परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

 उनको सम्झनामा 

निर्मल लामा स्मृति दिवस

डा

क्टर हुने, इन्जिनियर हुने सब सपना चकनाचुर भइसकेका थिए । अघिल्लो वर्ष मात्रै करिव डेढ महिना थुनेर मलाई महेन्द्र मोरंग क्याम्पस, बिराटनगरबाट रेस्ट्रिकेट गरिसकेका थिए, त्यो पनि ६ महिना मोरंग नपस्ने गरी डाँडो कटा’र । एक वर्षपछि, ०३३ सालको माघ–फागुन हुनुपर्छ, म बनारस आईए को प्राइभेट परीक्षार्थी भएर गएको थिएँ ।

निर्मल लामा नेपाली कम्युनिष्ट आन्दोलनका विलक्षण जननेता हुन्, राजनीतिमाथि व्यभिचार नगरेका नेता । उनको सादगी, समर्पण र प्रतिवद्धताको यो आन्दोलन सधैं ऋणी रहने छ ।

वनारसको घाँसी टोला । ऊ बेला निर्मल लामाजीहरू यहीँ बस्नुहुन्थ्यो । मलाई निर्मल लामा भेट्ने छुद्धे जागेर आयो । यसो हुनुमा कारण थियो, आफू ‘ठुटे’ ‘झापाली’ भएर अन्य कम्युनिष्ट समूहबारे पढिएको थियो, ‘मोहन विक्रम-निर्मल लामाजीहरूको ‘चौथो महाधिवेशन’ चाहिँ ‘अलिक क्रान्तिकारी’ हो ।मुलमै भेटेर प्रत्यक्ष जाँचपड्ताल गर्ने यो राम्रो अवसर पनि थियो । उस्तो गाह्रो पनि भएन, साथीहरूले निर्मलजीको डेरामा पुर्याइदिए ।

जव म उनको डेरा भित्र छिरे एकजना अर्धवैंशे जस्तो मानिस भान्से छ र परिपन्चिसले खानाको भाग लाउँदै छ । ध्रुवनारायणले परिचय गराए, ‘ उहाँ नै हो निर्मल लामा !’ मैले आदरपूर्वक नमस्कार गरेँ ।

‘म टंक कार्की, साथीहरूले मेरोबारेमा बताउनु भ’को होला !’ मैले लम्बेतान इतिवृतान्त पस्किन उचित ठानिन, समयको तकाजा पनि त्यस्तो थिएन । साथीहरूले सुनाका हुनन्, ‘यो हाम्रोतिरको सानोतिनो कम्मुनिष्ट नेतै हो ।’

फोटो साभार : मात्रिका पोखरेल
अन्य आकर्षणहरू

खलील जिब्रान : विद्वान र कवि

‘अँ, मैले सुनेको छु तपाईको बारेमा ।’ अन्यथा नबरालीकन उनले भने, ‘ खाना यतै खाउँ है कामरेड !’ (कमरेड नभ’र कामरेड ?!! खैर केही छैन नसुनेको धेरै भयो ।)

‘होइन, धन्दा मान्नु पर्दैन, मेरो खाना उतै बनेको छ ।’ मैले आश्वस्त पारे ।

त्यसपछि भने हामीले एकछिन वार्ता गर्यौं, म अक्सर श्रोता थिएँ तर उनले कुनै पाण्डित्याईं छाँटेनन् । पञ्चायती राजशाहीको चरित्र सम्झाए र कम्युनिष्टहरूको उपचार (Prescription) बताए, ‘यस शासनको सबभन्दा थिचोमिचो र उत्पीडनमा पर्ने गरिव निमुखा नै हुन् र यसको विरुद्धमा उनीहरू नै पहिला जागृत हुनु पर्दछ, संगठित हुनु पर्दछ र लड्नु पर्दछ ।’ उनले मसँग कुरा गरिरहँदा यो चाहिँ प्रक्षेपण हुन्थ्यो कि नेपाली कम्युनिष्ट आन्दोलनमा ‘चौम’ नै मूल र प्रतिनिधि धार हो – पार्टी यत्रतत्र फ़िँजिएको छ र ठूलो जनसमर्थन छ । तर उनले ‘झापाली जस्तो उग्र वामपन्थी चाहिँ हुनु हुँदैन नि !’ कहीँ भनेनन् । (उनलाई म ‘झपाली’ भन्ने भेउ पनि भएन होला । मेरै साथीलाई त त्यसबारे अत्तोपत्तो थिएन । यदि उनलाई त्यो थाहा हुन्थ्यो भने मेरो पनि बुद्धि भुट्न उनी कहाँ चुक्थे होला र ?! त्यसो गर्नु राजनीतिमा अक्सर चल्ने खेल हो ।) तर यसले मलाई भने एउटा छाप के पर्यो भने उनी ‘झापाली विरोधी’ भने होइन रहेछन् । छुट्टिने बेलामा तल गल्लीसम्मै आएर बिदा गरे ।

फर्किदै गर्दा म गम्न थालें, त्यत्रो नेता तमोर खोले लिम्बु जस्तो; सामान्य छ, कतै कुनै सामन्ती शान छैन, कुनै लप्पन छप्पन छैन , एक्लै पनि भन्दैन मिलिजुली खाउँ भन्छ, मालिक जस्तो पनि छैन । आफैँ भान्से छ, पक्षपाती पनि छैन परिपन्चिसले भाग लगाउँछ । म नायक हुँ पनि भन्दैन, भन्छ त, गरिव निमुखाहरू नै तात्नुपर्छ । उसले यति त भनेन नि, ‘सशस्त्र संघर्ष गरिहाल्नु पर्छ, हतियार उठाइहाल्नु पर्छ । स्थानीय सत्ता कब्जा गर्दै केन्द्रीय सत्ता नियन्त्रणमा लिनु पर्दछ । त्यसको निम्ति स्थानीय सामन्त जमिन्दारको सफाइ गर्नु पर्दछ ।’  ‘लड्नु पर्दछ’ त भन्छ । कार्यकर्तालाई कारिन्दा पनि मान्दैन । कमरेड नभने पनि कामरेड त भन्छ । मैले सन्तोषको सास फेरें, ‘हो र’छ यिनीहरू अलिक क्रान्तिकारी नै हुन् ।’ जिन्दगीभर उनी आफ्ना आदर्श र सिद्धान्तमा निष्ठावान रहे ।

निर्मल लामा नेपाली कम्युनिष्ट आन्दोलनका विलक्षण जननेता हुन्, राजनीतिमाथि व्यभिचार नगरेका नेता । उनको सादगी, समर्पण र प्रतिवद्धताको यो आन्दोलन सधैं ऋणी रहने छ ।

श्रद्धा सुमन कमरेड निर्मल लामा !

 

Facebook Comments