परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अब देश कठ्पुतली हुनुहुँदैन

एउटा भनाइ छ, अण्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कमजोर हुन्छ र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्य हुन्छ, राष्ट्रले अन्तर्राष्ट्रिय साख गुमाउँछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब राष्ट्र अपमानित हुन्छ, नागरिकको मनोदशा पनि भयपूर्ण हुन्छ। हामीले अहिलेसम्म नबुझेको कुरा के हो भने “दुई सय वर्षदेखि हाम्रो इतिहास वा राज्यको साख अपमानित भएको छ।” अब अण्डाले ढुङ्गा होइन, फलामले ढुङ्गा फुटाउने मानसिकताको निर्माण गर्नुपर्छ।

  • सन १८१४ मा हामीमाथि साम्राज्यवादी आक्रमण भयो। हामीले जमिन गुमायौं। त्यसपछि हाम्रा नागरिकहरूलाई उपनिवेशी शासकले दास झैँ उसको सेनामा प्रयोग परम्परा थोपर्यो। राणाहरूलाई कठ्पुतली बनाएर हाम्रो समाजलाई अन्धकारको चपेटामा हाल्यो। ब्रिटिश उपनिवेशीले नेपालको राजनीतिलाई फोहोर बनाइदियो।तर हाम्रा नेता र कर्मचारी बेलायतसँग दुई सय वर्षको इतिहास छ भन्छन्। अझ गोर्खा भर्ती जस्तो अपमानको पर्यायलाई नेपाल र वेलायतको कुटनीतिको साँघु भन्ने गर्छन्। अपमानित भएको भान पनि छैन। सन् १९४७ मा भारत स्वतन्त्र भयो तर उसले गर्ने व्यवहार उपनिवेशको भन्दा फरक थिएन। बिपिलाई धोका दिएर आफू प्रधानमन्त्री हुन मात्रिका कोइराला दिल्ली पुगेको इतिहास हामीसँग छ। स्वाभिमान हामीले बेच्यौँ । क्युबामाथि अमेरिकाले केके मात्र अत्याचार गरेन। तर क्युबालीले शिर पनि झुकाएनन्, स्वाभिमान पनि बेचेनन्। उनीहरूले आफूलाई उन्नत बनाए। शिक्षालाई आधुनिक बनाए। विज्ञानलाई उन्नत बनाए। नागरिकले देशको अस्तित्वलाई नै आफ्नो अस्तित्व बनाए। क्युबालाई अमरिकाले दमन गर्न सकेन। क्युवाको जस्तो कठिन अवस्था हाम्रो होइन। तर हाम्रा नेता भनिने, राजा भनिने र जनता भनिनेले आत्मा नै बेचिदिए।
  •  नागरिक भारत र बेलायतको सेनामा भर्ना हुन आहिले पनि कुद्छन। उनीहरूसँग ५० तर्क छन् आफ्नो गलत काम पुष्टि गर्ने । तर, आफ्नो खेत र बारीमा उन्नत खेती गर्ने सिप सिक्ने जाँगर छैन। लाहुरे संस्कृति राष्ट्रको अपमानका रूपमा हुर्केको छ। जबसम्म आफ्नो स्वाभिमानको अपमान भएको महसुस गर्न सकिन्न, अरुले हेप्छन्। तेसैले भारतले हाम्रो भूमिमा आफूखुसी गर्छ।
  • देशका वकिल विदेशीको गुलामी गर्छ्न । विदेशीले पैसा दियो भने देशको अस्तित्वकै विरुद्ध तर्क दिन तयार छन्। उनीहरू विदेशीका लागि जासूसी गर्ने संस्थालाई सहयोग गर्छन्। देशका पत्रकार विदेशीका पैसा लिएर देशका विरुद्ध लेख्न तयार छन्। त्यस्ताका पछाडि नेता लाग्छन्। देशका इन्जिनियर सिमानामा पिलर राख्ने कार्य गर्दा आफ्नो भूमि त्यागेर पिलर गाड्न तयार छन्। देशका कर्मचारी राष्ट्रघात गरेर विदेशीको गुलामी गर्न तयार छन्। देशका नेता आफू मन्त्री हुन विदेशीका पाउमा शिर राख्न तयार छन्। देशका जनता चौकिदारी र सिपाहीका लागि स्वास्नी र खेत त्याग्न तयार छन्। यी सबै अपमानित इतिहास र राष्ट्रका मानिसका प्रवृत्ति हुन। राष्ट्र कमजोर भएपछि यस्तै हुन्छ।
  • हिटलरले आक्रमण गर्दा रसियामा पचास लाख मानिसले सिपाहीका रूपमा निसङ्कोच ज्यान दिए। चीनमा आफ्नो स्वतन्त्रताका लागि कतिले ज्यान दिए, सबैलाई थाहा छ। किनकि उनीहरूलाई राष्ट्र अपमानित हुँदा पोल्यो। हामीलाई राष्ट्रको अपमानबाट पीडा हुँदैन । हामीलाई पीडा त डिभी नपर्दा, विदेशी सेनामा भर्ती हुन नपाउँदा, र अरबमा शोषण हुन जान नपाउँदा हुन्छ। हामीलाई विदेशीको चाकरी औधी मन पर्छ।
  • हाम्रोमा केही मानिसलाई सधैँ प्रधानमन्त्री हुने धोको रहन्छ। कसैलाई त एक दर्जन पटक प्रधानमन्त्री हुन मन छ। मसँग प्रधानमन्त्री हुने के क्षमता छ भन्ने सोच्न उनीहरू तयार छैनन्। हाम्रा नेता जनताका संरक्षक हुन चाहँदैनन्। उनीहरू जनताका मालिक, माननीय हुन चाहन्छ्न। उनीहरूलाई आफ्नो विचारको माया लाग्दैन, उनीहरूलाई घुस दिने माफियाको बढी माया लाग्छ। राष्ट्रघातीहरूप्रति रिस उठ्दैन उनीहरूलाई । बरु देशलाई माया गर्नेप्रति रिस उठ्छ। लुट्नेहरू आफना हुन्छन्, आफ्नो स्वाभिमान राख्नेहरू पराइ हुन्छन्। केही मानिस राजनीतिका नाममा छलकपट मात्र गर्छन्।
  • देशका कानुन विदेशीका लागि बन्छन्। सन्धि र सम्झौता विदेशीकै लागि बन्छन्। हाम्रो दराजका कागजपत्र विदेशीले निकालेर लैजान्छन्। देशको नक्सा फेरिन्छ। विदेशमा राजदूतहरू सेवा वापत् पेन्सन खान जान्छन्, राष्ट्रको रक्षाका लागि होइन। विदेशीले मन पराएका मानिस आयोग र कार्यदलमा रहन्छन्।

त्यसैले विदेशीले हामीलाई अपमान गरिरहन्छन्। उनीहरू हामीलाई राष्ट्र नै मान्दैनन्। त्यसैले हेप्ने आँट गर्छन्। हाम्रो आफनै चीज हामीसँग छैन। हाम्रा कागज ब्रिटिश म्युजियममा छन्। हामीसँग हाम्रै सन्धि छैनन्। हामीले गुगलबाट नक्सा प्रिन्ट गरेका छौँ। हामीसँग तर्क होइन, गाली–गलौज छ। देशको बौद्धिकता जबर्जस्त दमन गरिएको छ। दोग्लाहा मानिस विज्ञ बनाइएका छन्।

हामीले अब राष्ट्रको अपमानलाई समाप्त गर्ने, हाम्रो स्वाभिमानको पुनर्निर्माण गर्ने अभियानको निर्माण गर्नुको विकल्प छैन। अतः

  • हाम्रो साम्राज्यवाद विरोधी इतिहासलाई हरेक व्यक्तिमा पुर्याउनु आवश्यक छ अब। हाम्रो इतिहासको बध गर्नेहरूको खोजी हुनुपर्छ। २०० वर्षअगाडि हामीले उपनिवेशी शक्तिका विरुद्ध लेखेको इतिहास फेरि लेख्नुपर्ने भएको छ ।
  • हाम्रा सिमाना बेच्ने, हाम्रा नक्सा बद्ल्ने, देशघाती सम्झौता गर्ने र विदेशी एजेन्सीका लागि काम गर्ने भिखारीहरूको नकाब खोल्नुपर्छ अब।
  • हाम्रो शिक्षाको बेहाल गर्नेहरूको नकाव पनि उतार्नुपर्छ।
  • विदेशीलाई नागरिक बेचेर देशको उत्पादन समाप्त गर्नेहरूको खोजी पनि गर्नु आवश्यक छ।
  • हामीले हाम्रो स्वाभिमानका लागि भारतसँग कुरा गर्ने हिम्मत गर्नुपर्छ।
  • अब नागरिकका झोले प्रवृत्ति समाप्त हुनुपर्छ।
  • अब नेपालको अपमान समाप्त गर्ने आन्दोलन गर्नुको विकल्प छैन।
  • हिजो पनि देश विदेशीको कठ्पुतली थियो। आज पनि कठ्पुतली छ। अब देश कठ्पुतली हुनुहुँदैन।
Facebook Comments