सित्तैको उपदेशः खै कति पच्ला !
कोरोना डायरी– १५
जनताले लकडाउनको राम्रो पालना गरेका छन् । सबैले बुझेको छ यो सरकारले लगाएको कफ्र्यू वा कसैको आव्हानमा भएको बन्द होइन । कोरोना भाइरसबाट बच्ने उपायको उत्तम औषधी नै लकडाउन हो । त्यसैले मानव समुदाय आफ्नै कोठमा आफै थुनिएर बसेका हुन । अब प्रश्न उठ्न थालेको छ यसरी कति दिन बस्ने ? अनि के खाने ?
हाम्रा समस्याहरु धेरै थिए । अब झन् थपिए । शहरी क्षेत्रका घर घरमा दैनिक उपभोग्य वस्तु सकिदै गएका छन् । मान्छे भोकै बस्न सक्दैन । त्यसपछि लकडाउनले जनतालाई घरमा थुन्न सक्तैन । तसर्थ सरकारले अब विकल्पहरुको खोजी गर्नु पर्छ । एक त जनता भोकै बस्न सक्तैन, अर्कोतिर भाइरसको डर छ । अब बेरोजगार जनतालाई सुरक्षित रुपमा कसरी काममा लगाउने सोच्ने बेला भयो ।
कृषकहरुले आफ्नो खेतवारीमा काम गर्ने वातावरण, मजदुरहरुले कलकारखानामा काम गर्ने वातावरण, कर्मचारीले आफ्नो कार्यालय गएर काम गर्ने अवस्था, विद्यार्थीले पढाइलाई निरन्तरता दिने ब्यवस्था, अन्य पेशा र ब्यवसाय गरेर जीवन निर्वाह गर्नेहरुलाई त्यसै अनुरुपको काम गर्न पाउने वातावरण मिलाउन ढिला गर्नु हुदैन तर विकल्पहरु पनि देखापरिरहेका छैनन् ।
अबको केही वर्ष वैदेशिक रोजगारी ठप्प हुनेछ । आयातमुखी सामानको संकट सबै मुलुकले ब्यहोर्ने छन् । उत्पादनमा कमी आउने र विकास निर्माणका काममा सुस्तता आउने छ । यस्तो स्थिति आउनु भनेको नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि घातक हो । यस्ता बेलामा गफ अथवा भाषणले काम दिदैन । तसर्थ अब सुरक्षित तरिकाले काममा लाग्नै पर्छ । अन्यथा समाजमा संग्रालो मच्चिनेछ ।
जनघनत्व बढी हुने स्थानमा सोही अनुसारको सुरक्षा र कम हुने स्थानमा तदनुरुपकै सुरक्षा व्यवस्था गरेर भए पनि अब चलायमान बन्नै पर्छ । विश्वका मुलुकहरुले सुरक्षित रहेर कसरी काम गर्दैछन् त्यो अध्यायन गरेर अगाडि बढ्नु पर्छ । दक्षिण कोरियामा महामारी र लकडाउनकै बिच चुनाव भइरहेदैछ । अन्य मुलुकमा पनि निश्चित ठाउँहरुमा सुरक्षित रुपले काम भइरहेको छ । नेपालले पनि विज्ञहरुसँग सुझाव लिएर निर्णय गर्न जरुरी छ ।
मानव जाती चाँडै मर्न चाहदैन । आफ्नो सुरक्षा गर्नुपर्छ भन्ने जान्दछ । सचेत गराए पछि मान्छेले मृत्युबाट जोगिने हरसम्भव प्रयास गर्छ । तर उसलाई आवश्यक पर्ने सुरक्षाका सामान भने उपलब्ध गराउनु पर्छ । त्यसै जबरजस्ती होइन सुरक्षित र सुरक्षाका साधन सहित अब काम तर्फ फर्किने मात्र एक विकल्प हो ।
वैशाख १५ गतेम्म लकडाउनको अवधि थपिएको छ । जसोतसो यसलाई सम्म त धानिएला । तर त्यसपछि निकै गाह्रो अवस्था आउँछ । अहिले नै दैनिक ज्यालादारीमा काम गरेर बाँचेकाहरु संकटमा परिसकेका छ । यता निम्न वर्ग, निम्न मध्यम वर्ग र मध्यम वर्गसमेत आत्तिन थालेको छ । जागिर नभएको, पेन्सन नआउने परिवारका सदस्य जो केही व्यवसाय गरेर बाँचेका थिए उनीहरु बढी चिन्तित बनेका छन् । यो वर्ग राहत पाउने वर्गमा पनि पर्दैन र खान पुग्ने वर्गमा पनि पर्दैन । नेपालमा ठूलो संख्यामा यही वर्ग छ ।
सरकारले सबैलाई राहत दिन सक्दैन । कतिपयले भोकै बस्नु परिरहेको छ । बैंकबाट ऋण लिएर सानोतिनो ब्यवसाय गरेर बस्नेहरु ठूलो मारमा छन् । ब्यवसाय ठप्प भएकाहरुको निश्चित महिना अथवा लकडाउन भरिको ब्याज नलिने वातावरण सरकारले बनाई दिनु पर्छ । हो, स्थिति विकराल बन्दै गएको छ । अब सुरक्षित तवरले समाल्नु पर्छ ।
अवसरको खोजीमा आएका शहर बजारका कतिपय व्यक्ति घर जान नपाएपछि थुनिएर बसेका छन् । कुनै निकायमा लगत छैन । शहर बजारमा सबैको लगत राख्ने काम गर्ने संयन्त्र अहिलेसम्म नेपालमा छैन । आफ्नो वडामा कतिवटा घर छन् र परिवार संख्या कति छ भन्ने लगत पनि स्थानीय सरकारसंग छैन । जब समस्या पर्छ त्यसबेला मात्र सोच्ने बानीले गर्दा हाम्रो अवस्था र ब्यवहारमा सुधार नआएको हो । कमसेकम एउटा परिवारको सम्पूर्ण विवरण कम्प्यूटरमा क्लिक गर्दा देखिने भए कति सहज हुन्थ्यो । थुप्रै देशमा नागरिकको ब्यवसाय र आम्दानी कुर्सीमै बसेर कोड नम्बरका आधारमा हेर्ने गरिन्छ । हामी भने बडो लठिभद्र अवस्थामा छौं । अब कोरोनाको कहर पछि सरकारले सोचोस् ।
विश्वलाई नै कोरोनाले मानवीय र आर्थिक क्षति पुर्याई रहेको छ । यो भाइरस रोकथाम भएपछि पनि लामो समयसम्म आर्थिक महामारीको संकटमा पर्ने निश्चित छ । यसर्थः प्रतिकुल परिस्थितिलाई अनुकुल बनाएर अगाडि बढाउने दायित्व सरकारको हो । सरकारले बेलैमा सोचोस् । आजलाई नमस्ते भने है ।
२०७७ बैशाख ३ गते