परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

राष्ट्रपतिले ‘मेरो सरकार’ नै भन्ने हो

संबैधानिक बहस

समाजमा सभ्यताको अपेक्षा गर्नेले पहिला आफू सभ्य हुनुपर्छ। सन्दर्भ राष्ट्रपतिले “मेरो सरकार“ भनेको कुरामा के गल्ती भो “राष्ट्रपतिले मेरो सरकार भन्दा“ ? राष्ट्रपतिलाई राज्यको प्रमुख मानिन्छ, संबिधानले पनि त्यही मानेको छ । तर बिगत केही बर्षमा मौलाएको अराजकताले नेपालीहरूलाई फोहोरी बनाएको प्रतीत हुन्छ । देशको सर्बोच्च पदप्रति मर्यादा गर्न नसक्ने हामीले, स्वतन्त्र राष्ट्र भनी कुर्लिनुको आधार के हो ?

१. राजा संबैधानिक थिए, तर उनी पनि “मेरो सरकार भन्ने गर्थे।“ किन आपत्ति भएन ? राष्ट्रपति देशको प्रमुख हो, उनले “मेरो सरकार“ भन्दा के गल्ती भयो ? ठूलाठूला पत्रिका चलाउने मित्रहरू बताइदिनुहोस्, राष्ट्रपतिले मेरो सरकार भन्न कुन कानून र संबिधानको कुन धाराले रोकेको छ ?

२. राष्ट्रपति राज्य प्रमुख भएको हुनाले, राज्यको सरकारलाई राष्ट्रपतिले मेरो सरकार भन्दा, विद्यादेवी भण्डारीको सरकार भनेको होइन, राज्यको सरकार भनेको हो भनेर बुझ्न पनि कसैले पढाउनु पर्ने ? संसदमा राष्ट्रपतिको सम्बोधनमा राज्य बोलेको हो भण्डारी बोलेको होइन । “राज्यले“ मेरो सरकार भनेको हो । राष्ट्रपतिलाई त फौजदारी दायित्वबाट पनि मुक्ति दिएको हुन्छ ।

३. प्रधानमन्त्री लगायत राज्यका सबै पदहरू राष्ट्रपति समक्ष सपथ लिएपछि क्रियाशील हुन्छन् । सङ्कटकालमा राष्ट्रपतिले नै देशको जिम्मा लिनुपर्छ। राष्ट्रपति कमान्डर इन चिफ पनि हुन् । त्यसैले उनलाई राज्यको संरक्षक मानिन्छ । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकारलाई मार्गनिर्देशन दिएको हो । त्यसैले “मेरो सरकार“ भनेको “नेपालको संबिधान अन्तर्गतको सरकार भनेको हो । अल्पज्ञान खतरनाक हुन्छ ।

४. हामीले यो बुझ्नुपर्छ, हामी लोकतान्त्रिक ब्यवस्था अन्तर्गत छौँ । जुन ढाँचाको सरकार हामीसँग छ, त्यसलाई संबैधानिक राज्य प्रमुखको ढाँचा भनिन्छ । यस्तो ढाँचामा राज्यको सरकार राज्य प्रमुखकै हुन्छ । तर त्यो अधिकार पार्लियामेन्टले बनाएको प्रधानमन्त्रीले प्रयोग गर्छ ।

५. देशलाई कमजोर पार्ने तत्त्वले राज्यका सबै निकायलाई पत्रु जस्तो बनाइदिएको छ । देशको सम्मान भनेको देशका संयन्त्रहरूको पनि सम्मान हो । सगरमाथाको गीत गाएर मात्र देशभक्ति र माया हुँदैन । सभ्य नागरिकले राष्ट्रका निकायप्रति सम्मान गर्न र लोकतान्त्रिक ब्यवस्थाको कदर गर्न पनि जान्नुपर्छ ।

६. आकाशमा हवाइजहाज होल्ड गरेको कुरा समेत उठ्यो । अमेरिकामा राष्ट्रपति आउँदा के हुन्छ ? खोज्नुहोस् ।

७. राष्ट्रपतिले भन्ने “मेरो सरकार“ नै हो । बकम्फुस तर्क नदिऔँ । राष्ट्रपति राज्यप्रमुख हो, त्यो पदले सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ । त्यसैले सरकारलाई मेरो भनिएको हो । चाकरी गरेको नभन्नुहोला । म राष्ट्रपतिको लिस्टमा परेको र निम्ता पाउने मानिस होइन । मैले राज्यको प्रतिरक्षा गरेको हो ।

 

Facebook Comments