अचम्मको जीवन लाग्न थाल्यो
बुढ्यौली कविता शृङ्खला -२५
आँखा नदेख्ने कसले बनायो
कुप्रेर हिँड्ने दिन के गरायो
उमेर गन्दा भय लाग्न थाल्यो
अचम्मको जीवन लाग्न थाल्यो । १
खोला र नाला तरियो अनेक
डाँडा र पाखा झरियो अनेक
साँच्चै कुरा होइन लाग्न थाल्यो
अचम्मको जीवन लाग्न थाल्यो ।२
भाले न बास्दै उठियो बिहान
अनेक धन्दा गरियो तमाम
किस्सा भनेकोसरि लाग्न थाल्यो
अचम्मको जीवन लाग्न थाल्यो ।३
बोकेर भारी पथमा हिँडेको
पानी र बर्षा कति हो रुझेको
म जान्न गोडा अब भन्न थाल्यो
अचम्मको जीवन लाग्न थाल्यो ।४
चाहिन्छ लठ्ठी पर सर्न आज
गाइन्न खै गीत कता अबाज
खेलेर बित्ने वय त्यो कता गो
अचम्मको जीवन लाग्न थाल्यो ।५
भोकै बसिन्थ्यो दिन चारसम्म
मकै मुला टोक्न मिले गजम्म
अचार गर्दै अब निल्न पर्दो
अचम्मको जीवन लाग्न थाल्यो ।६
देखे चिनिन्थ्यो पर दूरसम्म
ठम्याउनै पर्छ अहो अचम्म
रुमाल चस्मा सब साथमा छन्
अचम्मको जीवन लाग्छ यो झन् ।७
साथी कहाँ छन् पहिले मिलेका
चिन्दैन कोही अहिले बढेका
नयाँ जमाना अब हेर आयो
अचम्मको जीवन लाग्न थाल्यो ।८
कहाँ थिए फोनहरू अगाडि
सञ्चारका साधन , चल्छ गाडी
नौलो जमाना अब हेर आयो
अचम्मको जीवन लाग्न थाल्यो ।९
कैयौं पलाए नव मञ्जरी ती
ठुटो बुढो भो रुख दुःख पाई
डाला अनेकौं कसले गिँडायो
अचम्मको जीवन लाग्न थाल्यो ।१०
नयाँ सिँगार्छन् मल खाद भर्दै
शिक्षा र दीक्षा उसमा चहार्दै
बिर्से पुरानो जग के चलायो
अचम्मको जीवन वृद्ध लाग्यो ।११