परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोनाकालमा प्राज्ञिक गतिविधि

काठमाडौँ । त्रिविका १९ ओटा क्याम्पसहरूमा एम.ए.मा अर्थशास्त्र अध्ययन अध्यापन हुन्छ । लकडाउनको समयमा हाम्रा विद्यार्थी र प्राध्यापकहरूलाइ मोनोटोनस नहोस्, घरमा बस्दा बस्दा दिक्क नलागोस् र आपूmले जानेका ज्ञान अरुमा पनि बाडौँ भन्ने उद्देश्यले ती क्याम्पसका प्राध्यापक र विद्यार्थीहरूलाई संयोजन गरेर लकडाउनको सुरुवातसंगै चैत्र १४ गतेबाट जुम मार्फत विभिन्न कक्षाहरू र बहसहरू चलाउँदै आएको छु । हालसम्म ८१ ओटा कक्षाहरू सम्पन्न भए । नेपालमा कर (Tax) का बारेमा धेरैलाई बुझाउनुपर्ने आवश्यकता महशुस गरेर सुरुका एक दर्जन जति कक्षाहरू करसँग सम्बन्धित रहेर विभिन्न क्याम्पसका प्राध्यापक, अर्थविद् र कर विभागका प्रमुख लगायतबाट सम्पन्न भइसकेका छन् ।

त्यसपछि दोस्रो चरणमा कोरोनाले अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा पारेको प्रभावका बारेमा बहस गर्न सम्वन्धित क्षेत्रका विज्ञहरूले बहसमा भाग लिइसक्नु भएको छ, जसमा बैङ्किग क्षेत्रमा पारेको असरका बारेमा बहस गर्न पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री, योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेश चन्द्र देवकोटा, औद्योगिक क्षेत्रमा पारेको प्रभावका बारेमा हेटौडा औद्योगिक क्षेत्रका प्रमुख, कृषि क्षेत्रमा पारेको प्रभावका बारेमा पुर्व मन्त्री एवं ड्रागन फ्रुटका उत्पादक लोकेन्द्र विष्ट मगर, उर्जा क्षेत्रमा पार्ने प्रभावका बारेमा पुर्व उर्जा मन्त्री जनार्दन शर्मा, राजस्वमा पर्ने प्रभावका बारेमा अर्थविद्हरू डा. डिल्लीराज खनाल र डा. चन्द्रमणी अधिकारीले बहसमा भाग लिइसक्नुभएको छ ।

तेस्रो चरणमा तीनै तहको बजेटका बारेमा छलफल गर्न सातै प्रदेशका अर्थशास्त्रीहरू, लोकल सरकारका प्रतिनिधिहरू, नेपाल सरकारका राजस्व सचिव रामशरण पुडासैनी, पुर्व अर्थ सचिवहरू रामेश्वर खनाल, कृष्णहरी वास्कोटा, डा.सान्तराज सुवेदी, पुर्व अर्थमन्त्रीहरू डा.प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टले कार्यक्रममा भाग लिइसक्नुभएको छ ।

चौथो चरणमा सबै क्याम्पसका प्राध्यापकहरू, विद्यार्थीहरू र विद्यालय शिक्षहरूको समेत आग्रहमा शिक्षासंग सम्वन्धित रहेर कार्यक्रम सम्पन्न गर्ने सोच अनुसार त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुषाल, शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटा, त्रिविका डीनहरू, सबै प्राध्यापकसंघका सभापतिहरू आएर बहसमा भाग लिइ सक्नु भएको छ ।

त्यसपछि अनलाइन शिक्षा र परीक्षाका बारेमा सम्वन्धीत क्षेत्रका विज्ञहरूबाट पनि प्रसस्तै कक्षाहरू सम्पन्न भएका छन् । पाँचौ चरणको कार्यक्रम अन्तर्गत भाद्र १५ बाट २१ सम्म लगातार रिसर्चसँग सम्वन्धीत रहेर नेपालका मुर्द्धन्य विज्ञहरूबाट सम्पन्न गर्ने गरी एक हप्ते रिसर्च प्याकेज कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिम प्रसाद सुवेदीले  मन्तव्य दिनु भयो । विज्ञहरूमा प्रा.डा. चैतन्य मिश्र, प्रा.डा. मनप्रसाद वाग्ले, प्रा.डा.वासुदेव काफ्ले, प्रा.डा. महानन्द चालिसे, प्रा.डा. शिवराज अधिकारी र प्रा.डा. ध्रुब कुमार गौतम रहनुभएको छ । कार्यक्रममा Zoom को क्षमता ३०० बाट बढाएर ५०० बनाउँदा पनि सबै सहभागीहरूलाई अटाउन सकिएन भने फेसवुक लाइभमा २५००० सम्म भ्यु भएकोले कार्यक्रम उत्साहजनक भएको मैले महसुस गरेको छु ।

यो कार्यक्रम आफ्नै खर्चममा सञ्चालन गरी सहभागीहरूका लागि निशुःल्क उपलब्ध गराइएको छ ।

 

Facebook Comments