परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मानव अधिकार सम्मान र पुरस्कार शर्मा र मैनालीलाई

मान–सम्मान

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग, नेपालले यस वर्षको दयाराम परियार मानव अधिकार सम्मान पत्रकार तथा साहित्यकार नारायण शर्मा र मानव अधिकार पुरस्कार २०७६ मोहन मैनालीलाई प्रदान गरेको छ ।

आयोगको १९ औँ स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री के पी शर्मा ओलीले हालै ती पुरस्कार हस्तान्तरण गर्नुभयो ।

मैनालीलाई खोज पत्रकारिताका माध्यमबाट मानव अधिकारका क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानका लागि” सो पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ ।

ती पुरस्कारको राशी जनही रु ५० हजार रहेको छ ।

लडाइँमा दुईतिरको चेपुवामा परेका निरस्त्र मानिसको दबिएको आवाजलाई बाहिर ल्याउनु पत्रकारिताको सामान्य धर्म हो, पुरस्कार ग्रहण गरेपछि बोल्दै मैनालीले बताए । त्यसवापत आफूले पुरस्कार पाउँदा लडाइँबाट पीडित भएका मानिसको आवाजलाई कदर गरिएको आफूले ठानेको उनले बताए ।

२०४५ सालमा दैनिक समाजबाट पत्रकारिता शुरु गरेका मैनाली साउथ एशिया चेकका सम्पादक हुन् । उनले आँखीझ्याल भिडियो म्यागजिन, हिमाल खबरपत्रिका र खोज पत्रकारिता केन्द्रमा काम गर्नुका साथै लन्डनस्थित जेमिनाइ न्यूज,भारतको फ्रन्टलाइन तथा नेपालका नेपाली टाइम्स, कान्तिपुरदैनिक लगायतका समाचार संस्था र पत्रपत्रिकाका लागि लेखेका छन् ।

खोज पत्रकारिता, उपल्लो थलो, मान्ठा डराएको जुग र देखेको देश लगायतका पुस्तकका लेखकमैनाली पत्रकारिता विषयका प्रशिक्षक पनि हुन् ।

लडाइँका बेला उनले संखुवासभा, धादिङ, बाजुरा तथा साबिकको कर्णाली अञ्चलका सबै जिल्लाका दुर्गम ठाउँमा पैदल हिँडेर रिपोर्टिङ गरेका थिए । उनले पत्रपत्रिकामा फिचर लेख्नुका साथै जोगीमाराका ज्यूँदाहरू, पुनेको प्यान्ट जस्ता चर्चित भिडियो डकुमेन्ट्री बनाएका थिए ।

लडाइँका बेलामा रिपोर्टिङ गर्दाको यात्रा संस्मरण समेटिएको उनको पुस्तक “मान्ठा डराएको जुग”ले २०७१ सालको पद्मश्री साहित्य सम्मान पाएको थियो ।

लडाइँका बारेमा उनले गरेका केही कामका बारेमा यहाँ हेर्न सकिन्छ ।

https://mohanmainali.wordpress.com/2019/05/25/%E0%A4%B2%E0%A4%A1%E0%A4%BE%E0%A4%87%E0%A4%81%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%87-%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A4%BE-%E0%A4%95%E0%A5%87%E0%A4%B9%E0%A5%80-%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%97/

Facebook Comments