छोडेर वृद्धाश्रम
कविता (छन्द: शार्दूलविक्रीडित)
आफू मात्र गरेर भोग सहसा पारेर ढुङ्गो मन
ठानी भार ठुलो निरीहपनले माता पिताजी कन
जेथा जो चल औ थियो अचल नै गर्दै सबै दोहन
के बस्छौ नर मातृ पितृकन नै छोडेर वृद्धाश्रम?॥१
ल्याएथे अघि बुद्धिले र बलले धानेर सारा घर
गर्दै पोषण युक्तिसाथ पयले सन्तानको सुन्दर
उभ्याई सपना अनेक ढबका टार्दै सबै उल्झन
के बस्छौ घर मातृ पितृकन नै छोडेर वृद्धाश्रम?॥२
जो जस्को घरमा छ बृद्धजनको सम्मान भारी यता
श्रद्धाले घर बन्छ मन्दिर खुदै हुन्छन् खुशी देवता
झुम्मिन्छन् सब बन्धुबान्धव उतै सौहार्द राखीकन
के बस्छौ घर मातृ पितृकन नै छोडेर वृद्धाश्रम?॥३
आँखामा जति आँसु बग्छ तिनको जानेछ बढ्दै ऋण
जस्तै धर्म गरेर मन्दिर पुगी घट्दैन एकै तृण
भारा जे जति खुनको र दूधको झाँगिन्छ गाढा झन
के बस्छौ घर मातृ पितृकन नै छोडेर वृद्धाश्रम?॥४
टाढिन्छन् सब बन्धु वान्धव हरे काटेर मात्रै कुरा
पश्चाताप बढेर भित्र दिलमा रेटिन्छ रोजै छुरा
के नै गर्दछ मानले र पदले थुक्छन् सबै सज्जन
के बस्छौ घर मातृ पितृकन नै छोडेर वृद्धाश्रम?॥५
यो हो जीवनचक्र जीव सबको देही बुढ्यौली हुने
पालो आउँछ यो सबैकन हरे! कौसी बिरानो हुने
मान्छेले नबुझेर धर्म नरको बढदैछ यस्तो क्रम
के बस्छौ घर मातृ पितृकन नै छोडेर वृद्धाश्रम?॥६