परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

घमराजको गजल – ”…चस्स–चस्स देश दुख्दा तिमी ठान्छौ ठीकै भयो…”

सिमानाको पिलर लुक्दा तिमी ठान्छौ ठीकै भयो

चस्स–चस्स देश दुख्दा तिमी ठान्छौ ठीकै भयो

 

बेचेका त छैनौ आत्मा ? बाहिरकै जाती बन्छौ

यति धेरैपल्ट चुक्दा तिमी ठान्छौ ठीकै भयो

 

दुईटा ढुङ्गाबीच तरुल पेलिँदो छ, च्यापिँदो छ

मानचित्रमा राष्ट्र सुक्दा तिमी ठान्छौ ठीकै भयो

 

गौरवगाथा इतिहासले जुन देशको गाउनु गायो

त्यै देशको शिर झुक्दा तिमी ठान्छौ ठीकै भयो

 

कठ्पुतली बन्नु बन्यौ, जी हजुरी गर्नु गर्‌यौ

बैरी आई मुखमै थुक्दा तिमी ठान्छौ ठीकै भयो

 

हाम्रा बारी, खेत, आँगन, गाई गोठ उतै चले

कालापानी ‘पारि’ पुग्दा तिमी ठान्छौ ठीकै भयो

Facebook Comments