कठै हाम्रा काम्रेड! कठै एक व्यक्ति एक पद!
फुटानी
झुम्री लु अब कुम्लो–कुटुरो, पोको–पन्तरो ठीक पार । जानु पर्छ काठमाडौं । यो उपल्लो डोल्पाको भेडी गोठमा बसेर उभो लागिदैन । यस्ता एकोहोरो भेडाको झुण्डमा बसेर मेरो दिमाख पनि बोझिलो हुदै गएको छ ।
बुढा तिम्रो दिमाख बोझिलो भएको होइन खुस्किए छ । यत्रो भेडाहरु छोडेर एक्कासी काठमाडौं जाने कुरो सद्धे दिमाखले गर्दैन ।
हावा कुरो नगर झुम्री ! उहाँ हाम्रो नेताहर्ले ‘पदको वार्गेनिङ’ होइन, पदमा हाम्रो कुनै लालच छैन, हामी सिद्धान्तको वहसमा छौ’ भनेका छन् । यसो उहाँ भनसुन गर्न पाए उस्तै पर्दा मन्त्री नभए पनि राष्ट्रिय सभाको माननीय कसो नपढ्काइएला । आखिर हाम्रा नेताहर्ले पदको लोभ नगरेपछि पालो हामी कार्यकर्ताकै त हो ।
नाप्पियो ! तिम्रा नेताहर्को कुरो पत्याएर बसी राख । भाग पुगेन भनेर उहाँ काटामार गरी राछन् । युवराज खतिवडाको ठाउँमा बामदेव बड्डालाई राष्ट्रिय सभाको सदस्य बनाउने अरे । पार्टीले निर्नय गरिसक्यो अरे । तिमीलाई पार्टीको रनाहा र बुकी फूलको गन्धले लठ्ठ पारेको छ ।
होइन के भन्छे यो झुम्री ! अस्ति ताका त पदका लागि होइन भनेर तम्मास गर्दै थिए । अनि हौ प्रचन्न माधवहर्ले केही भने नछन् ?
के भन्नु तिम्रा प्रचन्न सर्वहारा वर्गका नेता अर्काका घराँ बसेका छन् रे । ठेकेदारको घराँ ! विचरा त्यही ठेकेदारलाई दुई चार अरबको काम मिलाई दिएर सुरुबुरु खाँदै छन् रे । कति खान्छन् र चरा होइन मुसा होइन वर्षको १०–२० अरब भए टुमटुम पु¥याउँछन् । अनि ओलीको छेउमा के बोल्नु !
चुप लाग झुम्री ! ‘सटाइर’ हानेर नबोल । हाम्रा प्रचन्न त्यस्ता नाई । दुईचार पैसामा लोभ गर्दैनन् । कुम हल्लाउन छोडी सकेका छन् । बेलुका यस्सो सितनसंग अलि कति खान्छन् । पार्टी पो छैन त अर्थोक त छ नि । अहिले ओलीले गर्दा कक्रिए जस्ता भा’छन् । ओलीले नै हाम्रो माओवादी समाप्त पारेको ।
ओलीको कुरा के गर्छौ प्रचन्नको पहिलाको कुरो सम्झ न । रुकुम रोल्पातिर तिमी पनि बन्दूक पढ्काउँदै चन्दा नदिनेलाई समाप्त पार्दै, लुटेर खाँदै हिडेका होइनौ ?
पहिला केके गरियो–गरियो । अहिले सम्झिदा पनि कहाली लाग्छ । हामीले साँच्चैको क्रान्ति ठानेका थियौं । भरे त ठट्टा पो र’छ । बाठो र बुझेकाहर्ले त मज्जाले कमायो नि । म जस्ता त हजारौं समाप्त भए । हामीले बैंक लुटेको, जबरजस्ती चन्दा असुलेको पैसा लगेर थुप्रैले काठमाडौमा घर र जग्गा किनेर राखे छ । त्यस बेला कठैबरा ! भनेका हाम्रो काम्रेडहर्को पुगी सरी आको छरे !
तिमी जस्तो धेरै छन् । मुठ्ठी भर मात्रै सम्पन्न भए । तर, समय आउँछ तिनार्लाई झ्यानकुल्टुङ पारेर लगेको देखिने छ ।
भयो छोड्दे यो कुरा ! अब बामदेव बड्डा मन्त्री बन्ने रान !
खै बन्न चै बन्ने भए । के बन्छन् त्यो चै थाहा छैन । एक व्यक्ति एक पदको कोकोहोलो मच्चाउँथे अहिले पद ताकेछन् । ताक परे तिवारी नत्र गोतामे ।
अनि माधव नेपाल बोले कि नाई ! केही थाहा पाइस् !
माधव नेपाल, प्रचन्न बोल्नु र नबोल्नुको अर्थ नै के रह्यो र ! ओली बोले पछि सकियो । अहिले नेकपाको राजनीतिमा ओली बाहेक अरु त ‘ऐरे गैरे नत्थु खैरे’ भएका छन् । ‘लोभ नगर्ने’ माधव नेपाल त खुम्चिएर बसे । अरु लेनदेनका हिसाव कितावको के कुरा !
भनेपछि अहिले हाम्रो प्रचन्न काम्रेडको कुरा पनि बिक्तैन भने म काठमाडौं जानै परेन ।
ए बुढा ! उ… तल आउने हाम्रो लाक्पा होइन ?
लु …. आज तेरो भाइ भारी कसेर आए छ । अरु जे सुकै होस् कुख्राको भाले र रक्सी ल्याएछ भने पुग्यो, रमाइलो हुन्छ ।
जस्तो नेता त्यस्तै कार्यकर्ता । यहाँ ढिडो खाने पिठो सकिराको छ तिमीलाई प्रचन्नको स्वाङ !
भारी समाई देउ त दिदी ! दुई दिन भो दुनै सदरमुकामबाट हिडेको । भारी कमता गरौं छैन फेरि !
यता राख यता ! हैन के के ल्याइस लाक्पा नेताहर्ले सोरपटार पारे जस्तो गरी यति धेरै !
पिठो, चामल, सातु, रक्सी, भाले, भुटेको मकै, आलु सबै ल्याएको छु ।
लु हौ तँलाई थेङक्यू छ । कस्तो राम्रो बेलामा ल्याइस् । लु बसेर राजनीतिक बात गर हौ ! तैले त सदरमुकाम दुनै बसेर थुप्रै बुझेको छस् !
यो नेपालमा राजनीति भन्ने कुरो ओली बाहेक कसैले बुझेको छैन । ओलीको मनमा के छ भोलि हुने त्यही हो ।
अनि हौ लाक्पा ! मन्त्री मण्डल चेनफेन हुने भन्दै छ । को को हुने भए छ ?
केको चेनफेन हुनु नि ! त्यही खाली भएका अर्थ, संचार र शहरी विकास मन्त्री नियुक्ती हुन्छ । सबै चुप । ओली बाठा रान !
त्यसो भए हाम्रो प्रचन्न ओत लाग्न छाहारी खोज्दै गएका थिए भिजेर मुस्सो भए हैन त ! ‘अघि जजमान जानेन पछि पुरेत मानुन, बाघ लाग्यो घिच्याउन, मुर्ख लाग्यो गिज्याउन’ कठै ! हाम्रा काम्रेड !