परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

इन्टरनेटमा भ्याट र व्यापारीको ठगी

आजको युग इन्टरनेटको युग हो । अब इन्टरनेट आम जनजीवनको अभिन्न अङ्ग बनिसक्यो । कुनै समय थियो, सक्नेले मात्रै चलाउने मानिन्थ्यो । तर अब इन्टरनेट हुनेखाने र हुँदा खाने दुबैका लागि अनिवार्य बनिसकेको छ । शिक्षित, साक्षर र निरक्षरको जीवन पनि अब इन्टरनेट बिना चल्न गाह्रोे छ । मान्छेका आधारभूत आवश्यकतामा अब इन्टरनेट पनि स्वतः थपिएको छ । यही इन्टरनेटका कारण आज विश्वको जुनसुकै भूगोलको मान्छे जुनसुकै स्थानको आन, बान र शानसँग परिचित हुने मात्रै हैन, सीँधै जोडिन पाएको छ । पत्राचारबाट हप्तौँ र महिनौँपछि जोडिने व्यक्ति आज मिलिसेकेण्डमा आम्नेसाम्ने भएका छन् । त्यो पनि प्रत्यक्ष । साक्षात् । यो देन इन्टरनेटकै हो ।

विश्व र ब्रह्माण्डका यावत् प्रविधि, इतिहास, दर्शन, ज्ञान, विधा र विद्या आज इन्टरनेटमा समेटिएका छन् । त्यो पनि सानो मोवाइल डिभाइस र ल्यापटपमार्फत् । सामाजिक मिडिया र ब्लग तथा माइक्रो ब्लगका कारण आज परम्परागत सञ्चारमाध्यमको परिभाषा परिवर्तन भइसकेको छ । हरेक व्यक्ति अब प्रकाशक र प्रसारक बन्न पुगेका छन् । यो सब देन इन्टरनेटकै हो । व्यक्ति स्वयं अब सिनेमा हल पनि बन्न पुगको छ । विश्व यति साँघुरो बनेको छ कि सोचिसक्दा साइबरमार्फत् व्यक्ति त्यहाँ विचरण गर्न सक्छ । आज संसार कागज र टेरेस्टेरियल प्रसारणबाट कागजबिहीन दुनियाँ र नेट प्रसारणमा तीब्र गतिमा गइरहेको छ । अब हिजोको एनालग टेलिभिजनको सट्टा हाई डेफिनिसनयुक्त डिजिटल नेट टिभी प्रचलनमा आइसक्यो । परम्परागत रेडियो प्रसारण अब नेट प्रसारणमा गइसक्यो । परम्परागत पत्रपत्रिकालाई अब डिजिटल पत्रपत्रिकाले विस्थापन गर्न थालिसकेको छ ।

सानासाना बालबालिकादेखि किशोर, बयस्क र बृद्ध व्यक्ति समेतको आवश्यकताको वस्तु बनेको छ इन्टरनेट । किसान खेती गर्ने मल, बिऊ, बाली, मौसम र तकनिकी, संरक्षण र बजार–मूल्यबारे इन्टरनेटबाटै थाहा पाउँछ । विद्यार्थी इन्टरनेटकै सहयोगमा डलर र पाउण्डका महँगा दरमा बिक्ने किताब र अध्ययन सामग्री विभिन्न स्वरूपमा हेरेर आत्मसात गर्छ । अध्यापनकर्ता र अनुसन्धाता इन्टरनेटमै भर पर्छ । राज्य र समाजको त्यस्तो कुनै क्षेत्र छैन, जुन इन्टरनेट बिना पूर्ण हुन्छु भन्न सकोस् । अहिलेको विश्वव्यापी साइबर अन्तरक्रिया र व्यापारले लिएको आकारलाई अब परम्परागत अन्तरक्रिया र व्यापारले चुनौती दिन नसक्ने भएको छ । दु्रततर सूचना र विचारको प्रवाहले पु¥याएको फाइदाको त लेखाजोखा गर्ने हो भने निकै विशाल तस्बिर अगाडि आउँछ । यसको पुष्टिका लागि केही विश्वव्यापी तथ्याङ्कलाई हेरौँ– प्रति साठी सेकेण्ड (एक मिनेट) मा इन्टरनेट प्रयोग गरी सामाजिक सञ्जाल ह्वाट्स एपबाट मात्रै तीन करोड ८० लाख मेसेज प्रवाह हुन्छन् । इमेल मार्फत् प्रति मिनेट विश्वमा १८ करोड ७० लाख सन्देश आदानप्रदान भइरहेका छन् । प्रतिमिनेट चार करोड ३० लाख मान्छे युट्युव हेरिरहेका हुन्छन् भने त्यति नै समयअवधिमा तीन करोड ७० लाख मान्छे गुगलमा खोजी गरिरहेका हुन्छन् ।

अन्य आकर्षणहरू

सत्ता मोह

झुक्नै लाग्यो

नवराजका पाँच मुक्तक

समय यन्त्र 

सत्ताको फल (कविता)

संसारमा इन्टरनेटलाई विलासिताको वस्तुको रूपमा नभई आधारभूत आवश्यकताको रूपमा परिभाषित गरिन्छ । इन्टरनेट र डिजिटल डिभाइसको पहुँचबीचको खाडल– डिजिटल डिभाइडलाई कम गर्न अन्तर्राष्ट्रिय समुदाय र राज्य सरकार लागेका छन् । तर यहाँ बिडम्बना बनेको छ इन्टरनेट । पहिलो कुरा त यहाँका इन्टरनेटका व्यापारी इमान्दार छैनन् । सस्तोमा विदेशबाट किनेर ढाढ भाँच्चिने महँगोमा आमउपभोक्तालाई बेच्छन् । त्यो पनि सेवा द्रुत र भरपर्दौ हुन्न । एउटा थोरै पानी आउने कुलाले धेरै किसानका खेतमा बाँडेजस्तै थोरै क्षमताको इन्टरनेट धेरै ग्राहकलाई भिडाउने व्यापारीको प्रवृत्तिका कारण यहाँ इन्टरनेट विश्वसनीय हुन सकेको छैन । जसका कारण ब्याण्डविथ ठूलो देखाए पनि सानो क्षमताको नेट दिने र त्यो पनि टुटिरहने समस्या उपभोक्ताले भोगिरहेका छन् । पछिल्लो समयमा विश्व बजारमा इन्टरनेटको भाउ ह्वात्तै घटे पनि यहाँका नेट व्यापारीले भाउ घटे अनुसार सुलभ मूल्यमा उपभोक्तालाई नेट उपलब्ध गराइरहेका थिएनन् नै । त्यसमाथि सरकारले पनि इन्टरनेटमा नयाँ आर्थिक वर्षदेखि १३ प्रतिशत भ्याट ठोकिदियो ।

त्यसपछि त अब के चाहियो ! नेटका विचौलियालाई त निहुँ न चाहिएको थियो । १३ प्रतिशतले नेटको भाउ बढाइदिए । निःशुल्क इन्टरनेट उपलब्ध गराउने लोकप्रिय नारावाल सरकारको भ्याटे निर्णयको सर्वत्र विरोध भयो । अनि सरकारलाई पनि के लाग्यो कुन्नि, सबै दोष इन्टरनेट विचौलियाहरूतिरै थोपरिदियो । सरकारका प्रवक्ताले त अब अन्तर्राष्ट्रिय बजार भाउअनुसार इन्टरनेटको मूल्य समायोजन गरिने घोषणै गरे । अन्तर्राष्ट्रिय बजारमा गएको साल ४० डलर प्रतिएमबीपीएस प्रतिमहिना मूल्य पर्ने नेट अहिले १० डलरमै आउने खुलासा पनि उनैले गरे । तर आम नेपाली जनताको चाहिँ के मान्यता छ भने यो इन्टरनेट विलासिताको बस्तु हैन । यसमा सरकारले भ्याट लिनुहुन्न । व्यापारीले ठगेकोमा सरकारले मूल्य समायोजन गर्ने व्यवस्था गर्नु त राम्रो कुरा हो तर भ्याट पनि लिनु भएन नि ! सामाजिक मिडिया र अाम नेपालीका मन यही आसयबाट भरिएका  छन् । यो विषय सर्वत्र चर्चाको विषय बन्न पुगेको छ ।

Facebook Comments