प्रविधि र बुढ्यौली पीडा
मन्दाक्रान्ता छन्द
हाम्रो पुस्ता कठिन दुःखमा हेर पर्दै रहेका
बुढ्यौलीका दुःखद भुमरीभित्र नाच्दै रहेका
आफ्नै बासा पनि शिव हरे झ्यालखाना बनेका
कस्ले बुझ्ला कठिन पल यी बृद्धसाथै बितेका ।१
हाम्रो पुस्ता प्रविधि युगको गर्न जान्दैन योग
मैले भोगें कति कठिनता त्यो नजानी प्रयोग
मेरा जस्तै अधिक दुःख यी भोग्छ यो वृद्ध पुस्ता
बुढ्यौली साहित्य श्रृङ्खला—११
बिस्तारैमा अब सब कुरा खोल्छु मेरा कथाका ।२
भान्सा गर्ने नव चलन यो ग्यास चुल्हो म बालौं
जल्ने हो वा मन मन निकै लाग्छ शंका नबालौं
तातोपानी अलिकति पिऊँ के छ सामान काहाँ
चाँजोपाँजो रख धरनको खै कुनै छैन थाहा ।३
बत्ती बिग्रे चिम र बिजुली बल्ब फेर्नै छ गाह्रो
अग्लामा छन् सबतिर यिनै होल्डरै पुग्न गाह्रो
खाली टंकी अब सब भयो के गरी चढ्छ पानी
पानी भर्ने कुन बटन हो लौ सिकाऊ त नानी ।४
न्वाऔं लाग्ने हर दिन बिहानै उठी सौच साथ
तातोपानी अलिकति कसैले दिए हुन्छ लाख
जाडो कस्तो लुग लुग हुने यो चिसो ठंड पानी
तातो गर्ने सरल तरिका के छ होला नजानी।५
कोही नाता पर मुलुकमा बस्दछ्न् के छ हाल
सोच्दै बित्छन् समय नमिली फोनमा बुझ्न चाल
फोनै गर्थें तर अब त खै के गरी फोन लाऊँ
गाह्रो साह्रै अब त हुनगो फेस्बुकै छैन भेउ ।६
चौडा आयो अब नव टिभी खै कता के दबाऊँ
अंग्रेजीमा सब जन रमे के बुझौं मै रमाऊँ
नेपालीमा अब गर त लौ भन्न काहाँ म जाऊँ
कस्तो कस्तो प्रविधि अब यो खोल्न को को समाऊँ।७
पैले शिक्षा अति कम हुँदा पत्र बाँच्नै नसक्दा
आमा जान्थिन् खुरुखुरु उता हात जोड्दै अरूका
केही पढ्ने अब त भइयो यो म सोची रहेथें
धेरै बाँकी प्रविधि छ नयाँ सिक्न पो रैछ गाँठे।८
एक्लै बस्दा कठिन छ निकै मन्दिरै जान आँटें
बाटो काट्ने सरल तरिका छैन थाहा म थाकें
टाढा पर्ने यदि बस चढे छैन भाडा गरौं के
हिँड्दै जाँदा भ्रम पनि हुने फर्किने ठाउँ बिर्से।९