परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

यात्रा: भट्भटे, झाजी र आन्दाेलित मधेश

बिहान सुन्दा, पढ्दा, हेर्दा । जनकपुरमा आन्दाेलनकाे आगो दन्किरहेकाे थियाे । तर, काठमाडौँ शान्त र शितल थियाे । भर्खर चिसाे हिउँद सिद्धिएकाे । मन ताताे माैसम थियाे ।

घरबाट म जनकपुरका लागि निस्किएँ । तर, म जनकपुर जाँदै छैन । म जनकपुर यात्रामा हिँडेकाे पनि हाेइन ।

एयरपोर्ट पनि अरुबेला बिहान हुने घुइँचोबाट स्वतन्त्र थियाे । तराईतिरका धेरै उडान अल्छे भएका रहेछन् । चेक इन पछि भित्री कक्षमा पुगेपछि, मैले सुँघेँ । उडान तालिकामा हेरेकाे जनकपुरकाे एउटा मात्र उडान समय भन्दा ढिलाे हुने जानकारी सहित उभिएकाे थियाे । त्यसका मुन्तिर काठमाडौं-लुक्ला उडानकाे लामा लश्कर लाइनमा उभिएकाे देखेँ । पर्यटन समय हाे । सबैलाई उचाइकाे पनि उच्च सगरमाथा चढनु छ । याे घुइँचाे त्यसैकाे हाे । उनीहरू एयरपोर्टकाे फराकिलो हलमा अलग फैलिएका थिए । अलग रंग, पहिरन, भाषा र उद्देश्यकाे टाेपी लगाएका थिए ।

म जनकपुर यात्राका यात्री खाेज्दै, सानाे हुलमा मिसिन खाेजे । सजिलै, मसितै जनकपुर उडन आएका पाँच सहयात्री भेटिए । दुईजना गृह मन्त्रालयका कारिन्दा । जनकपुरमा लागेकाे आगाे निभाउने डियुटीमा खटिएर हिडेका  । एकजना खाडी राष्ट्रबाट आमाकाे काजकिरियाका लागि घर जाँदै । अर्का एक, चुपचाप कुनाे समातेर बसेका थिए । उनी बोल्न चाहेनन्, हामीले बोलाएनाैँ ।

चिया, कफी लस्याङ पस्याङमा दुई घण्टा बितेपछि वल्ल माईकले हामीलाई बेलायाे । हामीले हस्याङफस्याङ गर्दै जहाजतिर खुट्टा लम्कायौँ ।

सीता एयर । सेताे रंगमा निलाे फित्ता पाेतिएकाे एक्लाे टिवनेटर हामीलाई पर्खिबसेकाे रहेछ । यसाे हेर्दा लाग्याे, थकित छ । ‘बाह्र चक्कर लगाकाे, मलाई त चक्कर लागिराछ’, पछि एयर हाेस्टेसले सुनाए, ‘सगरमाथा आराेहीलाई आराेहणमा उडाउन ऊ विहानै घमासान दाैडमा थियाे । उसको अन्तिम उडान काठमाडौं-लुक्ला-काठमाडौं ‘एल’ रहेछ ।’

जहाजमा चढेपछि, देखेँ, म बाहेक तिनै चारजना, एकजना एयरहाेस्टेस, दुई पाइलट । यति नै थियौँ । हामी जाहाजभित्र ।

म प्रायः जहाजकाे पछाडि सिटमा बस्छु । त्यहाँ झ्यालबाट तल, पर, वरपर अवलाेकन गर्न गज्जब मजाकाे हुन्छ । हामी जनकपुरका लागि उड्याै । तर, मलाई जनकपुर जानु छैन ।

गृहका दुई निजामती कर्मचारी मलाई धेरैअघिदेखि घुरिघुरि, फर्किफर्की आश्चर्यजनक दृष्टिले हेर्दै थिए । ‘यस्तो बेला जनकपुर?’,उनका मनमा यही प्रश्न रहेछ, जुन पछि साेधिहाले । ‘म जनकपुर जाने हाेइन’ मेराे उत्तर उही थियाे ।

अब, ममा अघिकाे अन्याैल बिस्तारै त्रासमा बद्लिन थाल्याे । उसलाई मैले शंकैशंकामा के के बनाइसकेकाे थिएँ । आफ्नाे अपहरण र वेपत्ताकाे समाचार पनि आफैँले लेखेर छापिसकेकाे थिएँ । मेराे हाेशले ठाउँ छाडिसकेकाे थियाे ।

यसअघि पनि थुप्रैचाेटी जनकपुर गएँ । तर, सानाे जाहाजमा पहिलाे चाेटी जाँदैछु । कम्पनी नै बन्द भएर, विमानस्थलमा ग्राउन्डेड नेपाल एयरवेज र नेकाेन एयर चढेर समेत म जनकपुर गएकाे छु । तर, सानाेमा पहिलाे चाेटी उडेकाे ।

उसाे त, मलाई मन पर्ने टिवनटर उडान हाे । यसमा उडान भर्दा आफू पनि सँगै उडे झैँ लाग्छ । मैले नेपालका धेरै अप्ठ्यारा र अनकन्टार यात्रामा यसकाे सहारा लिएकाे छु । नेपाल हेर्न र चिन्न यसले मलाई धेर‌ैपटक माैका दिएकाे छ ।

जहाजकाे झ्यालबाट पहिला भक्तपुर त्यसपछि काभ्रे, रामेछाप, सिन्धुलीका पहाड ठम्याउँदै म तराई झरेँ । केही झणकाे हलचल र तलमाथिपछि जनकपुर एयरपाेर्ट देखियाे । जहाजले हामीलाई त्यसबखतकाे हवाई गन्तव्य टुंगिएको जनायाे ।

जहाजबाट बाहिर निस्कँदा, जनकपुरकाे माैसम अलिअलि उम्लिन थालेकाे थियाे । एयरपोर्ट सुनसान थियाे । थाहा भयाे, जनकपुर आउने र जाने त्यो एक्लाे विमान रहेछ ।

मधेस आन्दाेलनकाे आगाे खेप्न नसकेर, यति एयरलाइन्स र बुद्ध एयरले आफ्नाे उडान बन्द गरिसकेका रहेछन् । आन्दाेलनकारीले, आए आगाे लगाई दिने धम्की दिइसकेका रहेछन् । त्यहाँ देखेँ, लगभग रित्तो आएकाे सीता एयर पूरै भरिएर जाने छाँटमा थियाे ।

कुवा टाेल, रामनगर, हनुमानगढ । जनकपुर एयरपाेर्टलाई स्थानीयहरू यसरी आफ्नाे बनाउँछन् । सबैभन्दा दह्रो दावी कुवा टाेलकाे छ । रामनगर र हनुमानगढ पनि पुरानाे बस्ती हाे । तर, अब सबैले चिन्ने जनकपुर एयरपोर्ट नै हाे ।

मेराे यात्रा, यहाँबाट शुरु हुन्छ । मलाई जनकपुर जानु छैन । म हिँडेकाे छु, धनुषाको छिमेकी, सिराहा जिल्लाकाे राजमार्ग व्यापार मुकाम लहान ।

तर, जनकपुर एयरपोर्टबाट लहान कसरी पुग्ने मलाई थाहा छैन । मसँगै आएका गृहका कारिन्दा लिन सेताे प्लेटकाे गाडी आयाे । अरु दुईले पनि त्यसैकाे सहारा लिए । सीता एयर आफ्ना यात्रु बाकेर फर्कियाे । अब, रित्तो सुनसान एयरपोर्टमा म एक्लाे यात्री थिएँ ।

बाहिर निस्किएँ । काेही थिएनन् । मलाई लिन आउने । मलाई स्वागत गर्ने काेही देखिएनन् । पर एउटा झुप्रे दोकानमा चिया उमाल्न बालिएकाे दाउराकाे धुवाँ देखे । धुवाँमा आशा राखेर त्यतै लागे । चार–पाँच जना, चियाकाे चुस्कीसँगै मैथिली भाषामा बात मार्दै थिए । आधाउधी बुझ्दा वार्तालापकाे निचाेड, जनकपुर गम्भीर माेडमा छ । धरपकड जारी छ । नाराजुलुस निरन्तर छ । पहाडे विराेधी मनाेभाव वढदाे छ । अपहरण, ब्ल्याकमेल, धम्की फाेनकल थपिएकाे छ । तर, मलाई जनकपुर जानू थिएन ।

जिवच्छ चाैधरी (तत्कालिन स्टेसन मैनेजर, रेडियाे समाद, लहान) । उनकै निमन्त्रणामा म लहान जाँदै थिएँ । काठमाडौंमा जहाजकाे टिकट दिन पनि उनकै वाेर्ड काेषाध्यक्ष सियाराम चा‌‌ैधरी आएका थिए । हाम्रो गुरु याेजना थियाे । काठमाडौं-कुवाटाेल-लहान । काठमाडौं-कुवाटाेल हवाई यात्रा । अनि, त्यसपछि उनका मानिस माेटर साईकलमा मलाई लिन आउने । अरु त उपाय पनि थिएन । यातायात ठप्प भएकाे कैयन दिन भइसकेकाे थियाे । सडकले सवारी चिन्न छाडिसकेकाे थियाे ।

कुवाटाेल (रामनगर, हनुमानगढ) काे चिया पसलमा चियाकाे चुस्की लिइरहदा, जिवच्छकाे फाेन आयाे, ‘माेटरसाईकल एक्सिडेन्ट्, सवार घाईते, आउन नसक्ने भए । केही उपाय लगाएर आउनुपर्याे’, अब मेराे सास र चिया एकैपटक सेलायाे । म माैन रहेँ । उसकाे फाेनकाे जवाफ मसित थिएन । त्यही चियापसलमा बास बस्नु वाहेक अर्काे कुनै उपाय मलाई सुझेन । जनकपुर नगर जान सक्दिनथेँ । लहान हिँडेर पुग्ने कुरै भएन । म थचक्क भएँ ।

मेराे रूपरंग, हाउभाउमा आएकाे फेरबदल चिया पसलेले ठम्याएछन् । ‘के भयाे, कुनै समस्या? ‘ साेधे । मैले सबै ठीक छ भनेर टारेँ ।

पश्चिम क्षितिजमा घामले पनि रंग फेर्दै थियाे । साँझ पर्दै, ढल्किन लागेकाे आभाष दिँदै थियाे । निकैबेरकाे माैनता पछि, म‌ैले, चिया पसलेलाई एकरात सुत्ने ठाउँ साेधिखाेजेँ । त्यसपछि, पसलमा भएका सबैका आँखा मतिर तेर्सिए । अनि बल्ल पुछताछ शुरु भयाे । कहाँबाट आएकाे ? कहाँ जान लागेकाे ?

मैले बिस्तारै आफ्नाे समस्याकाे पाेकाे खाेलेँ । सविस्तार समस्या तेर्स्याएँ । ‘लाहान हिँडेकाे, रात विताउने ठाउँकाे खाेजमा छु । एकरात बास पाए पुग्छ’, भनेँ । मैले अहिलेलाई लाहान पुग्ने आश मारिसकेकाे थिएँ ।

‘एक रात बास’ सबैले झन निधार खुम्च्याएर मतिर आँखा तेर्स्याए । याे त झन् असम्भव झैँ भनेर आँखी भाैं तन्काए । उनीहरुकाे जवाफ थियाे, ‘जनकपुर शहर जाने उपाय छैन, पहाडियालाई घरमा वास दिने कुरै आउँदैन, चिया दुकानमा सुत्नु झन् जाेखिम छ ।’

अब के गर्ने ? असमन्जस्य, अन्याैल र आशंका । म पूरै दुविधामा घेरिएकाे महशुष गर्दैछु । कतै कुनै उज्यालाे बाटाे देखिरहेकाे छैन । पश्चिममा घाम मधुराे हुँदैछ । मेरा आँखा धमिलाे हुँदैछ । आशाहरु मर्दैछन् । घाेप्टाे परेँ । अन्तिम किरणकाे खाेजीमा ।

यत्तिकैमा, सपना जस्ताे, एउटा भटभटेकाे आवाज मेराे कानकाे नजिक, झन् नजिक हुँदै आइरहेकाे भान भयाे । विपनामा भटभटे, चिया पसलमा रुकिसकेकाे रहेछ ।

हेरेँ, बडेमानका जुँगे मानिस, बडेमानकाे बुलेट माेटरसाईकल बिसाउदै थिए । ‘चियाकाे खाेजीमा हाेलान्, यहाँ आईपुगेका’ मनमा गम खाएँ । नभन्दै, जुँगा मुसार्दै उनले चिया मागिहाले ।

पहिलेदेखिकै, चार गाउँले एक कुनामा, म अर्काे कुनामा चुपचाप बसेका थियौँ । चिया पसले चिया बनाउने तर्खरमा लागे । मैले पनि अर्काे एक गिलास चिया थपेँ ।

भटभटेमा आएका, उच्च कद, उत्रै ज्यानका तिनले मतिर नजर लगाए । राताे आँखा, पानले रातिएकाे राताे मुख, अलिअलि फुलेकाे जुँगा, ठुलाे ज्यान । उनले चढेर आएकाे भटभटे जस्तै बुलेट थियाे उनको ज्यान ।

अब, ममा अघिकाे अन्याैल बिस्तारै त्रासमा बदिलन थाल्याे । उसलाई मैले शंकैशंकामा के के बनाईसकेकाे थिएँ । आफ्नाे अपहरण र वेपत्ताकाे समाचार पनि आफैँले लेखेर छापिसकेकाे थिएँ । मेराे हाेशले ठाउँ छाडिसकेकाे थियाे ।

अन्य आकर्षणहरू

गाउँ यात्रा

जुम्लामा हल्ला हमला

जुविथामा खल्बल

तेर्साे नजरले चिया पसलेसितकाे उनको गतिविधि नियाल्दै थिएँ । ईशारामै मलाई देखाउदै, आँखैले चिया पसलेसित ‘काे हाे?’ भनी साेध्न भ्याए । यतिबेलासम्म मेराे हंसले ठाउँ छाडिसकेकाे थियाे । चिया पसलेले मेरा बारेमा के भने कुनी, म‌ैले भेउ पाइनँ ।

आधा कप चिया सिध्याएपछि, ऊ मतिर फर्कियाे ‘लाहान जानुहुन्छ ?’ प्रश्न गर्याे । मैले ‘हाे’ मुन्टाे हल्लाएँ । अरु चारजना पनि नजिक आए । चिया पसले बीचमा थिए ।

‘ उहाँ जान तयार हुनुहुन्छ’, पसलेले भने । म टवाल्ल परिरहेँ । बुझ्न सकिनँ । ‘किन ?’ मैले साेधेँ ।

अर्का गाउँलेले भने,’आन्दाेलन भएपछि, उहाँ यहीँ काम गर्नु हुन्छ ।’ सबै उनलाई चिन्दा रहेछन् । अर्का गाउँलेले थपे, ‘ल, माेलताेल गर्नुस, लिएर जानुस् ।’

म एकैचोटि छानाबाट खसेकाे झैँ भएँ । जसलाई देखेर, मैले कल्पनामा आफ्नाे अन्तिम खबर समेत लेखिसकेकाे थिएँ, उनी त मेराे उद्धारका लागि आइपुगेका रहेछन् । उनले आफ्नाे परिचय दिए, मैले आफ्नाे । माेलताेल भयाे । नगद पैंतिस सय, खान बस्न एकरात । म तेईस सयमा काठमाडौंबाट आएँ, पैंतीस सय तिरेर यहाँबाट जाँदैछु ।

अब बाटाेभरि यात्रामा उनलाई झाजी भनेर वाेलाउने छु ।

चिया पसले र चार गाउँलेसित विदा भएर म झाजीकाे बुलेट पछाडि बसेर कुवाटाेलबाट निस्किएँ । कुवाटाेल, रामनगर र हनुमानगढ पनि हाे । अहिलेकाे जनकपुर एयरपाेर्ट ।

उनले लाहान पुग्ने आफ्नै कुनै याेजना र राेडम्याप वनाए हाेलान् । मलाई बताएनन् । मैले पनि दाेहर्याएर साेधिनँ । उनकाे बुलेट माेटरसाईकल जता कुद्छ, त्यतै जाने । मनमन ठानेँ । एक प्रकारले झाजीलाई मैले आत्मसमर्पण गरिदिएँ ।

झाजीकाे बुलेट माेटरसाईकल, ब्रिटिश राजमा उनीहरूसितै भारत आएकाे हाे । गाउँले असमतल र अप्ठ्यारो बाटाेका लागि याे अति उपयुक्त छ । ब्रिटिशले सुरक्षा दल (प्रहरी र सेना) का लागि यसको प्रयाेग गर्थ्याे । जुन पछि, भारत स्वतन्त्र भएपछि पनि कायम रह्याे । पछि, व्यपारिक प्रयाेजनका लागि पनि यसको उत्पादन हुन थाल्याे । कुनै बेला तराईका हुनेखाने जमिन्दारहरुका घरघरमा हुने गर्थ्याे । जसलाई राजदुतले विस्थापित गर्याे । करण, राजदुत सस्ताे, कम तेल खाने र आकारमा सानाे थियाे । तर, अब बुलेट र राजदुत दुवै ईतिहास भइसके ।

झाजीले आफ्नाे माेटरसाईकलमा राखेर कहाँ लादैछन । थाहा छैन । म भने सिराहकाे लाहान बजार जाँदैछु । म त्यहीँ जान बिहान घरबाट हिँडेकाे हुँ । माेटरसाईकल अहिले कच्ची र पक्का घरहरू भएकाे एउटा टाेलमा आइपुगेकाे छ । टाेलमा सुनसान छ । मैले साेचेँ, कतै याे रामनगर त हाेइन । उनले मलाई माेटरसाईकलबाट उतारे । अनि, आफ्नाे घर देखाए । याे त हनुमानगढ रहेछ । ‘एकछिन यहीँ उभिनुस्’ भनेर घर छिर्ने सानाे गेटबाट उनी छिरे । म एक्लै, सुनसान सडकमा उभिरहेँ । आधा घण्टापछि उनी एउटा सानाे झाेलासहित उपस्थित भए ।

मलाई, एउटा गाम्छा दिँदै भने, ‘यसले पूरै अनुहार छाेप्नुस्, तपाईं गाेराे हुनुहुन्छ, पहाडे देखिनुहुन्छ, अनुहार लुकाउनुपर्छ’ । अब गाम्छाले छाेपिएकाे म, झाजी र बुलेटकाे लाहन यात्रा शुरु भयाे । ‘याे लाहन नै त जाने हाेला नि ?’ मनमा शंकाकाे घेरा छँदै थियाे । आफ्नाे टाेलकाे अन्तिम कुनाकाे पान पसलमा उनले पहिलाे पानकाे गाँस हाले । मतिर फर्केर, ‘याे पनि मेराे पेट्रोल हाे’ भने ।

जनकपुर एयरपाेर्ट परिसर छाडुन्जेलसम्म घाम निकै पश्चिम भइसकेकाे थियाे । म लहान जाँदैछु । झाजी कहाँ जाँदैछन, मलाई थाह छैन  । एउटै  सवारीमा सवार हामी दुईकाे मनाेदशा फरक छ । माेटरसाईकल अब एकनाश सडक उछिन्दै छ । पूर्व दिशातिर हुइँकिएकाे छ ।

साँझ पर्न लागेकाे थियाे । झाजीले झ्याक्क आफ्नाे भटभटे आधा खुलेकाे चिया पान पसलमा राेके । पानकाे फरमान गरे । याे ठाउँ  प्रसिद्ध धनुषाधाम रहेछ।  मलाई हेर्दै आँखैले साधे, ‘खाने ?’ मैले मुन्टाे नखानेमा हल्लाए । अब, मुखभरि पान घुसारेर उनी गाउँलेसित भलाकुसारी गर्न थाले । पानकाे मुठाेले उनले बाेलेका आधा कुरा अनुमान लगाउनु पर्थ्याे । मैले अनुमान लागाएँ, उनी जनकपुरमा लागेकाे आन्दाेलनकाे आगलागीका बारेमा दृश्यावलाेकन गराउँदै छन् । अर्काे पान बाटाेका लागि थपे । अनि गाउँलेसित विदा मागे । म र मेराे बारेमा उनले गाउँलेलाई के भने थाहा छैन । तर, म सुरक्षित रूपमा धनुषाधाम छाेड्द‌ै थिएँ । झाजीप्रति मेराे विश्वासकाे डाेरी अलिक कस्सिएको महसुस हुनथाल्याे ।

परापूर्वकालमा, स्वयम्वरका लागि जानकीधाम आएका रामले धनुष उचाल्दा भाँच्चिएकाे एक टुक्रा यहाँ खसेकाे विश्वास छ । त्यसैले धनुषाधाम यसकाे नाम । हिन्दू धर्म मान्ने त्यसमा पनि रामका अनुनायीहरू टाढाटाढाबाट धनुषाधाम दर्शनका लागि आउँछन् । याे धार्मिक स्थल हाे । भक्तजनका लागि मठ मन्दिर छ ।

अब, बल्ल झाजी र मबीच दाेहाेराे वार्तालाप हुन थाल्याे । मैले खुलेर मेराे बारेमा, उनले खुलेर उनका बारेमा बताउन थाल्यौं ।

मैले मेराे लहान जानुकाे उद्देश्य भनेँ । त्यसताका नेपालभर सामुदायिक रेडियाे स्थापनाकाे जनलहर चलेकाे थियाे । गाउँ समुदाय, स्थानीय सरकार, सहकारी र निजी क्षेत्र सबै एफएम रेडियो स्टेसन खाेल्न लागिपरेका थिए । हामी त्याे काममा सीप सिकाउने, कार्ययाेजना बनाउने, व्यवस्थापन र सामाजिक बजार नीति र याेजना बनाउने काममा सघाइरहेका थियौँ । हाम्रा अनुभव साटफेर गर्थ्याै । र, शुरुवाती चरणमा आवश्यक रेडियाे उपकरण खरिद गर्न आर्थिक सहयाेग पनि गर्ने गर्थ्याै । ‘सामुदायिक रेडियाे सहयाेग केन्द्र’ यसका लागि क्रियशील थियाे । जसको नेतृत्व मित्र रघु मैनालीले लिनु भएकाे थियाे । रेडियाे अनुभव भएका म लगायत, घमराज लुइँटेल, भरत भूषाल त्याे टिममा गाेलवद्ध भएका थियाै । याे कामकाे व्यवस्थापनमा अग्रज गाेविन्द पाेखरेलले सघाउनु हुन्थ्याे ।

उसाे त, सामुदायिक रेडियाे स्थापना र विस्तारकाे याे अभियानमा धेरैजना सहभागी थिए ।

‘म लहान त्यही अभियानमा जाँदै थिएँ । त्यहाँ स्थापना हुन लागेकाे समाद एफएमका लागि कार्यक्रम र समाचार निर्माणको सीप सिकाउन जाँदै थिएँ । उसाे त याे काम हामीले जनकपुरमा खुलेकाे रेडियाे जनकपुरका लागि पनि गरेका हौँ ।’ झाजीले बुझेर वा नवुझिकनै वुझे जस्तै गरे ।

झाजी एयरपाेर्ट नजिककै हनुमानगढ गाउँमा बस्दा रहेछन् । खेतीकिसनी बाहेक अन्य सानाेतिनाे व्यापार गर्दा रहेछन् । अर्काे के व्यापार ? उनले बताउन चाहेनन्, मैले पनि जिज्ञसा राखिनँ ।

खल्ड्याङखुल्डुङ बाटाेमा हामीलाई हल्लाउँदै भटभटे अगाडि बढ्दाे थियाे । हामी यसअघिकाे मध्य आन्दाेलनमा जनकपुर पुगेका थियौँ । मित्र रमेश रंजन झाकाे निमन्त्रणामा । उनी त्यस भेगका पुराना पत्रकार, रंगकर्मी र राजननीतिमा पनि सक्रिय । उदेश्य उही थियाे । उनकाे सक्रियतामा खुल्न लागेकाे रेडियाे जनकपुर स्थापना । एउटा सर्वदलीय भेलामा सबै दलका नेताहरु भेला भएका थिए । स्थानीय सामुदायिक रेडियाेकाे महत्त्वबारे छलफल गर्न । भेलामा मधेश आन्दाेलनका मियाे उपेन्द्र यादव पनि सहभागी थिए । दिनभर व्यापक छलफल भयाे । साँझ नपर्दै, सुरक्षा कारण देखाएर साथीहरूले फटाफट  हाेटलमा हुलेका थिए ।

त्यसबेला मधेश आन्दाेलनका बारेमा वेलुकी बसाइमा रमेश रन्जनले निचाेड निकालेका थिए, ‘याे राजनैतिक मात्र हाेईन, साँस्कृतिक, भाषिक, क्षेत्रीय र अधिकारसित गाँसिएकाे छ ।’

मिथिला साहित्य र संस्कृति, त्यसकाे इतिहासकाे सम्बन्ध आन्दाेलनसित जाेडेका थिए । जनकपुरकाे सम्वन्धमा । मिथिला राज्य र मिथिलाञ्चलका बारेमा पनि धेरै कुरा वताए ।

हुन पनि, याे एउटा देशसित मात्रै गाँसिएकाे मुद्दा हाेइन रहेछ । रेडियाे जनकपुरबाट मिथिला भाषामा गीत र कार्यक्रम वज्न थालेपछि विहार, भारतबाट एउटा गाउँका मुखिया आफै  खुसीले वधाई दिन हामी हुँदै त्यहाँ आइपुग्नु प्रमाण हाे । उनी खुसीले गदगद थिए ।

मनमनै पुराना कुरा सम्झँदै थिए, झाजीले घ्याच्च माेटरसाईकलमा ब्रेक लगाए । अब झिसमिसे साँझ परिसकेकाे थियाे । आँखा अगाडि दृश्य धमिलाे हुँदै थियाे । उनले हातकाे आैला तेर्साएर केही पर देखाउदै प्रष्टयाए, ‘त्यहाँ डा. रामवरण यादवकाे गाउँ । सपही गाउँ । उनकाे जन्मस्थल । भूतपूर्व राष्ट्रपति डा. रामवरण यादवकाे जन्मभूमी । हामी त्यसलाई कुनाे पारेर अगाडि बढ्यौँ ।

अब, भटभटेले पनि आँखा देख्न छाडेकाले हेडलाईट बल्याे । केही घरमा वत्ती वलेकाे एउटा वस्ती हाम्राे बाटाेमा आयाे । झाजीले पान पसल फेला पारिहाले, एक मुठाे पान मुखमा हाले । पान पसल भेटिँदा उनी जत्ति खुसीले उज्यालाे हुन्थे, म उत्ति नै डरले अँध्यारो । यसरी, हाम्रो भटभटे यात्रा कमला नदी किनार आइपुग्याे । धेरै वस्तीहरू पार गर्दै । हामी सुरक्षित नदी किनारमा एकछिन बिसाउन उत्रियौँ । मैले लामाे सास फेरेँ । अब खतरा टर्याे । अहिलेसम्म हामीले पार गरेका सबैजसाे गाउँहरु लगभग पूर्णतः मधेसी गाउँ थिए । आन्दोलनका केन्द्र थिए ।

झाजीप्रतिकाे मेराे विश्वासको मिटर अब निकै माथि चढिसकेकाे छ । म लहान पुग्छु भन्ने आधार बलियाे वन्दैछ । अनि, नहर किनारै किनार हामी चुपचाप उत्तरतर्फ लाग्न थाल्यौँ । छेउमा कमला वगिरहेकै थियाे । नदीकाे पानी आकाशमा लागेकाे जुनकाे उज्यालाेमा टल्किरहेकाे थियाे । हेर्दाहेर्दै, हामी पूर्व पश्चिम राजमार्गमा पुगिसकेका रहेछौँ ।

यहीँबाट अलिक पर, चुरे पहाडकाे फेदमा वाँध बाँधेर कमलालाई थुनी नहर सिंचाइ गरिएकाे छ । जसको अन्त्य पारहर्वा गाउँमा गएर हुन्छ । पारहर्वा भएर जनकपुर जयनगर चल्ने रेलमार्ग पनि छ । जनकपुरबाट हिँडेकाे रेलले यहाँ दाेश्राे विश्राम लिन्छ ।

अब, हामी खुला राजमार्गकाे खुला बाटाेमा वेतोड हुइँकिन थाल्यौं । गाडीकाे आवतजावत थिएन । मधेश आन्दाेलनकाे प्रतिफल । वेराेकताेक, अँध्याराेलाई छिचाेल्दै हामी मधेश आन्दाेलनकाे उद्गम लाहान बजारकाे उज्यालाेमा छिर्यौँ ।

हाम्रो चिन्तामा बसेका रेडियाेका साथीहरुसित भेटघाट भयाे । झाजी आफ्नाे वाहन सुमसुम्याउदै थिए । रातकाे खानपिन र वासकाे व्यवस्था भइसकेकाे रहेछ । मैले चारैतिर नजर घुमाएँ । म लहानमै थिएँ । म लहान पुगेछु ।

बिहान उठेर, झाजीलाई धन्यबाद दिन जाँदा, उनी झिसमिसेमै आफ्नाे बाटाे लागिसकेछन् । जसरी आए, त्यसरी नै गइसकेछन् ।

Facebook Comments