परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

देउवा दाइसंग अनुनय विनय !

फुटानी

हाम्रो नेपाली कांग्रेसको सभापति शेरबहादुर दाइले प्रचण्ड र माधवलाई अस्ति बुधवार मुखभरीको जवाफ दिएछन् नि थाहा पायौ काका!

परैबाट पो बोल्न थालिस त भिरघरे । आइज, बसेर कुरो गर्न । मुखभरीको चै के जवाफ दिएछन् खुलस्त भन त भिरघरे । प्रचण्ड जस्ता जाज्वाल्यमान नेतालाई देउवाले जवाफ देको त म पत्याउदिन तैपनि कुरो चंै सुनौ न ।

देउवालाई फकाउन तिम्रा नेता हुल बाँधेर देउवा दरवार पुगेछन् । ताहाँ उप्रान्त देउवालाई सास्टङ्ग दण्डवत् गरेर सहयोगको भिख मागेछन् । देउवाले पनि प्रचण्डतर्फ रातो रातो आँखा बटारेर हेर्दै ‘तम्रो विश्वास गर्न सकिदैन । तमी भनेका विश्वास घाती, पिँद नभएका लोटा हौ ’ भनी दिएछन् ।

वाइयात कुरो नगर्न भिरघरे । देउवाले कता प्रचण्डलाई त्यसो भन्न सक्छन् ? तँ पनि कुरो बनाउन त खुब जान्दछस् ।

कता कुरो बनाउनु ! विश्वास लागेन भने लु यो पत्रिका हेर ! मैले लेखेको हो र ।  म त यति खुशी भएँ । खुशीले गर्दा मैले त यहीबाट ‘जै नेपाल दाइ’ पो भनी दिएछु।

पढ पढ बुढा के लेखेको छ । म पनि पो सुन्नु पर्‍यो । कुरो गजबकै हो कि क्या हो !

हो नि काकी ! फकाउन गा’का ! चुनाप भयो भने मिलेर उठ्नु पर्छ, चुनाव भएन भने तपाईं प्रधानमन्त्री बन्नु होस् भन्न पुगेछन् । प्रचण्ड र माधवले आफ्नो धरातल थाहा पाए जस्तो छ ।

ठिक भनिस् भतिज । दुइटैलाई प्रधानमन्त्री हुने हतारो थियो । अब हुन्छन् प्रधानमन्त्री !

नकरा झुम्री ! बेकारमा बाठी हुन्छे । हेर भिरघरे ! समाचार चैं पत्रिकाले लेखेछ । तर त्यति पत्यार लाग्दो छैन ।

होइन हौ काका ! प्रचण्डको कसरी विश्वास गर्नु ! स्थानीय निकायको चुनापमा हाम्राले भोट हालेको होइन र ! सत्तामा कांग्रेस संगै थिए, प्रदेश र प्रतिनिधि सभाको चुनापमा त ओलीसंग लिपिक्क टाँसिन पुगेका । यिनको विश्वास कसरी गर्छन, देउवा दाइले । हाम्रा गिरिजाबाबुलाई राष्ट्रपति बनाउने भनेर थाङ्नामा सुताउने यिनै होइनन् र ।

बुझी-बुझी किन कुरो बटार्छौ हौ काका ।

त्यति मात्र हो र भतिज । ओलीसंग कहिल्यै यिनले सैद्धान्तिक कुरो गरेनन् । सङ्गठन निर्माणका कुरा गरेनन् र माओवादी कार्यकर्ताको लिष्ट समेत बुझाउन सकेनन् यिनले । यो कुरो अमृत बोहोराले पोहोर नै भनेका होइनन् र ।

हेर झुम्री ! केही कमी कम्जोरी रहे । अब देउवा पनि चाहिन्छ । प्रचण्ड अब दह्रो भएर आगडि बढ्छन् । माधव नेपालको काँधमा बन्दूक राखेर प्रचण्डले ‘टाइगर ’ दबाए पछि नाथे ओली देउवा कता पुग्छन् कता पुग्छन् । अच्छा यो कुरो छोडौं । बरु भिरघरे ओलीले भारतको कुन चैं टेलिभिजनलाई अन्तर्वार्ता देको थियो अरे । अहिले पनि बजारमा त्यसकै चर्चा छ भन्छन् के र’छ त्यो अन्तर्वार्ता ?

अन्तर्वार्तामा भारत र हामी समान हौं । भूगोल र जनसंख्याको आधारमा राष्ट्र (देश) ठूलो-सानो हुन सक्छ तर राष्ट्रको रुपमा हामी समान हौं, हाम्रो सार्वभौम राष्ट्र कहिल्यै कसैको गुलामीमा परेन, बरु भारत पर्‍यो, सधैं हामी समान हौं । हामी कसैको हस्तक्षेप सहदैनौं । तसर्थ भारत हाम्रो छिमेकी मित्र राष्ट्र मात्र हो भनेर एक खालको धम्की मिश्रित सन्देश दिए । वास्तवमा त्यत्तिको दह्रो र खरो नेपालका कुनै नेताले बोलेको थिएन ।

अनि हाम्रो प्रचण्डहर्ले त्यो अन्तर्वार्ता सुनेर के प्रतिक्रिया दिए त !

काका ! प्रचण्ड पनि दुई पटक प्रधानमन्त्री भए होइन र ! त्यस बेला कुन चंै ऐतिहासिक काम गरे ? गफले च्यूरा भिज्दैन काका ! चुच्चे नक्शा भन कि, चीनसंगको सन्धी भन कि, नाकाबन्दीको अडान भन कि, सीमा सम्बन्धीको पत्रचार भन कि ओलीकै पालामा ओलीले नै गरेका होइनन् र ! अहिले आएर ओलीले भारत र चीनलाई हाम्रो सार्वभौम सत्ता र भूमी अखण्डताको पाठ पढाई रहेका छन् । प्रचण्ड र माधवले उच्चारण समेत गर्न सकेनन् । अहिले त यो काम चलाउ ओली सरकारले भारतबाट लुपुलेकहरु फिर्ता ल्याउने सम्झौता गर्‍यो भने पनि हामी मान्दैनौं भनेछन् ।

होइन भिरघरे ! तँ कांग्रेस होस् कि ओलीको भक्त ? यदि ओली भक्त होइनस् भने देउवाको गुणगान गर्न !

लुकार बोल्दिन काका ! भा’को कुरालाई भाकै हो भन्नुपर्छ । मरेर जानेको कुरा नगरौं बाँचेका पूर्व प्रधानमन्त्री देउवा, दाहाल, नेपाल, खनाल, भट्टराईहर्ले कुनै ऐतिहासिक काम गर्न सकेनन् । बाबुराम र पुष्पकमल अस्तिर अविश्वासी र अराजक हुन् । हाम्रा देउवा दाइले पनि प्राडो र पजेरोमा बस्ने काम बाहेक केही गरेनन् । झलनाथ र माधवले फोटो झुण्डाए, त्यति नै हो ।

भिरघरेले कुरो त ठिकै गर्‍यो, बुढा ! कि यस कुरालाई पनि होइन भन्छौ ।

होइन पनि कसरी भन्नु झुम्री ! मलाई ओलीको अनुहार मन पर्दैन क्या । ओलीले राष्ट्र र जनताका हितमा काम गरे पनि हामी माओवादीको स्कुलिङ ओलीको विरोध गर्ने र नेकपा एमाले समाप्त पार्ने नै हो । त्यसमा केही हदसम्म सफलता मिलेको छ ।

देखिस् भरिघरे अनुहार मन पर्दैन भनेर पो ओलीको विरोध गरेको अरे ।

काका ! अब प्रचण्डका दिन सकिए । हाम्रो देउवाले समेत पत्याउन छाडे । ब्यक्तिगत हिसाबले भन्नु पर्दा अरुको त भविष्य नै थिएन माधवले चैं आफैंलाई समाप्त पारे । ३५ वर्ष अघिदेखि प्रचण्डले कसैलाई आफू भन्दा अगाडि भा’को कहिल्यै सहन नसकेको कुरा उनको इतिहास हेरे पुग्छ ।

त्यो त हो है भिरघरे ! निर्मल लामा, मोहन बैद्य, बाबुराम, मसालको मोटो श, पातलो स, नेकपा माओवादी, माओवादी केन्द्र ओल्लो गाउँ-पल्लो गाउँ मिले जति आफै खाउँ भन्ने हाम्रो प्रचण्डले आफ्नो नीति नै बनाएका छन् । अब पालो माधव नेपालहर्को चिलिम फर्काउने हो ।

तिमार्को नीति नै नेपालबाट कम्युनिष्ट समाप्त पार्ने र असफल राष्ट्र बनाउने हो । भारतले त्यसकै लागि तालिम दिएर पठाएको होइन र। सप्पैलाई थाहा छ ।

यो झुम्री पनि नभाको कुरो गर्छे ।

हेर काका ! प्रधानमन्त्री बन्न प्रचण्डलाई सारै हतार भाको थियो । ओलीले जनताले मत दिए भने प्रधानमन्त्री बन भनेर बाटो देखाई दिए। अहिले पसिना छुट्यो र देउवालाई अनुनयविनय गर्न पुगे । पदका लागि होइन पनि भन्ने अनि पद बाहिर एकछिन पनि बस्न नसक्ने प्रचण्ड प्रवृत्ति अब सदाका लागि समाप्त हुन्छ । हाम्रो देउवा दाइ जिन्दावाद ।

काकीले के भनेकी भन्लास् मलाई त ओलीकै पार्टी पहिलो बन्छ जस्तो लाग्छ ।

ठिकै हो काकी ! कि देउवा कि ओली ! यी दुई बाहेक अरुलाई जनताले पत्याउने वातावरण अहिलेसम्म देखिदैन । लु घाम त उ माथि पो पुगी सकेछ । म मेलातिर लागें ।

जै नेपाल !

Facebook Comments