परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

त्रिविको आवश्यकताः संस्थाप्रति उत्तरदायी नियुक्ति  

त्रिभुवन विश्वविद्यालयमा निकै सुस्त गतिमा तीनवटै (भिसी, रेक्टर, रजिस्ट्रार)  पदाधिकारी नियुक्ति भएपछि विश्व विद्यालय अब आफू भौतिक, प्राज्ञिक र प्रशासनिक लिकमा कुद्न पाउँछु कि भनेर आशावादी देखिएको छ । पहिले विभिन्न जनवर्गीय सङ्ठनको लाचार छायाँ बनेको विश्वविद्यालयमा अहिलेका पदाधिकारीहरूले त्यस्ता सङ्गठन वैध नै भए पनि तिनले नियुक्तिका लागि दिने अवैध ( त्रिवि ऐन,नियम र विनियमले नचिन्ने) हस्तक्षेप निस्तेज पारी त्रिविको उद्धार गर्न जरूरी छ ।

यस्ता नियुक्तिका निम्ति विश्वविद्यालय भित्र रिक्त भैसकेका, रिक्त हुने सँघारमा पुगेका र पछि रिक्त हुने विभिन्न सङ्काय, कार्यकारी निर्देशनालय, क्याम्पस प्रमुख जस्ता सबै पदहरूका लागि एक यस्तो मापदण्ड बनाउनु जरूरी छ जसबाट नियुक्ति पाउने व्यक्ति जुनसुकै सङ्गठनमा आस्था राख्ने जोसुकै परोस् उसले आफूलाई अमुक सङगठनले सिफारिस गरेकैले नियुक्ति पाएको हुँदा उक्त सङ्गठनप्रति उत्तरदायी भैरहन पर्ने र संस्थाप्रति उत्तरदायी हुन नपर्ने विगतको दुर्नियतिको अवसान होस् । यसरी नियुक्ति पाउनेले आफू सङगठन सिण्डिकेटका सिफारिसका आधारमा होइन, आफ्नो क्षमता र योग्यताका आधारमा नियुक्ति पाएको ठानोस् ।


विश्वविद्यालयभित्र अस्वस्थ भागबन्डा गरिरहन पर्दैन । जब त्यहाँ सिस्टम सक्रिय हुन्छ र पद्धतिले आफ्नो गति लिन्छ, त्यहाँ स्वतः विभिन्न विचार समूहका विद्वान्, कर्मचारी, प्राध्यापकहरूले स्वाभाविक जिम्मेवारी पाउँछन् । कुनै विशेष प्राज्ञ, कुनै गहन अनुसन्धाता वा विशेषज्ञको वैचारिक आस्था एकातिर होला तर उसले वितरण गर्ने ज्ञान, अनुसन्धानमार्फत् पत्ता लगाएको नयाँ तथ्य र शोधमार्फत सन्धान गरेको नवीन प्राप्तिमा भने कुनै वैचारिक विभेद रहँदैन ।


हो, विश्वविद्यालयहरू विभिन्न विचार, राजनीतिक आस्था र मान्यताहरू रहेका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको सुन्दर फूलबारी हुन् । तसर्थ विश्वविद्यालयहरूलाई त्यस्ता विचार र राजनीतिक आस्थाबाट मुक्त राख्नु पर्छ भन्नु असम्भव प्रायः हो र यसो भन्नु पनि राजनीति नै हो । तर आफ्नो त्यस्तो आस्था र निजी स्वार्थलाई केन्द्रीकृत गरी विश्वविद्यालयको हितलाई किनारीकृत गर्ने प्रवृत्तिको नेतृत्व पङ्क्ति हुँदा एकातिर मुलुकको प्राज्ञिक गरिमा नै तहसनहस हुने र अर्कातिर इतर विचार समूह र आस्थाका शिक्षक प्राध्यापकहरू आपूmलाई असुरक्षित महसुस गर्ने भय रहन्छ । त्यस्तो भयले विश्वविद्यालयको प्राज्ञिक जीवनमा समेत मन्दविषको काम गर्ने खतरा रहन्छ ।

त्रिविको वर्तमान नेतृत्वले संस्थाप्रति उत्तरदायी नियुक्तिका लागि योजना बनाएकै होला, तैपनि उक्त योजनालाई सघाउ पुगोस् भन्दै अब हुने नियुक्तिका आधारबारे केही सुझाव प्रस्तुत गरिएको छ;

१.  क्याम्पस प्रमुख र विभाग प्रमुख नियुक्तिबारे

(क) प्रत्येक क्याम्पस र केन्द्रीय विभागका ६ जनाको नाम (वरिष्ठता, रुचि, क्षमताका आधारमा) क्याम्पस वा विभागबाट पठाउन लगाउने र त्यसलाई केन्द्रीय कार्यालयको रेकर्डबाट रुजु गर्ने (त्यसो गर्दा फरक विचार समूहका भए पनि सक्षमताका आधारमा समेटिन सक्ने) ।

(ख) कार्यकारी बोर्डबाट गठित केन्द्रीय छनोट समिति गठन गरी त्यसरी प्राप्त आवेदनबाट उक्त समितिले तीनजनाको नाम प्रारम्भिक छनोट गर्ने ।

(ग) छनोटमा परेकाबाट क्याम्पस विभागको प्राज्ञिक, भौतिक, प्रशासनिक, वर्तमान अवस्था र भावी चार वर्षे कार्ययोजना सहितको प्रत्यक्ष प्रस्तुतीकरण गर्न पावर पोइन्ट प्रेजेन्टेसन मार्फत् लगाउने ।

(घ) तीनजना मध्येबाट एकजनालाई क्याम्पस प्रमुख वा विभागीय प्रमुखमा नियुक्त गर्ने

(यसरी नियुक्त हुँदा जुनसुकै विचारको भए पनि निजले आफूलाई विचार होइन सक्षमताका आधारमा नियुक्त भएको ठानी संस्थाप्रति जवाफदेही हुने) ।

(ङ)  क्याम्पस प्रमुख वा विभाग प्रमुखले पनि आफूमातहतका सहायक प्रमुख र संयोजकहरू नियुक्तिका लागि पनि यस्तै मापदण्ड बनाइ अघि बढ्ने र कार्यसम्पादन करार गरी उक्त अवधिभित्र कार्यसम्पदन करारबमोजिम कार्य नभएमा बर्खास्त गरी छनोटका क्रममा दोस्रो वरियताकालाई पुनः कार्यसम्पादन करार गरी नियुक्ति दिने ।

२.  डीन र कार्यकारी निर्देशक नियुक्तिबारे

(क) डीन र कार्यकारी निर्देशकमा नियुक्त हुने व्यक्तिका लागि यथा सम्भव पिएच.डी. र प्रोफेसरलाई न्यूनतम मापदण्ड तोक्ने ।

(ख) सहायक डीनमा नियुक्त हुनका लागि सकेसम्म पिएच.डी. सहितको सहप्राध्यापकसम्मलाई नियुक्त गर्न सकिने ।

(ग) डीनमा नियुक्त गर्दा सम्बन्धित सङ्कायका वरिष्ठ र सक्षम व्यक्तिमध्येबाट प्रस्ताव आह्वान गर्ने ।

(घ) तीमध्येबाट वरिष्ठता, सम्बन्धित क्षेत्रमा गरेका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अनुसन्धान, अनुसन्धानात्मक कृति र लेख प्रकाशन तथा विज्ञता र दक्षता अनुभवका आधारमा प्रारम्भिक रूपमा छजना छनोट गर्ने ।

(ङ)  छनोट गर्दा अनुसन्धानलाई विशिष्ट प्राथमिकता दिने र मुख्य प्राथमिकता वरिष्ठताका साथै प्राज्ञिकता, अनुसन्धान र सक्षमतालाई दिने ।

(च) ती छजनाबाट अनुसन्धानगत दक्षता र वरिष्ठताका आधारमा तीनजना छनोट गर्ने ।

(छ) ती तीनजना मध्येबाट सम्बन्धित डीन कार्यालयको आगामी पाँच वर्षे विस्तृत कार्ययोजना पावर पोइन्ट प्रेजेन्टेसन मार्फत् गर्न लगाउने र सम्बन्धित सङ्कायको उत्थानका लागि आफूले चार वर्षभित्र गर्न खोजेको वास्तविक खाका प्रस्तुत गर्न लगाउने  ।

(झ) यसो गर्दा सक्षम, विज्ञ र वरिष्ठ व्यक्तिहरूले अवसर पाउने र सम्बन्धित अध्ययन संस्थानको गौरवमार्फत् विश्वविद्यालयकै गौरव र गरिमा बढ्ने ।

पुनश्चः

(१)  विना मापदण्ड र निर्देशिका अनुसार नियुक्त गर्दा विश्वविद्यालय लुछेर खान पल्केकाहरू वर्तमान नेतृत्वका विरुद्ध संगठित हुन र अवरोध पुर्याउने पूर्व योजना प्रस्ट छ ।

(२)  विश्वविद्यालयको सुधारका लागि सम्पूर्ण योजनाहरू यहाँ समक्ष छन् भन्ने कुरा यस अवधिमा यहाँबाट व्यक्त विचार र त्रि.वि. सभामा यहाँले प्रस्तुत गरेका विचारले नै पुष्टि गरेका छन् ।

(३)  विश्वविद्यालयको सुधारका लागि ती योजना पूरा गर्दा ससानो निहुँ खोजेर विभिन्न अवरोध पुर्याई यहाँको सफलताको यात्रामा व्यवधान पुर्याउने प्रवृत्तिहरू सलबलाइ रहेका छन् ।

(४)  त्यस्तो अवरोध पुर्याउने मूल निहुँ नै नियुक्ति बन्न सक्ने हुँदा नियुक्तिमा मापदण्ड बनाउँदा उल्लेखित बुँदाहरूलाई ध्यान दिनु भएमा सहज हुन सक्ने देखिन्छ ।

विश्वविद्यालयभित्र अस्वस्थ भागबन्डा गरिरहन पर्दैन । जब त्यहाँ सिस्टम सक्रिय हुन्छ र पद्धतिले आफ्नो गति लिन्छ, त्यहाँ स्वतः विभिन्न विचार समूहका विद्वान्, कर्मचारी, प्राध्यापकहरूले स्वाभाविक जिम्मेवारी पाउँछन् । कुनै विशेष प्राज्ञ, कुनै गहन अनुसन्धाता वा विशेषज्ञको वैचारिक आस्था एकातिर होला तर उसले वितरण गर्ने ज्ञान, अनुसन्धानमार्फत् पत्ता लगाएको नयाँ तथ्य र शोधमार्फत सन्धान गरेको नवीन प्राप्तिमा भने कुनै वैचारिक विभेद रहँदैन । कुनै पनि प्राध्यापक वा प्रशासकलाई दिइने जिम्मेवारीको जस्तो करेन्ट (प्रवाह) जसरी प्रवाहित हुन्छ त्यस आधारमा उक्त व्यक्तिद्वारा पनि आफूभन्दा तल्ला तहमा त्यस्तै करेन्ट प्रवाहित हुने हो । यदि व्यक्तिले आफू उक्त पदका लागि योग्य, सक्षम र उपयुक्त भएका कारण जिम्मेवारी प्राप्त गरेको महसुस गर्यो भने उसले आफ्नो मातहत पनि त्यस्तै जिम्मेवारी संचरण गर्दछ तर त्यस्तो जिम्मेवारी पाउने व्यक्तिले आफूले धाएर, रोएर, मागेर र ढोका ढकढक्याएर नियुक्ति पाएको महसुस गर्यो भने उसले आफ्नो मातहतमा नियुक्ति गर्ने व्यक्तिहरूलाई त्यसरी नै आफ्ना आँगनमा धाउन, आफ्ना ढोका ढकढक्याउन र आफ्ना अगाडि करुण क्रन्दन गर्न बाध्य पार्ने अवस्था रहन्छ ।

वास्तवमा विशुद्ध नियम, कानुन, वरिष्ठता, प्राज्ञिकता र क्षमताका आधारमा गरिने भेदभावरहित व्यवहारले कुनै पनि संस्थामा जुनसुकै विचार समूहका  स्वतः एवं स्वस्थ जिम्मेवारी पाउने र त्यसले सम्बन्धित संस्थाको साख र समग्र राज्यको साखको ग्राफ समेत बढ्ने सम्भावना रहन्छ भन्ने कुरा विर्सनु हुँदैन । त्यसैले त्रिविको आजको आवश्यकता भनेको संस्थाप्रति जवाफदेही व्यक्तिको नियुक्तिमार्फत् त्रिविका बन्द हुन लागेका धमनी पुनः सुचारु गर्नु हो ।

Facebook Comments