परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सौर्यायाम : अब पूर्ण प्राकृत जीवन – १

प्रस्थान बिन्दु

अहिले भोरको तीन बजेको छ । ब्रह्ममूर्हूत तेज अवस्थामा छ । र, साधना गर्ने उत्तम बेला हो यो । त्यसो त तपाईंहरुले पढेका (वा नपढेका) मेरा कविता, कथा, निबन्ध, उपन्यास मैले रातको समयमा नै लेखेको हुँ । रातभरी लेखेर बिहान छर्लङ्गै उज्यालो भएपछि ‘मर्निङ वाक’ जानु मेरो आदत थियो । दिउँसो तिर दुइतिन घण्टा सुतेपछि फ्रेश !

अहिले एक वर्षजति लामा लेख आदि मैले लेखिँन । पुरानो निद्राको हिशाबकिताब मिलाउन टन्नै सुतें । युटुबमा अन्टशन्ट बोलेँ । किनभने उनीहरु मलाई अन्टशन्ट नै सवाल सोध्थे । अनि शिर्षक पनि अन्टशन्ट नै राख्थे । यस्तो लाग्थ्यो उनीहरुको दिमाग पैसा र पोल्टिक्सले नराम्रोसँग भूटिइसकेको छ । त्यस्ता कुराहरु सुनेर कतिले ताली बजाए । कतिले गाली बजाए । लेखेर जुँगा फुलाएको म त्यसो त आफ्नो बोली आज्माएर पनि हेर्न चाहन्थें । मैले आफ्नो तर्फबाट केही बोलेको थिइँन । मैले त दुनियाँले आफूलाई जे दियो दुनियाँलाई त्यही ‘बाउन्स ब्याक’ गरिदिएको थिएँ ।

अहिले आफ्नो हृदयबाट भन्नुपर्दा मलाई लेखन कार्यले नै बढी सन्तुष्टि दिन्छ । तर मस्तिष्कबाट भन्नुहुन्छ भने बोल्नुको मजा फेरि बिछट्टै रमाइलो । जबकि मलाई मेरो आफ्नै आवाज मन पर्दैन । त्यही भएर म आफूलाई मन पर्ने गीतका ‘काराओके’ बजाएर बिहानबिहान रियाज गर्ने गर्छु र आवाजको ‘बेस’ बढाउने प्रयास गर्छु । ‘

‘बेस’ कमजोर हुँदा मेरो आवाज ध्वान्द्रे सुनिन्छ जो मैलाई मन पर्दैन । कैयन मान्छेहरुले मेरो आवाजको तारिफ गरेको सुन्दा म ठान्छु, कतै यिनीहरु कानमा रुवा खाँदेर त मेरो आवाज सुन्दैनन् ?

कतै कसैले मेरो छेउमा मेरो आवाज बजाइदियो भने म त्यो बन्द गर्न अनुरोध गर्छु वा एकातिर चल्दिन्छु । विषयवस्तुको कुनै समस्या होइन, केवल मलाई मेरो आवाज मन पर्दैन ।

आफ्नो लेखाइको कामले म बडो आनन्दित हुने गर्छु । दवावमा नलेख्ने मान्छे हुँ, म । मलाई मनमौजी लेखक भन्न सक्नुहुन्छ । तर म लेखक भन्न पनि रुचाउँदिन आफूलाई । सामाजिक हुनलाई भन्नुपर्दो रहेछ ।

खैर, कुरा के भने जिन्दगी यस्तै विरोधाभासी छ । हो जस्तो पनि लाग्छ । अनि होइन जस्तो पनि लाग्छ । यो बेग्लै कुरा हो कि दृश्य र अदृश्यबीच एउटा पारदर्शी पर्दा भने अवश्य अनुभूत हुन्छ ।

बोल्दा म बाघजस्तो भइरहेको हुन्छु भने, लेख्दा अजिंगर । यो मेरा लागि मेरो आफ्नै ‘मेटाफोर’ ।

बाघको गर्जन उसको यस्तो हतियार हो कि भोक लागेको बेलामा बाहेक भरिसक्य ऊ हिंसामा ओर्लिन चाँहदैन । जङ्गल विचरण गर्दा बाघ चाहन्छ कि भरिसक्य गर्जनले नै काम चलोस् । गर्जन भन्दा बढी उर्जा खर्च गर्नु नपरोस् । तर कहिलेकाहिँ बिपरीत भइदिन्छ । हमेशा आफूले सोचे जस्तो कहाँ हुन्छ र हजुर ? जङ्गलमा अनेक अटेरी जीवजन्तुहरु पनि त बस्छन् नि । बस्दैनन् र ?

शितनिद्रा अर्थात ‘हाइबरनेशन’
उता अजिंगरको चाल बिछट्टै शानदार र शान्त । निलिइसकेपछि मात्रै शिकारले थाहा पाउँछ रे, ऊ त अजिंगरको पेटभित्र पो पुगिसकेछ भनेर । न अजिंगर घस्रीएको थाहा हुन्छ न त उसको कुनै गर्जन नै हुन्छ । बेलाबेला ऊ एककिशिमको स्वाँ… आवाज निकालेर सुसाउने चाहिँ गर्दछ । महत्वपूर्ण कुरा अजिंगरले आफूलाई अन्य सरीसृपहरुले जस्तै ‘हाइबरनेट’ गर्ने गर्छ । जसलाई शीतनिद्रा भनिन्छ ।

प्रकृतिमा रहेका सबै जीव र बनस्पतिहरु आफूलाई ‘हाइबरनेट’ गर्छन् । केवल मान्छेलाई छोडेर । कृषि त्यागेर मान्छे व्यापार र जागिरमा लागेपछि उसको जिन्दगीको ‘रिटृट’ स्वाहा भएको हो । समानान्तर ब्याख्या गर्नुपर्दा ‘रिटृट’ नै मान्छेको ‘हाइबरनेसन’ हो । ऋग्वेदमा समेत उल्लेख हुँदाहुँदै यो विध्या विलुप्त हुन पुग्यो । पछि, गौतम बुद्धले यसलाई परिमार्जित रुपमा पुनःआविश्कार गरेपछि एकपटक पुरै विश्व ‘रिटृट’ अर्थात ‘हाइबरनेसन’मा गयो । बुद्धको त्यो महाउर्जा उनको महापरिनिर्वाणको पाँच सय वर्षपछि धाँधलीमा पर्यो । बुद्ध पनि राजनीतिकरण गरिए । अनि जन्मियो बुद्ध धर्म । अब हाम्रा कपिलवस्तुका बुद्ध पनि बजारको ढकतराजुमा जोखिइन थाले । आज पर्यन्त उनी बजारमा बेचिन्छन् । किनिन्छन् । अनि फेरि बेचिन्छन् । मान्छेहरुले उनको टाउकाको ब्यापार गरेर नाफा कमाएको कमायै छन् ।

केही दिन अघि मेरा बेलायती बौद्ध भिक्षु मित्र मौरिस रोबेले लकडाउन बारे च्याट हुँदा लेखे, ‘द वर्ल्ड ह्याज ट्रान्स्फर्म्ड इन्टु अ बिग रिटृट !’ अर्थात, पुरै संसार आज एउटा विशाल रिटृटमा परिणत भएको छ !

जीवजन्तुले हिउँदमा आफूलाई ‘हाइबरनेट’ गर्ने गर्छन् । तर नेपालमा हामी अहिले गर्मीका बेला ‘लकडाउन’का कारण घरै बसेर आफूहरुलाई ‘हाइबरनेट’ गरिरहेका छौँ । यसको माने, उर्जा संचय र कुनै पनि बाह्य संक्रमणबाट बच्नु नै हुन आउँछ ।

र, अहिले पुरै पृथ्वी ग्रह नै पनि एककिशिमको ‘हाइबरनेसन’मा छ । जताततै जगत फक्रिन थालेको छ । स्वच्छ हुन थालेको छ । मान्छेको चहलपहल ठप्प हुँदा पो मूर्झाएको प्रकृति घड्याप्पै जागेको छ । तसर्थ भूल त यहाँ मान्छेकै रहेछ भन्ने पनि सावित भइसकेको छ ।

छाँटकाँट हेर्दा यो ‘लकडाउन’ लामै जाला जस्तो छ र कोरोना महामारी कैयन अथक प्रयासका बावजूद त्यति सजिलै साम्य होला जस्तो लाग्दैन । यो लेख तयार पारुन्जेलसम्म कोरोना संक्रमणबाट मर्नेहरुको संख्या एक लाखको हाराहारीमा पुगिसकेको छ । अनि शक्तिराष्ट्रहरुले मृत्युमाथि नै घिनलाग्दो राजनीतिको शंखनाद गरेको प्रष्ट भइसकेको छ जो निकै घातक लाग्छ । र, यसमा सबैभन्दा अग्रपंक्तिमा छ शक्तिराष्ट्र अमेरिका । भौतिकवादको चरमता भोगेर आज असफल सावित भएको अमेरिकाको अहिलेका सम्पूर्ण ब्यवहारहरु हेर्दा ऊ नराम्रोसँग अत्तालिएको छ ।

यहाँ स्व. बालकृष्ण समले प्रह्लादमा उहिल्यै हामीलाई छाडेर जानुभएको एउटा महत्वपूर्ण वाक्य पेश गर्न चाहन्छु : ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ ।

पूर्विय सभ्यता जति नै हेपिए पनि ज्ञानको सम्पदा हो भने पश्चिमाहरुले जति नै आकाश चुमे पनि त्यो विनाशको पराकाष्ठा मात्रै हो । उनीहरु सकिनका लागि नै त्यसरी उम्लिएका थिए । भौतिकवाद चरम उम्लिएपछि मानव इतिहासमा कैयन पटक कैयन सभ्यताहरु पलभरमा नै ध्वस्त भएर गएका छन् ।
त्यसैले अब विषयवस्तुको केन्द्रमा प्रवेश गर्न चाहन्छु । र, केही प्राकृत समाधानहरु उधिन्न चाहन्छु । भौतिकवादको भूमरीमा रुमल्लिरहेका महानुभावहरुलाई अब लेखिने कतिपय कुराहरु अनौठा, असामान्य र अपत्यारिला पनि लाग्न सक्छन् ।

आगो निभाऔँ, ‘सिज दि फायर’
यस प्रसंगको शुरुवात त आगोबाट नै गर्नुपर्ने हुन्छ । के आगो प्राकृतिक हो ? कि यो जबर्जस्ती घोटेर उत्पन्न गरिएको हो ? मान्छे बाहेक प्रकृतिका अरु कुन जीवजन्तु र बनस्पतिलाई आगो चाहिन्छ ? जब कि प्रकृतिमा अरु सबैलाई सूर्यको तापले पुगिरहेको छ भने मान्छेलाई किन चाहिन्छन् विभिन्न अप्राकृतिक वस्तुहरु ? यसको जवाफ त एउटै छ : विनाशका लागि । पश्चिमाहरुकै धर्मग्रन्थमा भविष्यवाणी छ ः दि एलिमेन्ट्स विल बी डिस्ट्रोयड बाइ फायर अर्थात तत्वहरु आगोले जलेर नष्ट हुनेछन् ।

आगो नै मानवको सबैभन्दा ठूलो दुष्मन हो । मानवको मात्रै होईन, आगो ग्रहकै लागि खतरनाक तत्व हो । यदि दुनियाँ जीवित र सलामत रहन चाहन्छ भने, उसले सबैभन्दा पहिले दुनियाँबाटै आगो निभाओस् । उसले आगो म्यूजियममा पनि नराखोस् । ताकि कसैले रुपियाँ पैसाको बलमा चोरेर या हडपेर बेच्न पनि नसकोस् । अनि दुनियाँ जलेर राख् नहोस् ।

नआत्तिनुहोस, आगोको अभावमा हामी मरीहाल्ने छैनौँ । सूर्य अझै तातो छ । यो सेलाउँदैछ भने पनि यसलाई ठण्डा हुन अझै करोडौं वर्ष लाग्ने छ । र, उर्जाका लागि यसको प्रकाश मानवको सबैभन्दा अन्तिम, शाश्वत र ईश्वरीय उपहार हो ।

आगो आज बजारमा चारानामा पाईन्छ । चाराना होस या चार रुपियाँ बात एकै हो । अन्तर केवल समयको हो । र, त्यो सलाइको एउटा काँटिले पुरै दुनियाँ जलाउँन सक्छ । एउटै सलाइको काँटिले पुरै दुनियाँ एक्कै चोटी जलाउन नसक्ला । तर पनि यसले दुनियाँलाई धेरैतिरबाट जलाइ सकेको छ । अनि त्यो जल्ने क्रम पनि बढ्दो छ ।

आगो निभाउँनासाथ पृथ्वीलाई घात गर्ने अनेकौं शैतानी होडहरु बन्द हुनेछन् । पृथ्वी हल्का हुनेछिन् । यिनी पुनः क्रमशः आफ्नै स्वरुपमा फर्किने छिन् ।
पृथ्वी एक अति जीवित ग्रह हो । यो त्यसो छ र यहाँ हामीले अस्तित्व पायौं । बृहस्पति एक मृत ग्रह हो । कसलाई के थाहा त्यहाँ पनि कुनैदिन जीवन थियो कि ? आगो लागेर पो नष्ट भयो कि ?

दुनियाँबाट आगो निभाए पनि, एकथरी विद्वानहरु दावी गर्छन् कि जंगलमा बृक्षहरु टकराएर पनि त आगो उठ्छ । उठ्दैन र ?

अब यहाँ बुद्धिमान प्राणीको काम आउँछ । उसले आफ्नो प्रविधी त्यहाँ प्रयोग गरेर जस्तै घना जंगलको पनि अविछिन्न निगरानी गर्नुपर्छ र जंगलमा आगोजन्य कुनै भवितब्य पर्दा उसले त्यो आगो निभाउन आफ्ना सारा स्रोतहरु खन्याउनु पर्ने हुन्छ । दन्किरहेको दुनियाँको आगो पूर्णरुपमा ननिभाई यो ग्रहलाई फेरि पुरानै स्थितीमा फर्काउन कठिन छ ।

पृथ्वीको दोहन कहिलेसम्म ?
पृथ्वीको गर्भबाट जे झिके पनि त्यो मानव शरिरबाट टनाटन रगत र अवयव झिके जस्तो हो । पृथ्वीको गर्भबाट एउटा ब्यापारीले पेट्रोल झिकेर मेशिनहरु चलाउँन बेच्नु, आफ्नै रगत झिकेर शराब बनाइ पिएर मात्नु सरह हो । पृथ्वी एक अति जिवित ग्रह हो । यो एउटा मानवभन्दा अतिशय विशाल भएका कारण हामीलाई यसको संवेदनशिलता थाहा नभएको मात्रै हो ।

पृथ्वीको भित्रि सतहमा अज्ञात कारणका लागि विध्यमान पदार्थ, तत्व वा जुनसुकै वस्तु मान्छे जाबोको प्यास बुझाउँन ‘स्पिड’ बढाउने ‘इञ्जिन’ चलाउँन पक्कै थिएन होला । थियो भन्नु सिमलको भुवा मान्छेको तकिया बनाउँनका लागि हो भन्नु जस्तै हो । सिमलको भुवा त उसका बीउहरु उडेर टाढाटाढा जाउन् र उम्रिएर आकाश चूमून भन्नाका खातिर प्रकृतिले उत्पादन गरेको थियो । विशाल सिमलबृक्ष मुनि उसका बिरुवाहरु उम्रिँदैनन् । उम्रिए पनि उनीहरु हुर्किएर आकाश चुम्न सक्दैनन् । उनीहरुले टाढाटाढा नगइ सुखै छैन ।

एउटा रकेट आकाशमा प्रक्षेपण गर्दा जुन धक्का पृथ्वीलाई लाग्छ, र त्यसमा जति क्षति तथा खर्च हुन्छ, त्यसको नतिजा भयाभह देखिन्छ । भनिन्छ, पृथ्वीमा भएका सबै आणविक हतियार आदिले पृथ्वीलाई दर्जनौं पटक पड्काउँन सकिन्छ । यहाँ यति धेरै बिष्फोटक र कुडाकर्कट थुपारिएको छ जो यहाँका सारा प्राणी भन्दा बढी, भारी र खतर्नाक छ । क्रमशः

Facebook Comments