परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

धृतराष्ट्रको शुभकामना

निकै दिन भएको थियो काठमाडौंको अनामनगर जान नपाएको । खास काम नभएर होला त्यतातिर जाने फुर्सद पनि निस्किएनछ । मेरा हितैषी पत्रकार मित्रहरू घनेन्द्र ओझा, भुपराज खडका, सुदर्शन घिमिरे ´अनामनगर किन नअाएको´ भनेर फोन गरिरहनु हुन्थ्यो । अरु त अरु त्यसबेला धरानमा रहनु भएका मित्र प्रतीक भण्डारीसमेत `ल अनामनगरमा छिट्टै भेट्नु पर्छ´भनीरहनु भएको थियो । त्यस बाहेक साथीहरू यम बहादुर दुरा, विवेक वाइबा, शान्ति त्रिताल र कवि हरि कोर्कालीले पनि भेटन चाहिरहनु भएको थियो । सबै साथीलाई एकै दिन भेट्ने संयोग २०७९ असार १४ गते मिल्यो । र, सब भन्दा ठूलो कुरा त कवि हरि कोर्कालीबाट `धृतराष्ट्रको शुभकामना´ प्राप्त भयो ।                          

मलाई लाग्छ म लेख्न जान्दिन । र लेख्ने काम मेरो हो जस्तो पनि लाग्दैन । तर, मेरा साथीहरूको धारणा `यो लेख्न जान्द छ´ भन्ने बनी सकेको छ । त्यसमा पनि किताब पढन्ते म होइन र किताबको समीक्षा गर्न त म जान्दै जान्दिन ।तर, मलाई यो पनि लाग्छ मेरा साथीहरूले जुन किताबहरू मलाई सम्रेम उपलब्ध गराउनु भएको छ ती धेरै जसो साथीको अासय `यसले समीक्षा गरी दिए हुने थियो´ भन्ने नै थियो । यसैले होला मसँग अहिले पत्रकार तथा लेखक मोहन मैनालीको `अाकाशमुखी´, पत्रकार, लेखक तथा कवि, गजलकार घनेन्द्र ओझाका `जनताको बहुदलीय जनवाद फरक बहस´र कवितासङ्ह `असमान पहाडहरू´ मेरो अगाडि असरल्ल फिंजिएका छन् । यसैगरी मेरा अत्यान्तै हितचिन्तक लेखक, उपन्यासकार रमेश उप्रेतीका `बहुलानन्द´ लगायतका किताबहरू पनि मेरा अगाडि छन् । निकै अगाडि मेरा मित्र पूर्व प्रशासक गेहनाथ भण्डारीले समीक्षाकै लागि दिनु भएको   `मकालु सौरभ´ र हरि कोर्कालीकै बालकवितासङ्ग्रह `जून मामा´ मसँग सुरक्षित छन् ।

यी किताबहरू मध्य मैनालीको अाकाशमुखी, अोझाको असमान पहाडहरू , भण्डारीले उपलब्ध गराउनु भएको मकालु सौरभ साथै उप्रेतीको बहुलानन्द ल्यउने बित्तिकै पढी सकेको छु । मेरो अल्छीपनलाई परास्त गर्न सके भने मित्रहरूले उपलब्ध गराउनु भएका अरु गहन र विचारोत्तेजक पुस्तकहरू क्रमशः पढ्दैजाने विचारमा छु । अब लागौ खास लेख्न खोजेको विषयवस्तुतिर :- धृतराष्ट्र महाभारतका मुख्य पात्र मध्यका एक हुन । उनी अन्धाछन् तर राजगद्दी छाड्न चाहदैनन् । धृतराष्ट्र धुर्त्याइँ, कप्ट्याइँ र छलकपट गरेर भए पनि अाफ्ना छोराहरूको राज्य अकण्टक राख्न चाहन्छन् । महाभारतका अनुसार उनी असत्यको पक्षमा उभिएर सत्यको पक्षपाती पाण्डवहरूको समाप्तिको लागि अाफ्ना सय भाइ छोरा र बन्धुबान्धवको नरशंहारमा हिस्सेदार बन्न पुग्छन् । हो उनै धृतराष्ट्रको शुभकामना मैले प्राप्त गरे । र तपाईं पनि धृतराष्ट्रको शुभकामना प्राप्त गर्न सक्नु हुन्छ ।

अहो ! धृतराष्ट्रको पनि शुभकामना म छक्क परें । अनि त्यो दिन हरि कोर्कालीलाई धन्यवाद दिदै उहाँले उपलब्ध गराउनु भएको कवितासङ्ग्रह `धृतराष्ट्रको शुभकामना´ बोकेर म अनामनगरबाट हिडे । साहित्य विधाको त्यो पनि कविता मैले बुझ्ने कुरै भएन तापनि ९६ पृष्टमा पङ्तिबद्द रहेका छोटा, मिठा र अाक्रमक ३३ वटा कविता पढेर सके । कविता कस्तो हुनुपर्छ भन्ने नबुझेर होला यी पंक्तिहरू लेख्दै जादा भने म अलमलिए ।

हरिजीले उपनाम नै होला `कोर्काली´ राख्नु भएको  रहे छ । शब्दकोशले कोर्कालीलाई `जङ्गली स्वभावको, सभ्य र शिष्ट नभएको पाखे´ भन्दो छ । तर, कवि कोर्कालीले (पूर्वप्रशासक) सज्जन, मिलनसार र सत्यमा अडिग रहने व्यक्ति भनेर अाफ्नो परिचय बनाइ सक्नु भएको छ । कविता पढ्दा लाग्छ त्यस्तो व्यक्तिले अावेशजन्य मनस्थिति बनाएर अाक्रोसपूर्ण कविता कसरी लेख्नु भयो होला ! लाग्छ कविको मनमा विद्रोहको अथाह लाभा उम्लिरहेको छ । मुख्यतः कविको मनलाई शान्तिसँग बस्नै नदिने विषय हो देशमा व्याप्त भ्रष्टाचार, अन्याय, अत्यचार, नेताहरूको छली बोली र विपरीत व्यवहार । हुनत धृतराष्ट्रको शुभकामना व्यङ्ग्यकवितासङ्ग्रह हो । व्याङ्ग्य अाफैमा अलिबढी घोचिलो, पेचिलो हुनु र विकृति, विसङ्गति माथि निर्मम प्रहार गर्न सक्ने हुनुपर्छ होला । यसको बारेमा मलाई थाहा नहुनु स्वभाविकै हो ।

तर, कवि कोर्कालीले अाफ्नो कवितामा अावेस, वितृष्णा, अाक्रोस र वर्तमान अवस्थाको निर्मम ढंगले छाला काढे पनि कवितासङ्ग्रह पढ्न लायकको छ । अव्यवस्था, विकृति, विसंगति, अन्याय, कुशासन, भ्रष्टाचार र पार्टीहरूले अाफू स्थापित हुन गरेका जनहत्यारा कार्यको नामै नलिएर पनि को के हो भन्ने कुरा खुलस्त राखी दिनु भएको छ ।  सबै पार्टीका नेताहरूलाई भने पढ्न निक्कै अप्ठ्यारो, घोचिलो र पेचिलो छ । पाचन शक्ति दह्रो हुने नेता, प्रशासक, कर्मचारी र हामी जस्ताले साँच्चै पढ्न लायकको छ धृतराष्ट्रको शुभकामना । सायद यसैलाई भन्छन् क्यारे सस्तो किताब प्रसस्त खोराक ।

मुलुकमा समस्या छरिएर रहेका छन् । विडम्बना धृतराष्ट्र देख्तैनन् । अन्याय, अत्याचार,व्यभिचार,भ्रष्टाचार,कुशासन व्यापक छ तर धृतराष्ट्र अन्धा छन् । धृतराष्ट्र अन्धा भए पनि कवि कोर्काली अरु गान्धारी बने भन्दैमा अाफू गान्धारीको अभिनय गर्न सक्तैनन् । राजनीति जनपक्ष हुनुपर्छ, जनताका लागि हुनुपर्छ भन्ने मान्यता राख्ने कवि हरि कोर्काली व्याङ्ग्यकवितासङ्ग्रह `धृतराष्ट्रको शुभकामना´ को अन्तिम कवितामा सायद पाठकलाई कविताको शीर्षक नै धन्यवाद नै राखेर धन्यवाद दिदै भन्नुहुन्छ –

धन्य हो राजनीति !

तैँले हामीलाई

सात दशकसम्म कनेरै भए पनि

अन्य आकर्षणहरू

अन्त कहीँ-कतै नभएका

बिलकुलै निरूपम, निराला

  • काङ्ग्रेस दिइस्
  • कम्युनिस्ट दिइस्
  • माओवादी दिइस्
  • समाजवादी दिइस्
  • राजावादी दिइस् र सबैभन्दा बढी त

यी सबैलाई उत्तिकै मन पर्ने दर्शनका रुपमा

खाओवाद दिएर

केके न गरेँभनेजस्तो गरी

अाफैँ रमाइस्

मक्ख पारिस् ।

योसँगै धृतराष्ट्रको शुभकामनादेखि सुरु भएको ३३ वटा कविता सकिन्छ । नढाँटी भन्नुपर्दा एकै बसाइमा यो कवितासङ्ग्रह पढी सकिन्छ । (ईति) ।

Facebook Comments