न स्वास्थ्य, वातावरण र समय पनि अनुकुल हुनुपर्छ होला । हुन त मैले लेखेर वा पढेर केनै लछारपाटो लाग्छर । तथापि मान्छेको मन …..!

मेरा अनन्य मित्र डा. मुकेश चालिसेले “तै पढी हाल्छ कि त” भनेर मलाई सप्रेम उपहार दिनु भएका केही किताब ओल्टाइपल्टाई गरे । मलाई लाग्छ डाक्टर मुकेश इतिहास, भूगोल, राजनीति, समाज, साहित्य र उहाँको आफ्नै विषय  विज्ञानको भण्डार हुनुहुन्छ । उहाँले लेख्नु भएका किताब पढदा मलाई यस्तै लाग्छ । लेख्ने सीप र जाँगर भएकाहरू (घोष्ट राइटर) ले मुकेशलाई कन्यउने हो भने नेपाली पाठकलाई रुचीकर लाग्ने थुप्रै पुस्तक प्राप्त गर्न सक्छन् ।

त्यस्तै अर्का जाँगरिलो, चलायमान र विद्वान मित्र हुनुहुन्छ – चट्याङ माष्टर (कृष्णमुरारी गौतम) । मलाई लाग्छ उहाँ सबै विषयमा गहिरो जानकारी राख्नु हुन्छ । र, ती विषयमा गम्भीर बहस चलाउन सक्नु हुन्छ । व्याङग्य, कथा , गीत साहित्यका  जुनसुकै बिधामा उहाँ कलम चलाउन सक्नु हुन्छ ।

मैले उहाँहरू दुबैलाई नजिकैबाट पढ्ने कोसिस गरें । तर, सकिन । अर्को कुरो पनि सुनउन मन लाग्यो । मुकेश र चट्याङ दुबैले केही दिन अघि मलाई कार्यक्रममा उपस्थित हुन धम्कीपूर्ण तर अनुरोधी निम्तो दिनुभयो । मुकेशको निम्तो बुढापाका मान्छेका बारेमा आफैले लेखेको किताब विमोचनमा उपस्थित हुनु पर्ने थियो भने चट्याङको निम्तो आफैले स्तरीय पुरस्कार पाउने कार्यक्रममा उपस्थितिको लागि थियो ।

म दुईटै कार्यक्रममा जान सकिन । अहिले पनि थकथक लागि रहेको छ । तर, उहाँहरूसँग आमन्नेसामन्ने हुदा दह्रो खुट्टा टेकेर रातो रातो आँखा पार्दै भन्ने छु “तपाईंहरूको कार्यक्रममा आइन के गर्नु हुन्छ ?” आखिर ती विद्वानले केही गर्ने त होइनन् । मेरै सहृदयी मित्र हुन । अब यो भन्दा बढी अहिले नलेखौ । पछि लेखौला ।

अरु दुईवटा किताब यही कोठामा बसेर ४/५ दिन अघि पढी सके ।  निकै दिन अगाडिको कुरा हो पत्रकार तथा साहित्यकार भक्त स्याङतानले भन्नू भयो “दाइ ! एउटा कथा संग्रह लेखेर छाप्नको लागि प्रेसमा पठाएको छु । सार्वजनिककरण गर्दा बोलाउछु आउनु है” भन्नू भयो । मैले स्वीकार गरें । तर, भक्तजीलाई पनि हतारै लाग्यो कि क्या हो एक दिन फोन गरेर भेट्न खोज्नु भयो । त्यो दिन मैले भेट्न सकिन । अर्को दिन भेटेर आफूले लेखेको ” डम्फुको आत्मालाप” भन्ने कथा संग्रह थमाइ दिनु भयो । मैले पनि ध्यान दिएर पढेँ । यस किताबको बारेमा पछि लेख्ने नै छु । तर एउटा कुरा चाहिँ भन्नै पर्छ उपेन्द्र सुब्बाको “लाटो पहाड” पछि मैले पढेका मध्य लोभलाग्दो कथा संग्रह यही वियोगात्मक “डम्फुको आत्मालाप” नै हो । साहित्य रुचिकर लाग्नेले डम्फुको आत्मालाप पढदा “राम्रै पुस्तक पढेछु” भन्ने छन् ।

चार दिन अघि मात्र अर्को किताब “झापा विद्रोहको अन्तर्कथा” पढी भ्याए । यो किताबका लेखक निरोज कट्टेलले निकै दुख गरेर किताब लेख्नु भएको हो भन्ने बुझ्न सकिन्छ । तत्कालीन अवस्थामा पीडक भनिएका र पीडित भनिएका दुवै पक्षलाई लेखकले आफ्नो पुस्तकमा समेटन खोज्नु भएको छ । तर, किताब पढ्दै जादा राधाकृष्ण मैनालीको नलेखिएको इतिहास” पढी सकेका पाठकहरूले यो किताबका लेखक कट्टेल त्यही “नलेखिएको इतिहास” बाट बढी प्रभावित हुनुभएछ भन्ने ठान्ने छन् ।

किताब निकै महंगो लागे पनि कोमल भट्टराईले किताब बारे लेख्नु भएको स्टाटसले किनेर पढ्न बाध्य बनायो । किताब राम्रो लेखिएको छ । र झापा विद्रोहका पक्ष-विपक्षमा बिभाजित दुवै खेमाकाहरूले किताबलाई राम्रै ठान्ने छन् ।

कोमल भट्टराई, मोहन मैनाली यी दुवैले रुचिकर मानेर पढको किताब मैले पनि किनेर पढ्ने गरेको छु । त्यसमा पनि बेला बेला मोहन मैनालीलाई “बजारमा आएका मध्य कुन कुन किताब किनेर पढौ” भनेर सोध्ने गरेको छु । अँ साची ! ५/६ महिनाको अघि होला एक दिन मोहनजी र मेरो बीचमा फोन वार्ता हुदा “किताब लेख्दै छु, सकेर छापेपछि घुम्टो खोल्दा बोलाउछु” भन्नू भयो । तर, अहिलेसम्म खबर गर्नु भा छैन । आशा गरौ छिट्टै खबर गर्ने चाँजोपाँजो मिलाउदै हुनुहुन्छ होला ।

यो छरपस्टे बिचार हिजो एक्लै यही कोठामा बस्दा आएको हो । मैले यिनै असंगठिर र बिनाअर्थका शब्दहरूलाई छापे छापिन्छ नछापे छापिदैन भन्ने सोचेर परिसम्बाद डटकमका प्रधान सम्पादक रघु मैनालीको नाममा प्रेशित गरि दिए । जे होला होला । अब अलि दिन पछि साँच्चैको लेखमा भेटौला ।

Facebook Comments