जिन्दगानी बनाऊ
कविता (छन्द: शोभा)
रमाई माटोमा लुटुपुटु गरदै खेल्न बाटो खुलाऊ
गरी गैह्री खेती लहलह बिरुवा धान-बाली झुलाऊ
धरा यो धामै हो सबतिर मनुवा सिर्जनामा भुलाऊ
सजी लाली चम्पा सुमनहरू सदा स्वर्णका नै फुलाऊ॥१
परेका चिन्तामा विगलित बिचरा लोकलाई हसाऊ
गयो खाल्टोनेरै मुलुक पनि अहो ! ओत हाली बचाऊ
सुकेका नेपाली पक पक छ हरे ! आँत सारा रसाऊ
उमारी माटोमा अविरल जुटी लौ सुधा नै खसाऊ॥२
विदेशी माटोका सुजन घर फिरे बस्न चाँडै सघाऊ
बढेको चौतर्फी जति कहर भयो व्याधिको नै भगाऊ
गरी खाने बस्ने सुगम र दिगो काम खोजी लगाऊ
बनाऊ आफैँले कि त अभय दिने ओखती त्यो मगाऊ॥३
पसेका वैरी जो विविध मुलुकका खेद चाँडो भगाऊ
धरा यो नेपाली विजित गर सधैँ शत्रु जिम्मा नजाऊ
हिमाली माटो यो शिवमय छ सदा साधनाले सघाऊ
फिँजाई बुद्धैको अभिमत सबमा शान्ति-धारा बगाऊ॥४
सबै मान्छे बन्ने अवसरहरूको देश खानी बनाऊ
सबैको बस्तीमा जल पथ बिजुली सुट्ट जाने बनाऊ
पुजीकर्ता आफ्ना छल बल गरी मेजमानी नलाऊ
सबै नेपालीको सुखमय रसिलो जिन्दगानी बनाऊ॥५