परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बारबर्दिया नगरपालिका: शिक्षामा सुधारको संकेत

खोजी रिपोर्ट

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी घोषणापत्रमा शिक्षाको मौलिक हक कार्यान्वयन गर्न कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने प्रतिबद्धता थियो । तर, चुनावपछि बनेको वाम सरकारले त्यो बाचा पूरा गरेन । उसले आर्थिक वर्ष २०७६/७७ को बजेटमा शिक्षामा कुल बजेटको १०.६३ प्रतिशत अर्थात् रु.१ खर्ब ६३ अर्ब मात्र विनियोजन ग¥यो ।

संघीय सरकार आफ्नै घोषणाबाट पछि हटे पनि बर्दियाको बारबर्दिया नगरपालिकाले भने शिक्षा क्षेत्रमा कुल बजेटको २३.२२ प्रतिशत विनियोजन ग¥यो । नगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षामा रु. ४ करोड १५ लाख ७७ हजार बजेट विनियोजन गरेको छ । यसमध्ये बहुप्राविधिक शिक्षामा रु.७५ लाख र सरकारी विद्यालय सुधारमा रु.३ करोड ५० लाख खर्च हुनेछ । मेयर दुर्गाबहादुर थारू भन्नुहुन्छ, “शिक्षा क्षेत्र विकासको पूर्वाधार हो । त्यसैले नगर बजेटको ठूलो हिस्सा शिक्षामा लगानी गरेका छौं ।”

नगरपालिकाले सरकारी विद्यालय सुधारका लागि शिक्षाको जग ठानिएको प्रारम्भिक बाल विकासकै सुधार शुरू गरेको छ । नगरभरि ९६ वटा बाल विकास केन्द्र छन् । तिनको भौतिक तथा शैक्षिक सुधारका लागि भवन तथा कक्षाकोठाको मर्मत र शैक्षिक सामग्री व्यवस्थापन गरिएको छ । सहयोगी कार्यकर्ता (बाल शिक्षक) को न्यूनतम शैक्षिक योग्यता एसएलसी तोकिएको छ । यसअघि एसएलसी भन्दा कम शैक्षिक योग्यता भएकालाई समेत बाल विकास केन्द्रको जिम्मा दिने गरिएको थियो ।

बारबर्दिया नगरपालिकाको सिम्हा माबिका विद्यार्थीहरू कक्षा कोठामा पढ्दै ।

योग्यताको नयाँ मापदण्डले एसएलसी भन्दा कम योग्यताका सात जना शिक्षकलाई विस्थापित गरेर प्रतिस्पर्धाबाट ७ जना नयाँ बाल शिक्षक नियुक्त गरिएको छ । हरेक विकास केन्द्रमा न्यूनतम एक जना बाल शिक्षक सुनिश्चित गरिएको छ । तिनलाई नगरपालिकाले बाल विकास सम्बन्धी तालिम दिएको छ । उनीहरूलाई २०७५ वैशाखदेखि मासिक थप रु.२ हजार भत्ता दिइएको छ । त्यसअघि उनीहरूले मासिक रु.६ हजार पारिश्रमिक पाउने गरेका थिए । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार नगरपालिका क्षेत्रका ९६ वटा बाल विकास केन्द्रमा २ हजार ११२ विद्यार्थी छन् ।

नगर शिक्षकको व्यवस्था

बारबर्दिया नगरपालिकाभित्रका १४ मावि, १० आधारभूत र १९ प्राथमिक गरी ४३ सरकारी विद्यालयमा १७ हजार ५९३ छात्रछात्रा छन् । यी विद्यालयमा ११७ शिक्षक अपुग थियो । दरबन्दी अनुसार शिक्षक नहुँदा पढाइ प्रभावित भएको थियो । पर्याप्त योग्य शिक्षक विना सिकाइ उपलब्धि सुधार हुन नसक्ने निचोडमा पुगेको नगरपालिकाले वैशाख २०७५ मा प्रतिस्पर्धाको माध्यमबाट ११७ जना नगर शिक्षक पदपूर्ति ग¥यो ।

अरू नगरपालिकाको ध्याउन्न नगर प्रहरी नियुक्तिमा छ तर बारबर्दियाले नगरकै लगानी र व्यवस्थापनमा नगर शिक्षक आपूर्ति शुरू गरेको छ । यो व्यवस्थाले नगरभित्रका स्कूलले झेलेको विषयगत शिक्षकको अभाव पूर्ति भएको छ । मेयर थारू भन्नुहुन्छ, “लिखित परीक्षापछि हुने अनेक खाले चलखेल रोकेर पारदर्शी तरिकाले फास्ट ट्र्याकबाट नगर शिक्षक नियुक्ति गरिएको हो । योग्य शिक्षक विना शिक्षा सुधार हुँदैन  । त्यसैले नगरले नियुक्त गरेका शिक्षकले हाम्रा विद्यालयलाई मीठो प्रतिफल दिने विश्वास लिएको छु ।”

बर्दियाका पूर्व जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह नगरले एकै दिनमा लिखित र मौखिक परीक्षा गरेर योग्य शिक्षक भर्ना गरेकोले शिक्षक नियुक्तिमा हुने चलखेल रोकिएको भन्नुहुन्छ । शिक्षक महासंघ बारबर्दियाका उपाध्यक्ष समेत रहनु भएका जनता मावि रम्भापुरका प्रअ रामप्रसाद धिताल नगरमा शुरू भएको परिपाटीले विगतमा शिक्षक नियुक्तिमा हुने राजनीतिक भागबन्डा र हस्तक्षेप समाप्त भएको भन्नुहुन्छ ।

धितालकै विद्यालयमा नगरले आपूर्ति गरेका माध्यमिक तहका सामाजिक विषयका शिक्षक जगनाथ त्रिपाठी, निमाविका अंग्रेजी शिक्षक प्रशान्त तिमिल्सेना र प्रावि तहका लालबहादुर बुढाले शिक्षक सेवा आयोगको लिखित परीक्षा पास समेत गर्नु भएको छ । “नगरको शिक्षक छनोट प्रक्रिया स्वच्छ र प्रतिस्पर्धी भएको यो एउटा प्रमाण हो”, प्रअ धिताल भन्नुहुन्छ ।

नगर शिक्षक आपूर्तिपछि बारबर्दिया नगरपालिका दरबन्दी अनुसार शिक्षक व्यवस्था भएको पहिलो नगरपालिका बनेको छ । नगर शिक्षकसँग नगरले एकवर्षे करार सम्झौता गरेको छ । त्यसमा विद्यालयको पठनपाठन सुधार उनीहरूको मूल्यांकनको मुख्य कडी मानिएको छ । नगर शिक्षकले शिक्षक सेवा आयोगले स्थायी शिक्षक आपूर्ति गरेपछि भने स्वतः छाड्नुपर्ने शर्त राखिएको छ ।

नेपालको संविधानको मौलिक हकको धारा ३१ को उप धारा २ मा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था गरिएको छ । तर सरकारले विद्यालयहरूलाई दरबन्दी अनुसार शिक्षक उपलब्ध गराएको छैन । त्यसैले निजी स्रोतमा विद्यालयले नियुक्त गरेका शिक्षकको तलब जुटाउनकै लागि कतिपय विद्यालयले विद्यार्थीबाट शुल्क असुल्दै आएका छन् ।

कतिसम्म भने नगरपालिकाले नगर शिक्षक नदिंदासम्म जनता माविले अभिभावक भेला गरेर ६ देखि १० कक्षाका विद्यार्थीबाट प्रति विद्यार्थी वार्षिक करीब १२०० को हाराहारीमा शुल्क उठाउने गरेको थियो । तर, नगरपालिकाले नगर शिक्षक पठाएपछि गएको वर्षदेखि बारबर्दियाका कुनै पनि विद्यार्थीले परीक्षा शुल्क बाहेक अन्य शुल्क तिर्नु परेको छैन । “निःशुल्क शिक्षाको संवैधानिक व्यवस्था कार्यान्वयनको अभ्यास बारबर्दियामा शुरू भएको छ”, मेयर थारू थप्नुहुन्छ ।

हुन पनि नगरका १४ माविमध्ये पाँच वटामा मात्र मावि तहका स्थायी शिक्षक प्रअ थिए । बाँकी ९ वटा माविमा प्राथमिक र आधारभूत तहका शिक्षक नै प्रअ बनाइएका थिए । योग्यता पुगेका सक्षम शिक्षकलाई प्रअको जिम्मेवारी दिने नीति नगरले लिएको छ । नगरको नयाँ व्यवस्था अनुसार प्रअसँग विद्यालय विकासको प्रस्ताव लिई पञ्चवर्र्षीय कार्य सम्पादन सम्झौता गरिएको छ ।

नयाँ नीतिमा प्रअलाई शिक्षकको कार्यसम्पादन र आचरण सम्बन्धी प्रतिवेदन तयार पारी विद्यालय व्यवस्थापन समितिमा पेश गर्ने, लापरबाही गर्ने शिक्षकलाई कारबाहीस्वरुप अवकाशसम्मको सिफारिश गर्न सक्ने थप २५ अधिकार दिइएको छ । नगरपालिकाले प्रअको साविकको सुविधामा माविका प्रअलाई मासिक रु.१०००, प्राविका लागि रु.८०० र आधारभूतका लागि रु.७०० थपिदिएको छ ।

मावि संचालन भए पनि आधारभूत र प्रावि तहका प्रअ रहनु भएका अमर शहीद दशरथ चन्द मावि खैरेनी, धर्मभक्त मावि कतर्निया, जनज्योति मावि बनगाई, जनसेवा मावि वैदी, किसान मावि फच्कहवा, सिम्हा मावि बेलभार, युवक मावि थानफेना, नेपाल राष्ट्रिय मावि वेलावाबज्जा, भानुभक्त मावि सिउनियामा मावि तहकै स्थायी शिक्षकलाई प्रअको जिम्मेवारी दिएर पठाइएको छ ।

नगरपालिकाले माविमा जस्तै १० वटा आधारभूत र ११ वटा प्राविमा सम्बन्धित तहका स्थायी शिक्षकलाई प्रअको जिम्मेवारी दिइएको छ । अन्य २२ जनालाई विषयगत शिक्षकको रूपमा काज सरुवा गरिएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टेकप्रसाद पाण्डे नगरको यो कदमले विद्यालयको पठनपाठन सुधार शुरू भएको बताउनुहुन्छ ।

अनाथलाई छहारी

बारबर्दिया नगरपालिकाले जनतासँग मेयर कार्यक्रम अन्तर्गत बेलभारमा संरक्षण केन्द्र खोलेर अभिभावक नभएका अति गरीब तथा अनाथ बालबालिकाको पठनपाठनको व्यवस्था पनि मिलाएको छ । २०७५ सालदेखि संचालनमा आएको यस केन्द्रमा नगरका ६ जना छात्रा र १५ जना छात्रले आश्रय पाएका छन् । उनीहरूको पठनपाठनको व्यवस्था सिम्हा मावि बेलभारमा मिलाइएको छ । ती छात्रछात्राको शिक्षा, स्वास्थ्य लगायत सबै दायित्व नगरपालिकाले लिएको छ । कक्षा ६ की सम्झना चौधरी नगरपालिका नै आफ्नो सम्पूर्ण अभिभावक बनेकोमा दंग हुनुहुन्छ ।

अध्ययन गरिरहेका अभिभाबक नभएका गरिब तथा बिपन्न परिवारका बालबालिकाहरु ।

केन्द्रमा ल्याइएका बालबालिकालाई खान–बस्नदेखि साँझ–बिहान पढाउन शिक्षक, वार्डेन र सहयोगीको समेत व्यवस्था नगरले गरेको छ । केन्द्र संचालन गर्न अघिल्लो वर्ष नगरको रु.२५ लाख खर्च भएको थियो भने यो वर्ष करीब रु.१६ लाख विनियोजन गरिएको छ । केन्द्रमा राखिएका बालबालिकालाई कम्तीमा उमाविसम्मको पठनपाठनको दायित्व नगरले लिने उपप्रमुख अन्जु दहित बताउनुहुन्छ ।

नगरपालिका क्षेत्रका विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यले नगरपालिकाले २०७५ मा विशेष भर्ना अभियान संचालन ग¥यो । त्यो अभियान अन्तर्गत मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य, शिक्षा शाखाका प्रमुख र शिक्षकहरू घरदैलो अभियानमा खटिएका थिए । त्यो अभियानले अभिभावकलाई सार्वजनिक शिक्षाको महत्व बुझाउन सहयोग पु¥यायो । अभियानका क्रममा ५ देखि १२ वर्ष उमेर समूहका २८४ जना विद्यालय बाहिर भेटिए । तीमध्ये २६३ जना बालबालिकाका अभिभावकसँग छलफल गरी छात्रवृत्ति दिएर सरकारी विद्यालयमा भर्ना गरिएको छ भने २१ जनालाई बेलभार संरक्षण केन्द्रमा राखेर पढाइएको छ । 

नगर क्षेत्रका विद्यालयको सिकाइ उपलब्धि बढाउन प्रविधिमैत्री पठनपाठनमा जोड दिइएको छ । कक्षाकोठामा कम्प्युटर, एलईडी टीभी, साउन्ड सिस्टमका माध्यमबाट पढाउन शुरू गरिएको छ । यसैगरी धेरैजसो विद्यालयमा नयाँ पुस्तकालय, प्रयोगशाला तथा पुराना पुस्तकालयको स्तरोन्नति गरिएको छ । गत वर्ष नगरपालिकाले एलईडी टीभी, साउन्ड सिस्टम लगायतका उपकरण खरीदका लागि ३३ वटा विद्यालयलाई रु.३० हजारदेखि रु.६५ हजारका दरले अनुदान दिएको थियो । विद्युत् क्षमता कम भएका कारण कम्प्युटर कक्षा संचालनमा समस्या आएपछि नगरपालिकाले जनता मावि रम्भापुरलाई नयाँ ट्रान्सफर्मर खरीद गर्न समेत सहयोग गरेको छ ।

नेपाल दूरसंचार प्राधिकरणसँग सहकार्य गरी युवक, जनता र भानुभक्त माविमा सूचनाप्रविधि प्रयोगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको छ । प्रयोगशालामा २४ वटा कम्प्युटर सहित इन्टरनेटको सुविधा हुनेछ । अन्य विद्यालयमा इन्टरनेटको पहुँच विस्तार गरी प्रविधिको प्रयोग मार्फत पठनपाठनलाई थप प्रभावकारी बनाउन नगरपालिकाले प्रयास गरिरहेको मेयर थारूले जानकारी दिनुभयो ।

निजी छाडेर सरकारीतिर

नगरपालिकाले सरकारी विद्यालय सुधारमा जोड दिएपछि बोर्डिङ स्कूल छाडेर सरकारीमा भर्ना हुने क्रम बढेको छ । यसै शैक्षिक सत्रमा बारबर्दियामा बोर्डिङ छाडेर युवक माविमा ७५ जना, जनता मावि रम्भापुरमा ५५ जना भर्ना भएका छन् । सरकारी विद्यालयप्रति अभिभावकको भरोसा बढाउन स्वयं मेयर आफैं अग्रसर हुनु भएको छ ।

मेयर थारूले आफ्नी छोरी स्मृति थारूलाई गुलरियाको सनराइज बोर्डिङ स्कूलबाट बंगलामुखी माविमा सार्नु भएको छ । उहाँकी छोरी अहिले कक्षा ६ की छात्रा हुनुहुन्छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर रामबहादुर थारूका अनुसार यो वर्ष मात्रै बारबर्दियाका सामुदायिक विद्यालयमा बोर्डिङ छाडेर करीब ७७० जना सरकारी विद्यालयमा भर्ना भएका छन् ।

नगरपालिका क्षेत्रका विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यले नगरपालिकाले २०७५ मा विशेष भर्ना अभियान संचालन ग¥यो । त्यो अभियान अन्तर्गत मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य, शिक्षा शाखाका प्रमुख र शिक्षकहरू घरदैलो अभियानमा खटिएका थिए । त्यो अभियानले अभिभावकलाई सार्वजनिक शिक्षाको महत्व बुझाउन सहयोग पु¥यायो । अभियानका क्रममा ५ देखि १२ वर्ष उमेर समूहका २८४ जना विद्यालय बाहिर भेटिए । तीमध्ये २६३ जना बालबालिकाका अभिभावकसँग छलफल गरी छात्रवृत्ति दिएर सरकारी विद्यालयमा भर्ना गरिएको छ भने २१ जनालाई बेलभार संरक्षण केन्द्रमा राखेर पढाइएको छ ।

आफ्नो क्षेत्रका शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएपछि बारबर्दिया नगरपालिका कक्षा ८ सम्म  अनिवार्य आधारभूत शिक्षा निःशुल्क भएको नेपालकै पहिलो नगरपालिका बनेको छ । २८ असार २०७५ मा बारबर्दियालाई अनिवार्य आधारभूत शिक्षा निःशुल्क भएको घोषणा गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भन्नुभएको थियो, “मौलिक हकको रूपमा रहेको आधारभूत शिक्षालाई सबै बालबालिकाको पहुँचमा पु¥याएर बारबर्दियाले उदाहरणीय काम गरेको छ ।”

नगरपालिकाले साक्षरता अवस्था पत्ता लगाउन गत वर्ष घरधुरी सर्वेक्षण गर्दा ५ हजार ८६४ जना निरक्षर भेटिएका थिए । ती सबै निरक्षरलाई साक्षर बनाउन ९४ जना सहजकर्ता नियुक्त गरी पठनपाठन शुरू गरिएको छ । तिनलाई सामान्य लेखपढ गर्न सक्ने गरी साक्षर बनाएर यसै वर्ष बारबर्दियालाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने तयारी समेत अघि बढेको छ ।

स्थानीय सरकार गठनपछि जनप्रतिनिधिले विद्यालयको समस्यामा चासो राख्ने, सहयोग र सहजीकरण गर्न थालेपछि विद्यालयको शैक्षिक वातावरणमा क्रमशः सुधार आएको छ । विद्यालयहरूले शैक्षिक क्यालेन्डर बनाएर त्यस अनुसार पठनपाठन अघि बढाएपछि विद्यार्थीको उपस्थिति बढेको छ । क्यालेन्डर बनाउनुअघि ७५ प्रतिशत उपस्थिति रहेकोमा अहिले ८५ प्रतिशत पुगेको छ । विद्यार्थीले पढाइ पूरा नगरी बीचैमा कक्षा छाड्ने क्रम पनि घटेको सिम्हा माविका प्रअ रामप्रसाद थारूले बताउनु भयो ।

शिक्षा शाखाका प्रमुख पाण्डेका अनुसार बारबर्दियाका सबै विद्यालय वर्षमा २२० दिन खुलेकै हुन्छन् । ती विद्यालयमा कम्तीमा १९२ दिन पढाइ संचालन हुन्छ । गतिलो सिकाइ उपलब्धि हासिल गरेर युवक, जनसेवा, जनता मावि र जनशक्ति आधारभूत विद्यालयले गत वर्ष नगरपालिकाबाट रु.५० हजारदेखि रु.१ लाख ५० हजारसम्म थप अनुदान पाएका थिए ।

गएको शैक्षिक सत्रमा नगर क्षेत्रका विद्यालयको औसत वार्षिक सिकाइ उपलब्धि न्यूनतम ५० प्रतिशत भन्दा माथि छ । बारबर्दिया नगरपालिकाको शिक्षा शाखाका अनुसार गएको शैक्षिक सत्रमा नगर क्षेत्रको विद्यालयको प्राथमिक तहको औसत सिकाइ उपलब्धि ६२.३९ छ भने कक्षा ६ र ७ को ५८.२७ । त्यस्तै कक्षा ८ को ५६.१३ प्रतिशत छ भने कक्षा ९ र एसईईको ५१.४९ प्रतिशत ।

सौजन्यः खोज पत्रकारिता केन्द्र

Facebook Comments