कान्तिपुरले बेसाएको दुःख– अनुजा काण्ड !
पत्रपत्रिका भनौ वा आमसञ्चार माध्यममा छापिएका सबै समाचार सत्य हुदैनन् । कतै पत्रकारद्वारा “मानवीय त्रुटी” भएर गलत सम्प्रेषण हुन्छ भने कहिले निहित उदेश्य राखेर निहित स्वार्थ पूरा गर्न समाचार छापेको पाइन्छ । यस्ता समाचारले कतिपयको जिन्दगी नै तहसनहस बनाउछ भने कतिपयको बाँच्ने आधार भत्काई दिन्छ । कतिपयलाई आफूले नगरेको कर्ममा पनि बधाईको ओहिरो लाग्छ । जस्तो कि कान्तिपुर दैनिकले लखटेका पूर्व मन्त्री चिरञ्जीवी वाग्ले र स्पेस टाइम दैनिकले लखेटेका पूर्व मन्त्री जयप्रकाश गुप्ता । उहाँहरूको राजनीतिक भविष्य चौपट बनाउने यिनै पत्रिका र पत्रकार नै हुन । अर्कोतिर अनुजा बानियाँले झुठो समाचारकै कारण तत्कालीन राष्ट्रपति रामवरण यादवबाटसमेत स्याबासी र बधाई पाउनु भयो ।
दक्षिण एसियाली मुलुकहरूको रोगै हो क्यारे असत्य र झुठो समाचारहरू पनि प्रसस्तै छापिन्छन । जस्तो कि “टि.एन. प्रधान” नामको काल्पनिक पात्र खडा गरेर मदन भण्डारीको हत्यारा नजिक पुगीसकेको भन्ने झुठो समाचार धारावाहिक रुपमा छापियो । “जनआदेश” नामक साप्ताहिक पत्रिकाले उक्त समाचार धारावाहिक रुपमा छापेको थियो । कसैलाई लखेट्ने, कसैलाई दबाउने, कसैलाई रनभुल्लमा पार्ने र कसैलाई उक्साउने काम आमसञ्चार माध्यमले प्रसस्त गरेका छन् । अहिले पत्रकारिता जगत झन बदनाम हुदै गएको छ । विकासोन्मुख राष्ट्रहरूमा काल्पनिक समाचारहरूले आफ्ना पाठक र आमसर्बसाधरणलाई गुमराहमा राख्ने काम गर्दै आएका छन् । यसको ज्वलन्त उदाहरणका रुपमा एक हप्ताको भारतीय समाचारहरू हेरे हुन्छ ।
भारतमा अहिले चुनाव भई रहेको छ । त्यहाँ राजनीतिक दलहरू चुनाव लडिरहेका छन् । तर, सञ्चार माध्यमहरूमा समाचार हेर्दा भने पत्रकारहरू नै निर्वाचन लडीरहेका छन् जस्तो लाग्छ । इन्डियन च्यानल हेरेर वा पत्रपत्रिका पढेर को चुनाव लडीरहेको छ भनेर छुट्याउन गाह्रो छ । त्यहाँका सञ्चार माध्यमहरू खुलेर पक्ष र विपक्षमा लागि रहेका छन् । अर्थात नेपालमा काल्पनिक र मनगढ्न्ते समाचार लेख्ने रोग आयातित हो कि हाम्रै उत्पादन हो छुट्याउन गाह्रो छ । जे होस् हाम्रोमा यस्ता मनगढन्ते समाचारहरू खपत भई रहेका छन् । जस्तो कि “पानी ट्याङ्कीमा पैसा” । यो काल्पनिक र झुठो समाचार थियो । चाहे भ्रष्टाचार गरेको होस्, चाहे लुटेको होस्, चाहे पाएको होस्, चाहे पुरस्कार मै ल्याएको होस् कसैले पनि नोटको बिटो लगेर पानी ट्याङ्कीमा हाल्दैन । सेफ अथवा दराजमा राख्छ । यसतर्फ हामीले ध्यान दिन सकेनौं र इश्वर पोखरेललाई खेदो पाइलो गर्न थाल्यौं । जे होस् हाम्रो पत्रकारिता यसरी नै चली राखेको छ ।
मैले यहाँ उठान गर्न खोजेको विषय केहो भने अनुजा बानियाँको काल्पनिक समाचार कान्तिपुर जस्तो पत्रिकामा कसरी छापियो? २०६८ साल बैशाख ७ गते बिहान काठमाडौंको कोठामा कान्तिपुर दैनिक पत्रिका आई पुग्यो । त्यसमा छापिएको एउटा समाचारले मेरो ध्यान खिच्यो । समाचारको हेडलाईनमा “धन्य अनुजा ! जसले भेट्टाएको ९१ लाख रुपैयाँ फिर्ता दिइन्” भन्ने लेखिएको थियो । समाचार लेख्ने रिपोर्टर हुनुहुन्थ्यो धरानबाट- हर्ष सुब्बा । समाचारमा विश्वास योग्य आधारहरू सारै अपुग थिए । हर्षजी जस्तो खारिएको पत्रकारले लेख्नु भएको समाचार अत्यन्तै फितलो परिवेश र विनाविश्लेषण लेखिएको थियो । मैले कान्तिपुर पत्रिकामै समाचारका अविश्वासिला आधारहरूमा अण्डर लाईन लगाउदै पढे ।
अहिले पनि नेपालमा समाचार पढेर बिचार बनाउनेहरू प्रसस्त छन् । आफ्नो बिचार र ज्ञानका आधारमा यहाँ समाचार पढिदैन । त्यही कारण समाचरका पाठक वा स्रोताहरू समाचार अनुरुप बिचार बनाउछन् । यो “अनुजा” समाचारमा पनि त्यही भयो । पत्रिका र पत्रकार प्रतिको अगाध विश्वास पाठक वर्गमा थियो । त्यो दिन सबैतिर त्यही समाचारको चर्चा परिचर्चा र अनुजा बानियाँको प्रसंशा मात्र सुन्न पाइन्थ्यो । “समाचार सत्यमा आधारित छैन” भन्न सक्ने अवस्था पनि थिएन । मानिसको मानवीय स्वाभावले आफ्नो विश्वासलाई भरसक खण्डित हुन दिदैन । यदि त्यस बखत हर्ष सुब्बा आफै उपस्थित भएर “यो समाचार झुठो हो, मलाई माफ दिनु होस्, गल्ती भयो” भन्ने हो भने पनि मान्छेले पत्याउने थिएन । यो भनेको पत्रिका र पत्रकार माथिको विश्वास हो । यसमा पत्रकारहरू खुसी हुनुपर्छ । तर, पत्रकारले पनि विश्वास डगमगाउने गरि समाचार लेख्नु हुदैन ।
म त्यसताका दिनको एकपटक बागबजार स्थित कृष्ण लामिछानेको अफिस पुग्ने गर्थे । त्यहाँ कृष्णजीको “मिडयाड” नामक विज्ञापनको अफिस छ । त्यस अफिसमा कहिलेकाही ऋषिराम पौडेल, डा. बलबहादुर पराजुली र डा. ढाकाराम सापकोटा पनि आउनु हुन्थ्यो । विभिन्न पार्टीका नेता पनि कहिलेकाही गफ गर्न आइपुग्नु हुन्थ्यो । त्यो अफिसमा सधैं आउने कृष्णजीको श्रीमती उमा अर्याल बाहेक माधव खनालजी र म प्राय पुग्ने गरेका थियौं । त्यो दिन पनि म पुगे । अफिसमा कृष्णजी र माधवजी हुनुहुन्थ्यो । उहाँ दुवै “अनुजा समाचार” मै गहन छलफलमा तल्लीन भएको पाए । माधवजी भावनामा चुर्लुमै डुबेर अनुजाको प्रसंसामा पुल बाँध्न व्यस्त भएर लाग्नु भएको थियो ।
म पुगेपछि ऋषीजी पनि आइपुग्नु भयो । मैले “आज कान्तिपुरले फेरि झुठो समाचार छापेछ” भनेर कुराको थालनी गरे । कृष्णजीले कसरी ? भन्ने प्रश्न गर्नु भयो । म बोल्नै नपाई माधवजीले “दाजुको नकारात्मक सोच, जेमा पनि खोट देख्नु हुन्छ” भनेर मलाई जवाफ दिनु भयो । र, “यदि मेरो बिवाहा नभएको भए यति इमानदार र परोपकारी सोच भएकि अनुजाजीसँग बिवाहा गर्ने थिए” भन्नू भयो । मैले त्यहाँ समाचारमा भएका गम्भीर त्रुटीहरू प्रति औंल्याएँ । ९१ लाख रुपैयाँ इटहरी जस्तो शाखा आईएमईबाट एकैछिनमा झिक्न कति सहज हुन्छ ? हजारकै दरका नोट भए पनि ९१ लाखको तौल कति किलो हुन्छ ? ९१ लाख नगदको भारी बोकेर (झोला नभनौ) कोही बसमा चढ्छर? प्राइभेट गाडी अथवा ट्याक्सी लिएर जान सक्तैन र ! मैले प्रश्न राखेपछि कृष्ण र ऋषिरामजी अलमल्ल पर्नु भयो ।
कृष्णजीले विहानै कान्तिपुरकै पत्रकार बलराम बानियाँलाई सोध्नु भएको रहेछ । बलरामजीले पनि यो सत्य नै हुनुपर्छ । रस्सेन्द्रको जस्तो झुठो होइन होला भन्दिनु भएको रहेछ । त्यही आधारमा समाचार त सत्य नै हो दाइ भनेर कृष्णजीले भन्नू भयो । ऋषिरामजी पनि समाचार प्रति अविश्वास गर्न अनकनाउनु भयो । ऋषिरामजी कान्तिपुरमै कार्यरत पत्रकार भएकैले होला खुलेर बोल्नु भएन । तथापि उहाँले समाचारलाई झुठो भन्न नमिल्ने फितलो तर्क पेश गर्नुभयो । म भने समाचारप्रति सबैले विश्वास गर्नु भनेको पत्रिका र पत्रकार प्रतिको उच्च विश्वास हो भनेर बोलिरहें । माधव खनालजी भावनामा बहकिएर अनुजा बानियाँको प्रसंशा गर्न तल्लीन हुनुहुन्थ्यो ।
बागबजारमा मेरो कुरो कसैसँग मिलेन । यसपछि म अनामनगरतिर लागे । त्यहाँ पत्रकार मित्रहरू रघु मैनाली, भुपराज खड्कालगायतका पत्रकारहरूसँग भेटघाट गर्ने थलो थियो । म पुगेपछि रघुजीले कान्तिपुर दैनिकको “अनुजा समाचार (काल्पनिक)” कथाकै कुरा शुरु गर्नु भयो । र, उहाँले पनि मैले जस्तै तर्क गर्नु भयो । रघुजीको भनाइ थियो – ९१ लाख रुपैयाँको तौल कति हुन्छ? ती अनुजा नानीले विरालाले छाउरो च्यापेझौ गरी त्यो भारी कसरी बोकिन? अनि बैंकमासमेत १०लाख रुपैयाँ भन्दा माथिको रकम निकाल्दा २/४ दिन अघि नै खबर गर्नुपर्ने त्यस समयमा आईएमईले ढाकर भरिने नोटको बिटो कसरी खात लगाई दियो ? त्यसपछि ८/१० लाख होइन ९१ लाखको झोला छाड्नकै लागि त्यो व्यक्ति किन बसमा चढ्यो? यस्ता वाइयात समाचारले सर्वसाधारणमा भ्रम मात्र फैलाउँछ ।
त्यहाँ उपस्थित पत्रकार मध्य पत्रकार रघु मैनाली, घमराज लुइँटेल र मेरो कुरा मिल्यो भने पत्रकार भुपराज खड्कालगायतले “समाचार त सत्य नै हो । झुठो भन्न मिल्दैन” भन्नुभयो । हामी आआफ्नै तर्कमा अडिग थियौं । साँझमा कोठामा आएपछि पत्रकार मोहन मैनालीलाई फोन गरेर समाचारका बारेमा कुरा गरे । मेरो कुरा सुनी सकेपछि मोहनजीले पनि सारमा समाचार त झुठो नै हो भन्नू भयो । त्यसको भोलिपल्ट भने अवस्था अर्कै भयो । त्यो २०६८ साल बैशाख ८ गतेको कान्तिपुरमा “राष्ट्रपतिले भने, “स्याबास अनुजा” भन्ने हेडलाईन राखेको समाचार छापियो । त्यो समाचार बालकृष्ण बस्नेतले लेख्नु भएको थियो । राष्ट्रपतिलेसमेत फोन गरेरै अनुजालाई स्याबासी र बधाई दिएर समाचार छापिएपछि पत्रकारिता क्षेत्रकै केही साथीहरूले समाचार त सत्य नै रहेछ नि भनेर हामीलाई त्यो दिन बोल्न पनि दिनु भएन ।
हामीले पनि आफ्ना तर्कहरू भने राख्न छाडेनौ । त्यसको पनि भोलिपल्टदेखि भने बजारमा “अनुजा समाचार त झुठै हो कि क्याहो” भन्ने खालका तर्कहरू सुनिन थाले । नभन्दै त्यसको केही दिनपछि नै पत्रकार हर्ष सुब्बा आफैले त्यो समाचार असत्य भएको भन्दै कान्तिपुरमै खण्डन गर्नु भयो । यसपछि पत्रकार साथीहरूको खरो तर्क सुरु भयो– राष्ट्रपति जस्तो व्यक्तिले त्यसरी हतारिएर बाधाई दिनु हुँदैनथ्यो । रघुजी र मैले फेरि तर्क ग¥यौं सञ्चार माध्यमलाई राष्ट्रप्रमुखले विश्वास गरेर बाधाई दिनु राष्ट्रपतिको दोष होइन । तर त्यस्तो विश्वास प्राप्त पेशाले विश्वासघात गर्न रत्तिपनि नहिचकिचाउने गतिविधि गर्नु चाहिँ हामी पत्रकारहरूको गैरजिम्मेवारी हो भन्यौ । हामीलाई साथीहरूले पुनः गाली गरे । यसपछि भने अनुजा काण्डको अध्याय समाप्त भयो । पछि संयोगबस हर्षजीसँग भेट हुदा उहाँलाई त्यो काल्पनिक समाचार बारे मैले सोधे । उहाँले “म छट्टुको काल्पनिक कथामा फसे । अब खाटा बसी सक्यो घाउ नकोट्याउ” भन्नू भयो । यसरी राष्ट्रपतिले मिडियालाई विश्वास गर्दा धोखा पाउनु पर्ने दुर्भाग्यदेखि सर्वसाधारण पाठक र पत्रकार जगत पनि नराम्ररी उल्झाउने कान्तिपुरको अनुजा काण्ड पानीको फोका झैं प्याट्ट फुट्यो ।
आजलाई यत्ति लेखे । फेरि पछि अर्को लेख लिएर आउने छु । नमस्कार !