झगडाको बिउ
लघुकथा
हाम्रा सिमल्टारे काइँलाले कामबाट घर फर्कन अलि ढिलो होला कि जस्तो लागेर भर्खरै किनेको मोबाइल फोनको आज भर्पुर सदुपयोग गरेछन्।
आफ्नो बुढाले पक्का पनि घर नजिकै आएर संगै खाजा खान सम्झाएका होलान् भन्ने सोच्दै काइँलीले पनि एकछिन ढिलो नगरी फोन उठाइन्।
“माम्मु…म घर आउन अलि ढिला हुन्छ है!”
*****
के पर्यो र त्यस्तो, बाबा? ठुली-छोरी पनि आज साथीहरुसँग एकछिन नाटकको रिहर्सल गर्नुछ; घर आउँन ढिला हुन्छ भन्दै थिइन्। सानेले पनि बुबा-बुबा भनेर बाटैदेखि खोज्दैथ्यो। खुब प्रफुल्ल छ आज उ। किन त्यसरी बुबालाई मात्र खोज्या‘त पुन्टु, भनेको — खोई, बुबा संगै कुरो छ भन्दैथ्यो। झन् आज त शैक्षिक-सत्रको पहिलो दिन। स्कूल्ले रिजल्ट् पनि पठाए जस्तो छ। केटोले खुब ध्यान दे‘र पढ्या’थ्यो गय–साल! के थाहा, कक्षा-टप पो गर्यो कि? था‘छ बुढा पहिला हुने बच्चाको त फिस् पनि मिनाहा हुन्छ भन्थे! मिलेसम्म छिट्टै आउनुस्‘ न घर, हुन्न?
*****
ए, ठिक छ। त्यसो भए — म सिधै घर आएँ नि त।
*****
काइँलाले ढोकामा यस्सो ढक -ढक मात्र के गरेको थियो; आइहाल्यो नि केटो खुरुरु।
(मधुर मुस्कान स्पस्ट देखिन्थ्यो, उसको मुहार-भरि।)
*****
बुबा-बुबा…. आज हामी तीन कक्षाका सप्पैले एउटा-एउटा चिट्ठी पायौँ। मिसले भन्नुभा‘को — यो चिट्ठी बुबालाइ दिनु रे!
******
“त्यहि दुइ कक्षाको रिजल्ट् पठाएका होलान् नि, पुन्टे पनि!”
काँइलीले बाक्य फोरिन्:
“लौ खोलेर हेरम् त, बाबा!”
******
यस्सो खोलेर हेरेको, असार सम्मको बिल एकैचोटी काटेर पठाएछन्।
*****
बुबा, मिसले भन्नुभा‘ …
सरहरुलाई अस्तिनै देखि तलब दिनपर्ने भएकोले यसपालीको बिलमा अलि धेरै पैसा छ रे। जति छिट्टो तिर्यो अर्को चोटिलाई त्यत्तिनै सजिलो हुन्छ रे। हेडसरले पनि ” यो चिट्ठी घरमा जानि‘बित्तिकै नबिर्सी बुबाको हातैमा दिनु है” भन्नुभा‘थ्यो।
*****
ए ए… ठीक छ नि … एकचोटी दिनै पर्छ क्यारे … दिई-दिम्ला नि त!
*****
कहाँ हुन्छ? बाबा पनि …
महिनै नमरि अहिले अनि किन तिर्नि फिस्? अस्ति भर्खर पनि त्यसै गरे। चैत सम्मको फिस् माघमै तिरेको! जाँच्को फिस् रे, रिजल्टको फिस् रे, के–के–के–के! फेरी, यस्तो पैसाको कुरो त सिधै हाम्लाई भन्नु‘नि!
यसरी बच्चाहरुलाई घुमाएर नचाउनुको के अर्थ छ, भन्नुस् त?