बोलाउँछु फोन गरेर
बुढ्यौली साहित्य शृङ्खला - १७
घुम्ने यही समय चक्र समान आयु
फोका समान जलको मिसिएर वायु
कस्ता वसन्तसरिका दिन ती अघिल्ला
मानौँ भयो शिशिर याम हरे पछिल्ला ।१
कविता
मेरा थिए मखमली परिधान कस्ता
मैले लगाइन कुनै पनि वस्त्र सस्ता
मेरा थिए कति थरी शिरफूल हार
फेरेर लाउन दिने सँगमा पियार ।२
माया गरेर रहने हितका पियारा
श्रीमानले थपिदिने शिरमा सितारा
सेना विदेशतिरका पति देव मेरा
चाँदी हिरा सब थिए गहना र पेवा ।३
खै त्यो गयो अब सबै कुन ठाउँ पाखा
माया गयो अझ भनौं अब मात्र आशा
मेरा बुवा अघि गए पछिबाट आमा
बाटो उतैतिर गरे न त फर्किनेमा।४
त्यो राजसी खटनको सब सम्झना छ
ताजा अझै झलझली छ दुरुस्त छाप
आकाशमा कति चढ्यौं द्रुत वायुयान
श्रीमान जानु भइगो भवको विधान ।५
आयो अहो अब त याम बुढ्याइँ मेरो
आफ्नै सबै निकट गाउँ भयो अँध्यारो
छोरी बिहे गरिदियौं गरी काम धारा
पन्छाइयो अब त मातृक कर्म सारा।६
माया गरेर अघि पुत्र बडा गरायौं
भन्दैछ आज उसले किन फेरि पायौ ?
स्याहार गर्न त कता पर तीन हात
आउन्न खै अब उही किन बस्न काख ?७
मागी बिहे गरिदियौं कुल इष्ट रोजी
कान्छी लिएर पर बस्छ रहेछ भोगी
हुर्केर नाति पनि पुत्र समान देख्छु
बाबा कतातिर गयो ? अझ प्रश्न सोध्छु ।८
बाबा मुमा गुरुकनै जब दोष दिन्छ
बिग्रेर बुद्धि खुदले दुख दर्द भोग्छ
जन्जाल थप्छ शिरमा अनि कर्म मेरो
कस्तो अचम्म भगवान छ कर्म फेरो ।९
पर्दैन पुत्र नजिकै किन आजभोलि
भार्या उसै पर परै मन भाँत रोगी
सुन्ने कुनै अब त छैन यता मलाई
यो दर्द खै अब कता म भनौँ र हाई ? १०
बोलाउँदी अझ म फोन गरेर आऊ
मेरो यही मुटु भरिन्छ दुखेर घाउ
खै छैन फुर्सद अरे दिन रात काम
माया अझै शिव हरे किन पुत्र नाम ?११
चल्दैन दीर्घ भुज लाग्छ छ पक्षघात
जाऊँ जचाउन भने कुन सुन्छ बात
पैसा थियो अलिकता छ कता कता खै
ताल्चा लगाइछ अहो र वधू कता गै ?१२