परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पानदलेको भारत रिझाउने नागरिकता कोल्ले च्यातो हँ !

फुटानी

काठमाडौंमा हल्लिखल्ली भयो । तहलका मच्चियो र थच्चियो । अब हाम्रो सरखारले अाफ्नै सर्वोच्चमा मुद्दा हाल्छ । होइन मलाईसमेत अनौठो लाग्ने गरी के गरेको ? कटुवाल काण्डमा ठ्याक्कै यस्तै भाथ्यो । म त झलझली त्यही सम्झन्छु । त्यसताका हाम्रो सदावहार अध्यक्ष प्रचन्न काम्रेस प्रधानमन्त्री  र सेनापति रुक्माङगद कटुवाल थिए राष्ट्रपति चाहिँ नेपाली काङग्रेसका नेता रामवरण यादव थिए । हाम्रो प्रचन्न काम्रेसले सोच्तै नसोची त्यसताका सेनापतिबाट कटुवाललाई हटाएर अाफूले भनेको मान्ने कुलबहादुरलाई सेनापति बनाम्ने निर्नय ठोकेर राष्ट्रपति कार्जेलय शीतल निबास रामवरण कहाँ पठाए । हाम्रो प्रधानमन्त्री प्रचन्नले २०६६ साल बैशाख २० गते कटुवाललाई बर्खास्त गरेको पत्रसहित अगडमबगडम लेखेर राष्ट्रपति यादवलाई थमाई दिए । अनि काङग्रेसका राष्ट्रपतिले त्यो पत्रलाई धोती लगाई दिए । हामीले त्यसबेला पनि मार खायौ । त्यसैगरी नागरिकता विधेयकमा अहिले पनि हामीलाई नै खुइल्याए । नागरिकता विधेयक पास भएन कोही बात छैन । यहाँ मुख्य कुरा त हाम्रो प्रचन्नले भारतसँग गरेको प्रतिवद्ताको हविगत के हुने भन्ने नै हो ।

अस्ति भखरै भारत गइकन दिल्लीमा अार्जु मेडम र हाम्रो सधैंको अध्यक्ष प्रचन्न काम्रेसले त्यहाँका पूर्व सचिवका पिएसँग चुनाउ अगावै नागरिकता विधेयक पास गर्छौ भनिकन प्रतिज्ञा गरेको थियो । त्यही विधेयक यसरी कर्याककुरुक पार्नु हुन्छ ? नेपालीका लागि भए त सहन सकिन्थ्यो यो त भारतका लागि हो । राष्ट्रपतिले कस्तो नबुझेको ! पहिला कटुवाल काण्डमा भारत र अम्रिकाको डर अहिले उनारू दुइटैको भर, यता अाफ्ना जनताको डर । म जस्ताको त  टुप्पीबाट धुवाँ छुट्छ भने हाम्रो प्रचन्नको ढुङ्गा भन्दा कमलो मन कस्तो भतभती पोल्दो हो ! हाम्रो अाअाफ्नो जिल्ला बाहेक अन्त सप्पैतिर नागरिकता वितरण रोकिएको छ । हैन यस्तो पनि गर्न पाइन्छ । चुनाउको मुखाँ यस्तो निराश पार्नै नमिल्ने । चुनाउमा खर्च हुन्छ । फेरि चितवनका काङग्रेस कम महँगा छैनन् । हाम्रो प्रचन्नले कुनै पनि हालतमा चुनाउ जित्नुपर्छ । होइन भने यो व्यवस्था रहदैन । जनता उर्लिएर क्रान्ति गर्न गुटुङटुङ प्रचन्नको पछिपछि फेरि जंगल जान्छन् । प्रचन्ने चुनाउ जितेर प्रधानमन्त्री बनीकन नयाँ नेपालनिर्मान गर्नु छ । उनले अरु काम त राँटो नबिराइ समाप्त पारेकै छन् क्यारे ।

हौ विध्वंसे काका नमस्कार है ! थाहा पायौ होलानी राष्ट्रपतिले नागरिकता विधेयक पास नगरेपछि हाम्रो चार दलको शीर्ष नेताहर्ले चोटिलो, खँदिलो, स्वादिलो र चिट्टिक्क मिलेको विज्ञप्ति निकालेर विरोध गर्यो नि ! हामीले नेता चाहिँ छानेरै भेटेको हो क्या । राष्ट्रपतिलाई त दह्रो गरि भन्यो । काका ! जिब्रो चवार के कुरो गर्नु मलाई त राष्ट्रपतिले ठिकै गरे जस्तो लाग्दै छ है । अाफ्नो पार्टीले विरोध गरेको हुनाले अाफूले पनि विरोध गर्नु एउटा कुरा हो, वास्तविकता भनेको अर्कै कुरा हो ।

ठिकै भनिस् भिरघरे भतिज ! मलाई पनि त्यस्तै लाग्छ । तर, हाम्रो नेताहर्ले विस्तारवादी ए केरे विस्तारवादी पो भनेछु । हाम्रो महान भारतलाई के भनी जवाफ दिनु ! नेताहर्ले चुनाउ अगाडि नै पास गर्छौ भनेर भारतसँग कमेन्टमेन्ट गरेको विधेयक पास नहुनु भनेको चुनाउमा सहयोग नपाउनु हो । अब जे हुन्छ हुन्छ । हाम्रो नेताहर्ले मधेस प्रदेशमा जाँदा विहारतिर देखाउदै `हामीले त पारितिरकालाई पनि गुट्मुट्याएर नागरिकता दिन्छौ भनेकै थियो नि, राष्ट्रपतिेले रोकेर पो त´ भन्दै अाँशु झार्नुपर्छ । यता पहाडतिर जाँदा `हामीले चाहेको भए नागरिकता विधेयक जसरी नि पास हुन्थ्यो, पास होस भन्ने हाम्रो चाहनै थिएन´ भनेर हास्नु पर्छ। तर, नागरिकता विधेयकको कुरा पुरानो भयो भतिज अब काठमाडौंको नयाँ कुरा सुनान। सिट भाँडफाँड के कस्तो भयो ? कोस्ले कहाँ टिकेस पायो ? तँलाई त सप्पै थाहा हुनु पर्ने हो। 

नयाँ केही छैन काका ! अब तिम्रो प्रचन्न काम्रेस उकिलहरू लिएर नागरिकता विधेयक राष्ट्रपतिेले पास नगरेको विरुध्दमा मुद्दा हाल्न सर्वोच्च गए रे । अाजै सर्वोच्चबाट परमादेश जारी भैकन राष्ट्रपतिलाई बर्खास्त गर्दै नागरिकता विधेयक पास भएको निर्नय हुनेमा हाम्रा पानदले ढुक्क छन् । जे होस् प्रचन्नको सर्वोच्च हितैसी छ । तर, उनकै पक्षमा फैसला गर्ने न्यायाधीशले चोलेन्द्रको नियति चाहिँ भोग्नै पर्छ । चोलेन्द्रले पनि पहिला परमादेशी सरखार गठन गर्न निर्नय गर्ने न्यायाधीशहर्को नेतृत्व गरेका थिए र अहले त्यही फल भोग्दै छन् । `अाफू गर्छ भलो, खप्पर फोर्छ हलो´ भनेको यही हो । कि कसो झुम्री काकी ?

तेरो कुरो अाधा चाहिँ ठिक हो भिरघरे भतिज ! नागिकता विधेयक पास नहुदा देउवा दाइ र प्रचन्न काम्रेसलाई भतभती पोलेको छ । यता `बृहत् नागरिक अान्दोन´ नामको हाम्रो केटाहर्को मागी खाने भाँडो भने भरिने भयो । उनारू खुशी छ । परमादेशी सरखार बनेसी केटाहर्को भट्टी र टट्टीसँग भेट भा थिएन अब भेट हुने भो । हाम्रो कान्तिपुरको पूर्व सम्पादक नारद बाग्लेले – भारतको हित विपरित कार्जे गरेको हुनाले राष्ट्रपति विद्यादेवी भण्डारी विरुध्द बृहत् नागरिक अान्दोलनले ऐतिहासिक संघर्ष गर्ने भनेर अस्ति वक्तव्य निकालेर बजारमा बेच्न राखीसके । डलर र भारुले मज्जाले किन्छन् ।

बाठी भर नबोल झुम्री । जसले जति भने पनि हाम्रो प्रचन्नले जे भन्यो पानदलेमा त्यही हुन्छ । माधौ, देउवा, उपेन्द्र, दुर्गा भनेका प्रचन्नले नारेपछि `मेलो सक्नुपर्छ´ भनेर हलो तान्ने हुन । यता हाम्रो पत्रकारहरू पानदलेले नराम्रै काममा गरेको भए पनि खुलेर `यो सरखारले राम्रो र ऐतिहासिक काम गर्यो´ भनेर लेख्छ । अस्ति विहिबारको नयाँ पत्रिका, कान्तिपुर र हाम्रो अनलाइन पोर्टलहरू हेरिनस् । नभाको कुरो पनि कस्तो मिलार हो नै जस्तो गरेर कथा लेखेको छ । एउटा युवाले नागरिकता नपाको कुरा दन्त्यकथा जस्तो बनार कस्तो मिलार लेखे छ । बाउ-अमा, दाजु-दिदी, भाइ-बैनी सप्पैको नागरिकता छ अरे उसैको चाहिँ छैन रे । हे उल्का ।

हे काका ! अहिलेसम्म पानदलेको सिट भाँडफाँड मिलेको छैन । सप्पैले ठूलो भाग खोजेका छन् । अब त्यो एमालेबाट चोक्टीएको माधौ नेपालको केजाति पार्टीलाई पनि प्रखस्त सिट चाहिएको छ । होइन भने अपमान भै जान्छ । वर्तमान परिपेक्षमा माधौ नेपाल अपमान सहन जन्मेका होइनन् । प्रचन्न र माधौ भर झ्याप्पै प्रतिगमन रोके । यता संविधान ल्याङफ्याङ पारेर च्यातेका थिए त्यो पनि यही दुईजनाले जोगाए । यो संविधानको अौधि मयाँ गर्नेमा अहिले उपेन्द्र ज्यादव पनि थपिए । यो संविधानलाई हृदयदेखि मयाँ गर्ने संविधान विरोधी ज्यादव र जनतालाई नै मटियामेट पारेर जनताको उत्थान गर्छु भन्ने प्रचन्न हाम्रो नेता भएसम्म ……!

वाइयात कुरा नगर भिरघरे ! हाम्रो प्रचन्नले गर्दा नै काङग्रेसलाई कमफर्टेवल छ । अब अाज यता सर्वोच्चले राष्ट्रपतिको विपक्षमा परमादेश ठोक्छ उता हाम्रो नेताहर्ले सिट भाँडफाँड टुङ्ग्याउछ ।

लु काका ! तिम्रो बकबासे कुरा अरुलाई सुनाइ बस । मलाई हतार छ, लागे उभिण्डेतिर ।

जै नेपाल ।

Facebook Comments