परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

धर्म परिवर्तन

क्रिश्चियन बनेकी
लक्ष्मी भाउजुलाई,
बिहानै घण्टी नबजाई
चित्त बुझ्दैन ।

 

पल्लाडाँडे सार्की दाइ
भन्दै थिए – 
“हामी क्रिश्चियन हुँदा पनि
अछुत नै हुने रैछाैँ” ।

कविता

 

देवीले नदेखेकाे क्राइस्ट,
गलामा क्रस माला लगाए पनि,
मन्दिर अगाडि पुगेपछि
उनकाे शिर आफैँ झुकेकै छ ।

 

हरिलालले पनि
विश्वकर्मा पूजा गर्न
कहाँ छाडेका छन् र !

 

गाउँ नै किरेस्चन भएका छन् 
तर,
याे दशैंमा पनि सप्पै मिलेर
कालाे बाेकाे नढाली भएन ।
दामासाही भाग लाएर,
नखाई भएन ।

 

उनका छाेराछाेरी किरने र सरुले
गाईलाई माता ठानेकै नै छन् ।
याे तिहारमा
गाईपूजा गरिछाडे ।

 

बरु,
गाउँका बाहुन केटाहरू
रामे र विष्णु लुकीलुकी
राँगाे र सुँगुर चाख्न पल्केका छन् ।
जनै लाएरै बेलुका
सुन्तलीकाे तिनपाने झाेल अड्डामा भेटिन्छन् ।
“ओ मा’ गड” भन्दै,
गफ लडाएर,
लडेका भेटिन्छन् ।
Facebook Comments