हेमराज काफ्लेका दुई कविता
घर खोइ?
हामी बस्ने घर खोइ त, भत्किएर गयो?
इँटा ढुङ्गा खन्डहर चिनु मात्र रह्यो?
कसले खोज्यो अंशबण्डा, कसको के हो भाग?
खण्ड खण्ड छुट्याउने कसको हो त माग?
दाजु-भाइ लडी भिडी बस्नु पर्ने भयो?
माया ममता साथ संगत याद मात्र रह्यो?
भर छैन विभाजनको बैरी लाग्न सक्छन्
जसले खाए उनै आई फेरि माग्न सक्छन्
हामी बस्ने प्यारो घर कसको हुने भयो?
मेलमिलाप भाइचारा, कथा मात्र रह्यो?
परिवर्तन
पसिनाको मोल खाँदै जिउने बानी गयो
बेग्लै भयो भोक तिर्खा पिउने बानी रह्यो
गाउँघरमा लुक्दै हिँड्दा जे खाए नि चल्थ्यो
भोका नाङ्गा देख्दा खेरि मनमा आगो बल्थ्यो
झुपडीको सुकुल-बोरा स्वर्गे लाग्थ्यो पहिले
महलको डसनाले बिझाउँछ अहिले
सपना त पूरा भयो, उनको होइन मेरो
उनको मेरो बीच उठ्यो पर्खालको घेरो
मरिसके वर्ग-शत्रु क्रान्ति भयो पूरा
आज भोलि फाल्टु लाग्छन् संघर्षका कुरा