परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

उच्च र जिल्ला अदालतमा ठूलो हेरफेर, विशेष अदालतमा सेटै परिवर्तन हुँदै

न्यायाधीशहरूको सरुवा तथा जिम्मेवारी हेरफेर

काठमाडौँ । न्यायपरिषद्को बिहीबार बसेको बैठकले विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरूको ठूलो मात्रामा हेरफेर र सरुवा गर्ने निर्णय गरेको छ । यो बैठकले उच्च अदालतका ७८ जना जिल्ला अदालतका १५६ जना न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको छ ।

यसै क्रममा न्यायपरिषद्को आजको बैठकले विशेष अदालतका वर्तमान अध्यक्ष र सदस्यहरूको सेटको सट्टा नयाँ अनुहारहरूलाई तोक्न समेत विभिन्न उच्च अदालतमा कार्यरत न्यायाधीशहरूको नाम नेपाल सरकारलाई परामर्शका लागि सिफारिश गर्ने निर्णय गरेको छ । जसअन्तर्गत उच्च अदालत विराटनगरमा कार्यरत न्यायाधीश शिवराज अधिकारीलाई विशेष अदालतको अध्यक्षको लागि सिफारिश गरिएको छ ।

यसैगरी उच्च अदालत पाटनको हेटौँडा इजलासमा कार्यरत न्यायाधीश कृष्ण गिरी, उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत बालेन्द्र रुपाखेती, उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासमा कार्यरत न्यायाधीश शान्ति सिंह थापा, उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासमा कार्यरत न्यायाधीश चन्द्रबहादुर सारुमगर र उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश रवि शर्मा अर्याललाई विशेष अदालतको सदस्यमा तोक्न नेपाल सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

Facebook Comments