परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

खाएँ त खाएँ बालुवाटार खाएँ

फुटानी

बालुवाटारको जग्गा पनि अचम्मकै र’छ । मलाई त समाचार पढ्दा नै ज्वरो आयो । त्यहाँ राणाहरुको भूतले तर्साउछ भन्थे हो कि क्या हो ? त्यहाँको अनिष्टले हाम्रो विजय दाइलाई गम्लङ अँगालो मारो अरे । त्यो भूतले अंगालो मारेपछि छोड्दैन भन्थे । रन्थन्याउँछ कि क्या हो ! दाइ नेपाली काँग्रेस भकैले यस्तो भको हो । अनि भ्रष्टाचार र नेपाली काँग्रेस ! यो हुनै नसक्ने कुरा ! म कुनै पनि हालतमा मान्दिन । दाइ, म छु डराउनु पर्दैन ।

१३ पटक मन्त्री भ’को मान्छेलाई यसरी क¥याप झ्याप पार्नु हुन्छ । पहिला पनि फडिन्द्रलाई चिलिम फर्काउँदा त्यत्रो वर्ष जेल बसेको । अब फेरि जगन्नाथ देवलकै छेउमा बस्नु पर्ने ! यो हुनै नसक्ने कुरा ! अदालतले फासफुस नपारुन्जेल हल्लाखल्ला गर्न पाए । दाइले डराउनै पर्दैन । निउँ खोज्छन् भने भनी दिनु – काँग्रेस भकैले भ्रष्टाचार गरेको हो र सिंगो काँग्रेस पार्टीले काँध हाल्छ भनेर ।

हैन के भ’को हँ अहिलेको सरकार ! उहिलेको कुरा किन अहिले खोतल्नु परेको । हामीलाई राम्रो थाहा छ कसरी मिलार खानु पर्छ भन्ने कुरा । यही वालुवाटारमा मात्रै कता के फुस्कियो त्यसैले तल वितल परेको हो । अरु के चाहिँ थाहा पायो र यो सरकारले !

एउटा कुरो चाहिँ विजय दाइले गल्ती गरेकै हो । उपेन्द्रको पार्टी नछोडेको भए आधा फुटाएर लिपिक्क सरखारमा टाँसिन पाइन्थ्यो । सरखारमा नभएकै कारण अहिले चिलले कुखुरा भुत्ल्याए जस्तो भुत्ल्याउन थाले । चित्त दुख्ने कुरो छ दाइ ! नखाएर को बाँच्छ ? गंगालालहर्ले नखाएरै सहिद भए, विपी, मनमोहन, मदन भण्डारी हर्ले खाएनन् मरेर गए, मुक्तिनाथ अधिकारी, फडिन्द्र तिमिल्सिनाहर्ले खाएनन् चिलिम फर्काइयो । अब हामी पनि नखाएर त्यस्तै हुनु ! खानका लागि बाँचेको भन्ने यिनार्लाई थाहा छैन कि क्या हो । हाम्रो काँगे्रस अहिले अलि दुब्लो भएको मौका छोपेर यिनारु मात्तिएका हुन् । नत्र के चाहिँ गरिएन ! लाउडा पचाएकै हो, वाइडबडी पनि लफण्डयाएकै हो । किन जिब्रो चपाएर बोल्नु ! सरुवा, बढुवा, नियुक्ती, ठेक्कापट्टामा नखाएको भए आफू र काँग्रेस कसरी पालिन्थ्यो । वाइयात मुद्दा लगाउने ! खाएँ त खाएँ वालुवाटार खाएँ भनेर भन्दिनु दाइ !

समय पनि हाम्रा लागि पर्तिकुल भ’को हो कि जस्तो लाग्छ । हेर्नुन नाथे आयोगको अध्यक्षे, सदस्ये, सरुवा, नियुक्तीमा सत्तापक्षेसँग ‘वार्गेनिङ्ग’ गरेर बस्नु पर्छ । अब देखाउनु पर्छ यिनार्लाई । सदन चल्न दिनु हुँदैन । कक्राएर राख्नु पर्छ । विजय दाइको मुद्दा फिर्ता नलिएसम्म हामी काँग्रेसी एक भएर अख्तियार खारेजीको माग गर्नु पर्छ । ‘नरहे वाँस, नबजे बाँसुरी’ बनाएर छाड्नु पर्छ ।

दाइ फेरि पनि भन्छु आत्तिनु पर्दैन । माओवादीले ठूलो स्वरमा बोल्नु र मुक्का बजार्ने गरेकै भरमा खायो । हामीले मिलाएर खायौं । अहिले हाम्रो दिन विग्रेकोले होला पुरानो कोदो उकेल्न लगाउँदै छन् । जब हाम्रो सरकार आम्छ तब यिनारु माथि कोरोना भाइरस खनिए जसरी खनिनु पर्छ ।

हामीले मात्रै खा’को हो र ! भविष्यमा हेर्नु होला नेकपाका वड्के नेताहरु, वर्तमान प्रधानमन्त्रीको नाम बेचेर खानेहरु सबका सब जाकिन्छन् । दाइ ! वामेहर्लाई जति सम्झियो उति रिस उठ्छ । अन्तिममा हाम्रो काँग्रेस जिन्तावात ! सबैलाई जै नेपाल ।

Facebook Comments