बुढ्यौली
लघुकथा
म केही दिनअगाडि मेरा मीतबा भेट्न मेरै गाउँतिर गएँ, जसको भोगाइ मेरो बुझाइलाई जिप्ट्याइदिन समर्थ थियो ।
नमस्कार मीतबा,……आएको बेलाँ के छ हालखबर भनेर यसो छिरेको नि !
“के हुनु र बाबु, शरीर कमजोर हुँदै गयो । पहिले जस्तो काम गर्ने आँट पटक्कै छैन l हेर न …. साँझ झिमिक्कै भैसक्यो, बेशी गएकी बुढी अहिलेसम्म आएकी हैनन् । आफू पनि दिनभरि तल्लोपाखामा बाँदर लखेटेर बल्ल घर आइपुगेँ । भात-भान्छाको सुर-सार त परै जाओस् ।”
“पहिले यो घर धेरै रमाइलो थियो l हाम्रा जम्मा आठ सन्तान हुन् । दुइटा सानैमा खेर गए l अरु सप्पै राम्रा छन् । सबैलाई मायाले हुर्काइयो । तीनवटै छोरीहरू बिहे भएर आ-आफ्ना घर गए । तीन छोराहरू सबै विदेशमा छन् । बुहारीहरू एउटी धादिङ्गमा, अर्की काठमान्डूमा, अनि कान्छी बुहारी र कान्छो छोरो सँगसँगै क्यानाडामा बस्छन् । अचम्मै भो, अरुले देख्दा असाध्यै राम्रो देखिन्छ तर हाम्रो मनमा शान्ति चाहिँ छैन । आठ-आठ जना सन्तान हुर्काउन हाम्लाई कहिल्यै असहज भएन, आज हामी बुढा-बुढी भने सबैको घाँडो भैयो कि क्या हो, जस्तो लाग्छ।”
“तिमी आफै भन न बाबु, अब छोरछोरी बाहिर छन् भनेर हामी बिरामी नै नहुनू, अनि आफ्नो बुढ्यौली पनि धकेल्न मिल्छ त ? उनीहरूले पैसा त पठाउलान् तर खै….. उनीहरू कहिले हो आउलान् रे भनेर हाम्रो उमेर र बल कसरी बढाउनु ?”
बेलाबेला म झस्कन्थेँ…। लाग्थ्यो, कुराकानीको क्रममा उब्जेका दुई सवालहरू जुन हाम्रो समाजको बिम्ब हुन् र हामीमध्ये धेरैलाई सान्दर्भिक हुनसक्छ ।
उसैबेला घरको पिंढीमै झुन्ड्याइएको फोन टीङ्ग-टीङ्ग बज्यो l कान्छो-छोरोको फोन रे । एक-छिनको कुराकानी पछि मीतबा फुरुङ्ग देखिन्थे ।
“धन्न बेला-बेला यसलेसम्म सम्झन्छ” भन्दै बाले मलाई सोध्नुभो:
“अनि यो ह्याप्पी फादर्स डे भनेको के हो बाबु? हाम्रो सान-कान्छोले त्यही भएर आज मोलाई सम्झेको र’छ ।”