परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पारदर्शी लगौटीले राष्ट्र र संविधान बचायो नत्र…!

फुटानी

हाम्मा प्रचन्न काम्रेड पनि कार्जेकर्तालाई वेकुफ बनाउन त माहिर छन् । अघिल्लो दिनसम्म एमसिसी पास भए हाम्मो राष्ट्र रहदैन, हामी अम्रिकाको दास बन्नु पर्ने हुन्छ, नेपालमा अम्रिकी कानुन लागु हुन्छ तसर्थ काम्रेडहरू सडकमा अागो बाल्नुहोस् भने । यस्तो महान राष्ट्रवादी, पार्टीका सर्वस्वामि मठाधिस, विश्व सर्वहारा वर्गका एक मात्र मुक्ति दाता, उच्च छलाङका अाविष्कारक, गर्धनमा टेकेर खप्परमा बजाउनेका अगुवा हाम्मो काम्रेडले भनेको होला नि त भनेर अादेश अनुसार कार्जेकर्ता सडकमा अोर्लिए । हाम्मो केटाहर्ले सडकमा अोर्लिएर अोलीको पालामा बनेको सडक र रेलिङ समाप्त पारे, भखर हुर्कन थालेका बोट विरुवा बिमाख पारे । पुलिसको खप्पर फोर्ने र खुट्टा तोड्ने काम हाम्मो केटाहर्ले राम्मरी गर्यो । उता माउवादीका हाम्मो नेता देव प्रसाद, नरान काजी, लिलमणिहरू त्यो हेर्दै डरलाग्दो, घ्वाप्पै नेपाल खाएर खर्लप्प निल्ला जस्तो, भयङ्कर कुरुप एमसिसीको विरुध्दमा अाक्रोस पोख्दै थिए । हामी ढुक्क थियौं एमसिसी पास हुदैन भनेर । तर…!

हाम्मो केटाकेटीहर्ले सामाजिक सञ्जालमा अोली, एमसिसी र एमसिसी पास गर्नुपर्छ भन्नेहर्लाई राष्ट्रघाती, क्रान्तिबाट प्राप्त उपलब्धिका विरोधी, अम्रिकाका दास, नेपाली जनता र संविधानका दुश्मन भनेर अश्लील शब्द प्रयोग गरेर नानाभाँती लेखे । हाम्मो माउवादीको उपल्लो बैठकले पनि एमसिसीमा रहेका राष्ट्र विरोधी बुंदा हटाएर मात्र पास गर्ने नत्र विरोधमा मतदान गर्ने गुलियो निर्णय गर्यो । त्यति मात्र काँ होर ! चिटिक्क परेको, भरपर्दो, हाम्मो काम्रेडहर्लाई चुनाउमा वैतर्णी तार्न सक्ने गठबन्धन तोडिए तोडिन्छ एमसिसी पास गरिदैन भनेर प्रचन्न काम्रेडले नै हुँकार गरेसी नपत्याउने कुरो भएन । फेल गर्ने कुरो पत्याइयो र पास गर्ने काम गरियो । सर्वहारा वर्गको उत्थानका लागि हाम्मो हितैषी साम्राज्यवादी अम्रिकाले मयाले देको एमसिसी पास हुदा माउवादीलाई राम्मो भयो । नत्र अोलीको निर्देशनमा चल्ने सरखार बन्ने र हामी र माधव जत्थाको टुप्पीमा टेकेर पाताल भसाउने योजान बनाका थिए । धन्न चतुरे काम्रेडले फ्याट्ट था पार `अोलीले पास गरेर एमालेको मतदाता घटाउनु भन्दा, अाफै पास गरेर अलिलि भएको जनविश्वास पनि धुलिसात पार्छु´ भन्दै पास गरि दिए ।

होइन म त सम्झेर पनि छक्क पर्छु ! सप्पैलाई थाहा छ गठबन्धन जोगाउन र अोलीलाई सरखारमा जान नदिनका लागि एमसिसी पास गर्न प्रचन्नले मरिहत्ते गरेको भन्ने, अब कोही अनविज्ञ छैन । अोलीले पास गर्ने, गठबन्धन भत्किने र देउवाले सरखारबाट लात हान्ने भएपछि हाम्मो काम्रेडले अात्तिएर पास गरेकै हुन । एमसिसी पास गर्छौ भन्ने पहिला नै कबोल पत्र पनि लेखेकै हो । अब ढाट्ने कुरो छैन कुन मुलाङले के गर्छ ? लौ अाअोस त ! हाम्रो काम्रेडहर्ले वानेश्वरमा पुलिस कुटे जस्तो कुटिन भने त मेरो नाम विध्वंसे नै होइन । लौ जा त ! भन्नु उसो होइन कि हाम्मो प्रचन्न बाठो त बाठै हुन । तर, काग …! जे होस् गत सोमवार पत्रकार सम्मेलन गरेर हाम्मो प्रचन्नले एमसिसी ल्याम्ने, सदनमा लाने, रोक्ने, उचाल्ने,पछार्ने, गिजोल्ने, कहिले राष्ट्र विरोधी र कहिले राष्ट्र हितमा भएको ब्याख्या गर्ने मै हो भनिदिए । बोल्दाबोल्दै कुन चाहिँ दिन हाम्मो प्रचन्नले चिनसँग पारवहन सन्धि गर्ने, नाकाबन्दीका बेला भारतसँग नझुकी अडान लिने, चुचे नक्शा पारित गर्ने, रेल ल्याउने, धरहरा बनाम्ने, मेलम्ची, तामाकोशी सम्पन्न सप्पै काम मैले गरेको हो, अोलीको त नाम मात्रै नि  भन्न बेर लाउदैनन् । के गर्नु ! अाफू यही पार्टीको कट्टर कार्जेकर्ता परियो ।

अरु त ठिकै हो हाम्लाई चित्त नबुझेको कुरो चाहिँ एमसिसी पास गर्ने दिन बाबुराम र मिनेन्द्र रिजालले बोलेको कुरा हो । त्यत्रो दुख गरेर जनता र कार्जेकर्ता ढाट्न ल्याको `ब्याख्यात्मक टिप्पणी´ लाई प्रचन्न र माधवतिर देखाउदै `यिनार्को लाज छोप्न ल्याको पारदर्शी लगौटी, पारदर्शी धोती´ भन्नुहुन्छ ? त्यति विघ्न सांसदहरू बसेको ठाममा `यो `ब्याख्यात्मक टिप्पणी´ एमसिसीको कार्जेलयले हेर्दा पनि हेर्दैन, लाटाको धोती´ भन्न मिल्छ ? अरु ठाममा भए त ठिकै हो सदन जस्तो ठाउँमा, तात्तातै `यिनार्ले ढाँटे है´ भनेर किन सत्य कुरो बोल्नु ! म जस्ताको त प्रचन्न र माधवको चुनाउपछि हुने हविगत सम्झिएर भित्रैबाट मन पोलेर अाम्छ भने सरखारमा तर मारेर बस्ने नेता अनि मन्त्रीको मन कति रुएको होला !

हौ विध्वंसे काका नमस्कार है ! अाज यो सण्डे अाम्नलाई ढिला गरेर अबेर भयो । तैपनि अाज अाइतवार काकाकोमा गएन भने रिसाउछन् भन्दै लेर अाको ! अारुबोटे कान्छो पनि तिम्रो फोगटिया गफ सुन्न जान्छु भन्दै थ्यो, कता अल्झ्यो । अनि काका तम्रो मनमा त भयङ्कर छटपटाहट होला । अलिलि भाका कार्जेकर्ता पनि `राष्ट्रघाति पार्टीमा नबस्ने´ भन्दै राजिनामा गर्दै माउवादी छाड्न थाले ।

अा … ! भिरघरे भतिज ! जाने जान्छन् अाम्ने अाम्छन्, ठूलो पार्टीलाई केही फरक पर्दैन । हाम्रो पार्टीका नेतादेखि कार्जेकर्तासम्म हिंडे र त हाम्मो प्रचन्न अझै राजनीति मादल बझाउदै छन् । कि कसो सण्डे ?

हो काका ! यसपालि त कार्जेकर्ताको गालाको खरी झर्ने गरी एमसिसीको कोर्राले हाने । त्यसपछि ब्याख्यात्मक टिप्पणीको पारदर्शी लगौटी लगाएर अहिले प्रचन्न र माधव काठमाडौंमा घुम्दैछन् भन्ने सुनको छु । त्यही लगौटीको कारण अाफ्नो लाज छोपियो भन्न छाडेर प्रचन्न चाहिँ `पारदर्शी लगौटीले राष्ट्र र संविधान जोगियो´ भन्दैछन् भने माधव चाहिँ `यो पारदर्शी भए पनि चानचुने लगौटी होइन । यसैले गर्दा गठबन्धन तोड्ने अोलीको योजना चकनाचूर पारियो´ भनेर लगौटी तानतुन गर्दै लाज छोप्तैछन् ।

सण्डेको भनाइ ठिकै हो काका ! मिनेन्द्रले भने जस्तै लाज छोप्ने पारदर्शी लगौटी लाउन दिएर हाम्मो नेपाली कांग्रेसका देउवा दाइले प्रचन्न र माधवलाई शहर घुमाउदै छन् । अाखिर एमसिसीले माधव र दाहाललाई तल्लो  स्तरको जोकर बनाई छाड्यो ।

वाइयात र मलाई रिस उठ्ने कुरा चाहिँ नगर है भिरघरे । के पारदर्शी लगौटी- पारदर्शी लगौटी भन्छस् ! हातैले छोपेर पनि हाम्रो काम्रेडहर्ले गठबन्धन जोगाए । गठबन्धन तोड्ने अोलीको योजना हाम्रो काम्रेडहर्ले त्यही पारदर्शी लगौटी लगाएपछि असफल भयो । हाम्रो एक सूत्रिय लक्ष गठबन्धन जोगाउनु थियो । अहिलेलाई जोगियो । भविष्यलाई देखाजाएगा ।

भविष्यलाई त गगन थापाले भनिसके –  यो गठबन्धन चुनाउका लागि होइन सत्ताका लागि मात्र हो भनेर । प्रचन्न र माधवलाई मुखभरिको जवाफ गगनले दिइसकेपछि देउवा दाइको अावाज यही हो भन्ने त बुझ्नुपर्छ नि ! उहाँ एमाले भने निकै अघिदेखि कमर कसेर जनताको घरदैलोमा पुगेर चुनाउ प्रचार गर्दै छ । तिमारू गाउँतिर जान सक्ने अवस्था छैन । अनि यस्तो बेला डेटस्पायर तिमारूलाई बोकेर कांग्रेस हिड्दैन । लु काका ! गफ पछि गरौला । अाज मलाई हतार छ । लागे घरतिर ।

जै नेपाल !

Facebook Comments