करुण थापाका गजलः ‘सिमाना’ र ‘लकडाउन’
गजल
गजल १
तिमी भन्छौ आँखाभित्र मात्र धुलो परेको छ
कि त अन्धै हुनुपर्छ कि त फुलो परेको छ
आँखा भए देख्थ्यौ होला आमाको त्यो गुन्यूँ चोली
कति ठाउँ टालेको छ, कति दुलो परेको छ
हाम्रै जमीनबाट बग्ने पानी भाग लगाउँदा
उता नदी परेको छ, यता कुलो परेको छ
साँध मिच्दा आँखा चिम्ल्यौ घरै आधा हुन लाग्यो
हिजो आँगन परेको थ्यो, आज चुलो परेको छ
आनाकानी गर्छन् आफ्नै अधिकार माग्न पनि
खाने मुख चैं ठूलो तर आँट लुलो परेको छ
हाम्रो भागमा दुःखै मात्र उनको भागमा खुशी-खुशी
हाम्रो भागमा एकातिर झुक्ने तुलो परेको छ
गजल २
गोलो छ या चेप्टो संसार, यो संसारलाई थाहा छैन
सोमबारपछि के आउँछ खै, मंगलबारलाई थाहा छैन
अभिनय कुन गर्ने हो, अनुहारलाई थाहा छैन
खै के खबर आउँछ अब, अखबारलाई थाहा छैन
अस्पतालमा न त खान, न त लगाउन हुन्छ
बनाउँछन् किन भन्ने, हतियारलाई थाहा छैन
ईशु, अल्लाह, ईश्वर सबै विमर्शमा व्यस्त होलान्
केको अवतारमा आउने, अवतारलाई थाहा छैन
अघाएका मात्र हुन् ती जसले अझै खाइरहेछन्
मेरा बच्चा भोकभोकै छन्, यो सरकारलाई थाहा छैन !