परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आन्दोलनको अपिल

आयो, आयो, आयो, आन्दोलनको मौसम आयो
आ–आफ्नो भाग्यको ढोका खोल्ने मौका आयो !

 

चुह्लै निम्तो छ— आउनुहोस्
मौकाको फाइदा उठाउनुहोस्
नाम, दाम कमाउनुहोस्
आन्दोलनमा सहभागी हुनुहोस्
देश विकासको कुरा सिक्नुहोस
बम्पर उपहार जित्नुहोस ।

 

व्यङ्ग्य

चट्याङमास्टर

लाखौँ पर्चामा तपाईंको नाम छापिन्छ
एकै दिनमा खुब नाम कमाउन पाइन्छ
समाचारको बिषय बन्न पाइन्छ
टिभीले गचक्कअनुहार देखाइदिन्छ
आफ्नो दिउँसोको सडक तमासा राती घरै बसी हेर्न पाइन्छ
एकैदिनमा जिरोबाट हिरो बन्न अन्त कहाँ पाइन्छ ?

 

घाइते हुनुभयो भने अखबारमा फोटो छपाइन्छ
मान्छे मार्नुभयो भने तपाईंलाई महान नेता बनाइन्छ
भोलि मन्त्री, प्रधानमन्त्री बन्न पाइन्छ !

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

अरुले तपाईंंलाई मारे परिवारले दश लाख पाउँछन्
गाउँ–सहरमा तपाईंको शालिक बनाउँछन्
महान् सहिदको पदवी थप दिलाइन्छ
दुवै हातमा लड्डु हुने यस्तो मौका कहाँ पाइन्छ ?

 

तपाईं मरे तपाईंंको नाममा नारा लगाइन्छ
तपाईंंलाई अमर बनाइन्छ
तपाईंंको लाश बोकेर सहर डुलाइन्छ
तपाईंंको लाश त्यस्सै किन जलाइन्छ ?
पार्टी कार्यालयमा राखेर कैयौं दिन कुहाइन्छ
दुर्गन्ध हटाउन धुप धुवाँइन्छ
फूलमाला चढाइन्छ
जलाउने बेला दुर्गन्ध छोप्न पार्टी झण्डा ओढाइन्छ
तपाईंलाई अमर बनाइन्छ !

 

सहभागीले खेलका सरल नियम मान्नुपर्ने छ—
पुलिस देखे ढुङ्गा हान्नुपर्ने छ
साइकल गुडेको देखे ढाल्नुपर्ने छ
मोटर या मोटरसाइकल गुडेको देखे आगो बाल्नुपर्ने छ
पसल खोलेको देखे लुट्नुपर्ने छ
पसलेलाई कुट्नुपर्ने छ
हिँड्नेसँग चन्दा माग्नुपर्ने छ
नदिनेको ढाड भाँच्नुपर्ने छ ।

 

आज एक दिन मात्रै बाँकी छ
आउनुहोस्, आउनुहोस्
मौकाको फाइदा उठाउनुहोस्
नाम कमाउनुहोस्, दाम कमाउनुहोस्
टिभीमा अनुहार देखाउनुहोस्
आफू मन्त्री, प्रधानमन्त्री बन्ने बाटो समाउनुहोस्
मरे पनि, बाँचे पनि, दुबै हातमा लड्डु समाउनुहोस्
अमर हुने मौका हत्तपत्त आउँदैन
जिन्दगीभरि तपस्या गर्नेले पनि यस्तो मौका पाउँदैन !

 

छिटो गर्नुहोस्, यस्तो मौका नगुमाउनुहोस्
आफ्नो भाग्यको आफैँ ढोका खोल्नुहोस्
हाम्रो आन्दोलनमा आजै सहभागी हुनुहोस् !!

Facebook Comments