परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपाल नर्सिङ संघले प्राप्त गरेका उपलब्धिलाई नजरअन्दाज नगरियोस्

नेपालमा विगतदेखि आजका दिनसम्मका कार्यहरुलाई विश्लेषण गर्दा स्वास्थ्य क्षेत्रमा गरेको उन्नती सराहनीय छ । यो सम्भव हुनमा प्रत्यक्ष सम्लग्न मानव श्रोत मध्ये संख्या, पारदर्शीता, इमान्दारिता र लगनशीलताको हिसाबले एक नम्बरमा ठडिएको खम्वा हुन नर्स । यो ध्रुब सत्यलाई निर्णय गर्ने तहमा बसेका स्वास्थ्य सेवा प्रणालीका सरोकारवालाहरुले स्वीकार्न सकेका छैनन् । यसका विविध कारणहरु छन् जसलाई समयमा पहिचान गरी सदाका लागि अन्त्य गरिनु पर्ने छ ताकी नर्सिङ पेशा एक सम्मानित पेशाको रुपमा हाम्रो समाजमा स्थापित होस् । त्यसका लागि गरिनु पर्ने केही महत्वपूर्ण कार्यहरु वुँदागत रुपमा यहाँ प्रस्तुत गरेको छु ।
  • नर्सिङ शिक्षाको गुणस्तरमाथि कुनै हालतमा सम्झौता गरिनु हुन्न । विभिन्न विश्वविद्यालयमा हुने शैक्षिक गतिविधी, पाठ्यक्रममा सुधार गरी विश्व स्तरको बनाउनु जरुरी छ । जस्तो त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर नर्सिङमा नर्सिङ शिक्षा र स्वास्थ्य व्यवस्थापन सम्बन्धी ५० घन्टाको मात्र सैद्धान्तिक कक्षा हुनु, प्रमुख विषयमा प्रयोगात्मक परिक्षाको व्यवस्था नहुनु आदि हुन । यस बाहेक अरु धेरै कुरामा तालमेल छैन ।
  • अनुगमन गर्ने निकाय नेपाल नर्सिङ परिषद् र सम्बन्धित सरोकालवाला निकायहरु चुस्त र दुरुस्त बनाउन दवाब दिने र यसका लागि आवश्यक वातावरण तयार पार्न सहयोग जुटाउन नसक्नु पनि अर्को कारण हो । यसका लागि नर्सिङ सङ्घले “जनताको स्वास्थ्य हाम्रो कर्तव्य” भन्ने अभियान नै शुरु गरी जहाँ जहाँ स्वास्थ्य सम्बन्धी कार्य सम्पादन जरुरी छ, त्यहाँ सम्पर्क गरी कार्य गर्ने तथा समन्वय गर्न आवश्यक शाखा कार्यलयहरु स्थापना गर्नु पर्छ ।
  • स्वास्थ्यको गुणस्तर कायम गर्न नर्सको अहम भुमिका रहन्छ । यसका लागि प्रत्येक स्थनीय निकाय नगर पालिका, उपमहानगर पालिका र महानगर पालिकामा नर्सिङको छुट्टै अनुसन्धान इकाई खडा गरी अन्य सरोकारवाला निकायहरुबीच सहजीकरणको भुमिका निर्वाह गर्ने गर्नु पर्छ ।
  • सामुदायिक स्वास्थ्य सहज बनाउन नर्सिङ मानव स्रोत विकास गर्ने कार्ययोजना नै निर्माण गरी काम अघि बढाउनु पर्छ । त्रिभुवन विश्व विद्यालय लगायत नेपाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालमा पनि सामुदायिक स्वास्थ्य नर्सिङ अध्ययन अध्यायपन गर्ने गराउर्ने वातावरण तयार गर्नुपर्छ ।
  • नेपाल सरकारले स्तरीय सेवा प्रदान गर्न नर्सिङ सेवालाई उचित पारिश्रमिकको व्यवस्था मिलाउनु आवश्यक छ ।
  • नेपालभर स्कुल नर्स कार्यक्रम लागु गर्न नेपाल सरकारलाई घचघच्याउनु जरुरी छ ।
  • सुपथ, सर्वसुलभ, गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवा आफ्नो दायित्व र कर्तव्य हो भन्ने बोध गराउन केन्द्र सरकारका स्वास्थ्य मन्त्रालय, विभाग र महाशाखाहरुमा सम्बन्धित नर्स विज्ञहरुको पद स्थापना गर्न दवाब सिर्जना गर्नु पर्छ ।
  • नर्सिङ महाशाखा केन्द्र र प्रदेश तहमा समेत खडा गर्नु पर्छ ।
  • प्रत्येक प्रदेशमा नर्सिङ सङ्घको कार्यालय खोली समन्वय अघि बढाउनु पर्छ ।
  • निकट भविश्यमा हरेक उद्योगहरुमा औद्योगिक नर्स कार्यक्रम लागू गराउनु पर्छ ।
  • पुरुषहरुलाई पनि नर्सिङ शिक्षामा अवसर दिनु पर्छ ।
यी यावत मागहरु नेपाल नर्सिङ सङ्घले इकाई समिति, जिल्ला समितिदेखि लिएर केन्द्रसम्म खरो ढंगले राख्दै आएको छ । तर केही समूह जो नेपाल नर्सिङ सङ्घलाई बदनाम गराउन हरेक हथकण्डा अपनाउँदै आएका छन् । “दुखाई टाउकोमा मल्हम लगाई नाइटोमा” भने झंै समस्या समाधान गर्ने निकायलाई दवाद दिन छोडेर त्यो समूह नेपाल नर्सिङ सङ्घमा बन्द र हडताल गर्न उद्यत्त छ । अर्को तर्फ चिकित्सा शिक्षा विशेष आयोगमा नर्सिङ सहभागिता सम्बन्धी चुँसम्म पनि नबोल्ने तर हाल आएर नर्सिङको भाग्य विधाता आफैं हुँ भन्ने देखाउन खोज्ने प्रवृत्तिलाई पनि वेलैमा चिन्न जरुरी छ । नर्सिङलाई स्वास्थ्यको विशिष्ट विधाका रुपमा स्वीकार गर्न नसक्ने जमात पनि नेपालमा बलियो पकड जमाएर बसेको छ । यो जमात आफ्नो नेतृत्वमा नर्सिङलाई सहयोगीका रुपमा मात्र चित्रण गर्न लागिपरेको छ । यो कुरा नै वर्तमान स्वास्थ्य सेवामा नर्सिङ पेशामाथि आइलागेको डरलाग्दो चुनौती हो । गैरविधागत व्यक्तिहरु नै नर्सिङका लागि छुट्याईएका पदहरुमा पदासिन हुन थालेका छन्, यो अर्को चुनौती हो ।

त्यसैले अहिले के भन्न हामीलाई बाध्य पारिएको छ भने कसैले पनि यती लामो इतिहास भएको साथै स्वास्थ्य क्षेत्रमा अति धेरै काम गरेको नेपाल नर्सिङ सङ्घलाई नजर अन्दाज गर्ने दुस्वप्ना नदेखोस् । नर्सहरुलाई गलत ढंगले उक्साएर संघकै मान मर्दन नगरियोस् । अहिले केही नर्सहरुले थालेको अनसन पेशागत भन्दा बढी राजनीतिक स्वार्थ प्रेरित देखिएको छ । यस कार्यले नर्सिङको एकताको सुत्राधार, विश्वास र भरोसाको एक मात्र संगठन नेपाल नर्सिङ सङ्घलाई सदाका लागि धरासयी बनाउने कोशिस गरेको छ । यो कुरा नर्सहरुले वेलैमा वुझ्नु जरुरी छ । तसर्थ आजकै दिनदेखि नेपाल नर्सिङ सङ्घलाई पुनः माया गरौ, हाम्रा अग्रजहरुको देनलाई मनन गरौं, उहाँहरुलाई गाली बेइज्जती होइन, सम्मान गरौं । यसैबाट नै हामी सम्पूर्ण नर्सहरुको भलो हुन्छ । यसोगर्दा न कोही हार्छ न कसैको क्षती नै हुन्छ ।

नेपाल नर्सिङ सङ्घले स्वास्थ्य क्षेत्रमा कायम ठेक्का प्रथा, भोलेयन्टीयर र अति न्यून पारिश्रमिक दिएर गरिएको शोषणबारे श्रम मन्त्रालयमा, स्वास्थ्य मन्त्रालय नर्सिङ विज्ञ, अस्पताल नर्सिङ विज्ञ र नर्सिङ सङ्घका विज्ञहरु बीच धेरै पटक छलफल गरिसकेको छ । त्यसैको फलस्वरुप अहिले श्रम मन्त्रालयबाट यस सम्बन्धमा काम शुरु पनि भएको छ । जसरी नर्सिङ सघंमाथि कुनै काम नगरेको, नर्सका मुद्दामाथि कुनै सुनुवाई नगरेको, अन्तरराष्ट्रिय नर्सिङ दिवस मनाउने औपचारिकतामा मात्र केन्द्रित भएको आरोप लगाइएको छ, त्यो बिलकुलै गलत र मनगढन्ते आरोप हो । किनकि नर्सिङ सङ्घले विधि सम्मत काम गर्दछ र काम गर्नका लागि वातावरण तयार गर्न सहयोग गर्नेगर्छ । यसले कुनै एक व्यक्तिको हठमा लागेर समाज र राज्यलाई चुनौति दिने काम कहिल्यै गर्नु हुँदैन । नेपाल नर्सिङ सङ्घले गरेका आन्दोलन र हासिल गरिएका उपलब्धीहरुलाई ्नजरअन्दाज गर्ने दुस्साहस पनि अहिले भइरहेको छ ।
हिजोआज नर्सिङ क्षेत्रमा अराजकता बढेको छ । नर्सिङ संघले उचित मागका लागि पहल गर्दागर्दै पनि नर्सिङ क्षेत्रकै विशिष्ट व्यक्तित्व, विभिन्न गरिमामय पदको जिम्मेवारी सम्हालीसक्नु भएका संघका अध्यक्ष विरुद्ध नै नाराबाजी गर्नु कती जायज हो ? यो पनि घोत्लिएर सोच्नु पर्ने अवस्था आएको छ । यो प्रवृत्तिमा कोही पनि खुसी हुनु पर्ने अवस्था छैन किनकि यो नर्सिङ माझ फैलिएको ईबोला भाइरस सावित हुनेछ । अबुर्द रोग जस्तोलाई परास्त गरी सबै कामबाट अवकाश लिएर दिन रात नर्सहरुको उच्च स्थान समाजमा स्थापित गर्न खटिने हुने शिर्ष नर्सिङ हस्तीलाई गाली बेइजति गर्ने र साधारण सभाकै दिन २०७६ साल माघ १६ गते  उहाँकै अध्यक्षतामा सञ्चालित समारोहमा केही व्यक्तिहरुद्वारा सम्पूर्ण नर्सहरुको मान सम्मानमा चोट पु¥याउने गरी गरिएको कार्य जति निन्दा गरे पनि क्षमा योग्य छैन । अहिलेकै नर्सिङ नेतृत्वले धेरै उल्लेख्य काम गरेको छ । आम मानिसहरुमा नर्सिङ सेवा, शिक्षा र व्यवस्थापनप्रति आर्कषण बढ्दो छ । स्वास्थ्य सेवा फलिभूत बनाउन नर्सिङ विना सम्भव छैन भन्ने विश्व स्वास्थ्य संगठनको ठम्याई छ र त्यही अनुरुप “आजको नर्सिङ्” मार्फत बृहत रुपमा कार्य गर्ने योजना नै बनाएको छ । नेपालामा यो अभियानको संयोजक प्रा.डा. तारा शाह हुनुहुन्छ । विपद ब्यवस्थापन र न्यूनिकरणका लागि केही स्थानमा तालिम सम्पन्न भइसकेको छ । नर्सको क्षमता विकासका अन्य थुप्रै कार्य भइरहेका छन् ।
आजको नयाँ पिढीका नर्सहरुले कसैले पनि उक्साहटमा नलागी मुद्दाको सुक्ष्म बिश्लेषण गरेर मात्र अघि बढ्नु पर्दछ । किनकि नर्सहरुलाई भाँड्न पाए आजको स्वास्थ्य क्षेत्रको सरकारी संरचनाको नेतृत्व तहमा नर्सहरुलाई माइनस गर्न सकिन्छ भन्ने सोच विकास भएको छ । जसको आभास धेरै बिज्ञ नर्सहरुले हाल गरिरहेका छन् । यसैले गर्दा नर्सहरुलाई उक्साएर नर्सिङ सङ्घ बिरुद्द प्रयोग गर्न सके विधिवत रुपमा नर्सहरुलाई नर्सहरु बिरुद्द नै लगाउन सकिन्छ भन्ने सोचको खेल शुरु गरिएको हो । धेरै पटक सभा सम्मेलनमा नर्सहरु भएको नाताले नै स्थान नदिएको र पूर्ण स्वास्थ्य सेवा नर्सबाहेकलेनै धानेका छन भनी घोषणा गरी सार्वजनिक रुपमै नर्सको मानमर्दन गर्ने गरिएको तितो यथार्थ नर्सहरुले महशुस गरिरहेका छन् । जबकि स्वास्थ्य सेवाका अनेक बिधाहरुको बीचमा नर्सिङ विधा नै संख्याका आधारमा, गुणस्तरीयता र पारदर्शीताका आधारमा प्रथम स्थान ओगट्न सफल भएको छ । यो विकसित राज्यहरु अमेरिका र क्यानाडा र विश्व स्वास्थ्य सँगठनको आँकडा हो ।
त्यसैले अहिले के भन्न हामीलाई बाध्य पारिएको छ भने कसैले पनि यती लामो इतिहास भएको साथै स्वास्थ्य क्षेत्रमा अति धेरै काम गरेको नेपाल नर्सिङ सङ्घलाई नजर अन्दाज गर्ने दुस्वप्ना नदेखोस् । नर्सहरुलाई गलत ढंगले उक्साएर संघकै मान मर्दन नगरियोस् । अहिले केही नर्सहरुले थालेको अनसन पेशागत भन्दा बढी राजनीतिक स्वार्थ प्रेरित देखिएको छ । यस कार्यले नर्सिङको एकताको सुत्राधार, विश्वास र भरोसाको एक मात्र संगठन नेपाल नर्सिङ सङ्घलाई सदाका लागि धरासयी बनाउने कोशिस गरेको छ । यो कुरा नर्सहरुले वेलैमा वुझ्नु जरुरी छ । तसर्थ आजकै दिनदेखि नेपाल नर्सिङ सङ्घलाई पुनः माया गरौ, हाम्रा अग्रजहरुको देनलाई मनन गरौं, उहाँहरुलाई गाली बेइज्जती होइन, सम्मान गरौं । यसैबाट नै हामी सम्पूर्ण नर्सहरुको भलो हुन्छ । यसोगर्दा न कोही हार्छ न कसैको क्षती नै हुन्छ ।
Facebook Comments