परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बाबुराम र प्रचण्ड अंगालो मारेर रोए !

फुटानी

अस्ति रातभरी निद्रा लागेन । हिजो र आज पनि उस्तै छ । छटपट–छटपट भईरह्यो । हामीलाई दशा लागेको रै‘छ । अब के गर्ने ? ओलीले चुनाव गराए भने हामी त…! उफ ! सोच्न पनि सकिदैन । बेकारमा हाम्रा काम्रेडले १९ पेजको छोडपत्र लेखेर बर्बाद गरे ! ओलीले फिर्ता लिनु माफ दिन्छु पनि भनेका थिए । त्यसबेला आरोप–पत्र फिर्ता लिएर बसेको भए एमालेमै रजगज गर्न पाइन्थ्यो । हाम्रा काम्रेड त्यसबेला जाँड धोकेको बाहुन जस्तो परक्क बटारिए !

के सोच्दै छौ है बुढा ? तिमी बहुलाउँछौ भन्ने डर पो भयो ! अब तिमार्को राजनीति सकियो । उहाँ काठमाडौंमा बाबुराम र प्रचण्ड अंगालो मारेर रुदै छन् अरे । यता तिमी झोक्रार आँशु झार्दै छौ । जोसंग सांसद संख्या एक मुठी पनि छैन, उही सत्ताका लागि मञ्चिन्छ, अनि चुनाप भनेपछि ५० हात पर भाग्छ । जो घमण्डले चुर चुर भर कहिले नयाँ सरकार बन्ने भयो भनेर उफ्रिन्छ, कहिले देउवा र कहिले माधवलाई फकाउन पुग्छ त्यस्ताको पछि लागेर हुन्छ ?

नकरा झुम्री ! हाम्रो प्रचण्डले कता मेसो बिगारेर मात्रै हो । नत्र ओलीलाई पछारी सकेका थिए । अदालत पनि उस्तै नि ! किन झगडा गर्छौ, आ–आफ्ना घर जाउ भनेर खत्तम पार्दियो ।

नमस्कार है काका–काकी ! के कुरा हुँदै छ कुन्नि ! म त टुप्लुक्कै आई पुगें । अनि काका ! तिम्रो नेता त उत्तानोटाङ भए ! कस्तो दौडधुप गरेका थिए । ‘नमच्चिने पिङको सय झड्का’ भन्थे बुढापाकाहरु…!

धेरै खिसिट्यूरी नगर भिरघरे ! तेरो देउवा ओलीतिरै मिलेको अशंका गरिदै छ । तिनलाई चुनापको रहर छ । यहाँ हाम्रो माओवादी केन्द्रको हालत घरको न घाटको भाको बेला फाँफाँ र फुँफु गर्दा मेरो कन्सिरी तातिन्छ ।

के देउवाको कुरो गर्छौ काका ! तिम्रो प्रचण्डको चुरिफुरी ओलीको भरमा थियो । आफ्नो केही नभएपछि चुपो लागेर बस्नु पर्दैनथ्यो ! किन निहुँ खोजेर १९ पेजको आरोप–पत्र लेख्नु पथ्र्यो ? तर, एउटा कुरो माओवादीहर्ले बुझे हुन्छ– मध्यावधी चुनाप हुँदैन । ओलीले एक महिना भित्र बहुमत ल्याउँछन् । चुनाप रोक्ने हो भने तिमार्ले पनि ओलीलाई भोट दिए हुन्छ ।

कस्तो कुरो गर्छ । कता हाम्रो नैतिकताले ओलीलाई भोट दिन मिल्छ त ! उसैसंग झगडा गर्नु छ उसैलाई भोट कसरी दिनु !

ए हाम्रो कांग्रेसलाई दिन हुने कम्युनिष्टलाई दिन नहुने ? दिएनौ भने चुनाप हुन्छ, हाम्रो कांग्रेसले बहुमत ल्याउँछ । तिमार्को पार्टी त जै नेपाल !

ठिक भन्यो भतिजले । ओलीलाई पछार्न खोजेको थिए, आफै पछारिए । होइन, मैले बारम्बार भनेकी हँु– तिमार्को ‘गफ ठूलो, सङ्गठन धूलो’ भनेर । ओलीसंग जोरी खोज्ने ! बन्दूक पड्काएर मान्छे तर्साए जस्तो सजिलो हुदैन राजनीति !

बढी नबोल झुम्री ! हामीलाई माधव नेपालले धोका दिए । गएर फेरि ओलीसंगै टाँसिन्छन् भन्ने सोचेकै थिएन । एमाले भत्काउन सफल भैयो भन्ने भ्रममा थियौं । त्यो हैन र’छ ।

अन्य आकर्षणहरू

हौ काका ! तिमार्को काम नै तोड्ने, भत्काउने, फुटाउने, बिगार्ने, समाप्त पार्ने, सोर्ने र हसुर्ने थियो । अब ओलीले साइजमा ल्याई दिए । कुखुराको चल्लाले चिलसंग बैरभाव गरेर हुन्छ ? माधवहरु आफ्नै घर एमालेमा गए । तिमार्को घर भए वास बस्न आउँथे होला ! घर न थर कता आउनु । बरु तिमार्को ५/१० जना नेता बाहेक हाम्रो कांग्रेसमा आयौ भने स्वागत गर्छौं !

कस्तो नचाहिने कुरा गर्छ ! हाम्रो महान गौरवशाली पार्टी छ । मर्यादापुरुष, राष्ट्रनायक काम्रेड प्रचण्ड हाम्रो सर्वकालिक अध्यक्ष छन् । अहिले पनि महान क्रान्तिकारी उच्च छलाङ लगाउन खोजेकै हो । ओलीले ‘आइस ब्रेक’ नगरेको भए यसरी उठ्नै नसक्ने गरी पछारिने थिएनौं । माधव, देउवा र महन्थ मिलेर हामीलाई चिलिम फर्काए । महान राष्ट्रवादी, विद्वान काम्रेट भीम रावल, अत्यन्तै शालिन महान क्रान्तिकारी महिला नेतृ झाँक्री लगायत काम्रेटहरु दलवलसहित हाम्रो पार्टीमा आउँछन् । हेर्दै जा भिरघरे !

नाप्पियो ! उनारु त आउलान तर तिमार्को पार्टीका कार्यकर्ता झापादेखि कन्चनपुरसम्मका धमाधम एमालेतिर हामफालीसके । यही कारण त तिम्रो नेताहरु पुर्पुरोमा हात राखेर धरहरा तिर हेरेर रुदै छन् अरे ।

लु त्यो चैं होइन, ओलीले बनाएको धरहरा हाम्रा नेताले फुटेका आँखाले पनि हेर्दैनन् । धरहरातिर आँखा लाए भने ‘हेराइमा प्रतिगमन’ हुन्छ बुझिस् । तँ जेसुकै भन अहिले हाम्रो माओवादीलाई पछारिने, मडारिने र बढारिने रोग लागेर मात्र हो, नत्र ओलीलाई हामी नै पछार्ने थियौ !

काका ! अब के गर्छन् त तिम्रा काम्रेडले ? बिचरा ! म त उनैको मायाले हुरुकै भएँ । हेर, अस्ति विहिवारसम्मको त्यो चुरिफुरी ! अब ‘नभूतो नभविष्यति’ भएन! कस्तो दुखदायी अवस्था । मैले त रातभरि प्रचण्ड छटपटाएको, बलिन्द्रधारा आँशु झार्दै रुदै माधव नेपाल र महन्थलाई सरापेको मात्र सपना देखें । उनी संगसंगै केही पत्रकार र सम्पादक पनि सुक्क– सुक्क गर्दै थिए !

वाइयात ! मलाई नुनचुक छर्किन आको तँ ! जा उभिण्डेतिर । बरु एक्लै विलौना गर्दै, रुदै गर्छु । झुम्री पनि निहुँ नखोज मसंग । यस्तो बेलामा आत्महत्याको बाटो मान्छेले रोज्न सक्छ ।

काका ! त्यस्तो सोच्नु हुँदैन । हिङ नभए पनि हिंङ बाँधेको टालो सुँघेर बस ! कित जाउ प्रलाप सुन्न, चित्कार हेर्न रुवावासी डाँडा तिर ! म चैं लागे उच्च छलाङ मार्दै खोरियातिर।

जै नेपाल ।

Facebook Comments