अाम्नु होस् चुनाउसम्म काङ्ग्रेसको पाउ मोलौ!
फुटानी
मंसिर महिनाको चुनाउपछि हाम्रो महान गौरवशाली पार्टी माओवादी केन्द्रले अाफ्नो क्रान्तिकारी छवि बचाइ राख्न हँसिया-हथौडा वाला झण्डा त्यागेर अर्कै झण्डा राख्ने छ । त्यो झण्डाको अाकार, प्रकार, अायतन, रंगरुप र पृष्टभूमिलाई गढेर हेर्दा कतै तथाकथित जनयुद्धको रक्तपात पूर्ण कहाली लाग्दो छायाँ देखिने छ, कतै धर्मनिरपेक्षताको पैह्रोबाट नेपाल खस्तै गरेको दृश्य देखिन सक्छ, कतै संघियताको चेपुवामा चेप्टिएर राष्ट्र नै रगतपक्ष भको हो कि भन्ने देखिन सक्छ, कतै पारिबाट नेपाल भित्रिन डोली चढेकी दुलहीलाई उपहारको रुपमा सिमानामा स्वागत गर्दै हातमा नेपाली नागरिकता दिदै गरेको दृश्य झल्किने छ र कतै हाम्रो महान नेताले जातीय अागो फुकेर ताप्तै गरेको खुङखार दृश्य गोचर हुने छ ।
त्यो झण्डाको वरिपरि भारतीय गाडा रंगले लतपत हुने गरी पोतिने छ र मध्य भागमा एमसिसी-एसपिपी भन्ने कुइरे रंगको बाहुल्यता दर्शिने छ । युरोपियन सदभावको मयालु हरियो रंग जताबाट हेर्दा पनि देखिने गरी राखिने छ भने यता नेपालको नक्शाको चुच्चोले अत्यान्तै अाफन्त छिमेकीलाई घोचेको हुनाले उक्त चुच्चो हटाइने छ । हाम्रो अाइस ब्रेक गर्दै उच्च छलाङ मार्न सक्ने सर्वहाराको गौरवशाली पार्टी भए पनि नामको कारणले कतिपय पश्चिमी मित्रहर्ले `कम्निस्ट पो हो कि´ भन्ने शंका गरेकोले पार्टीको नाम अर्कै राखिने छ । चुनाउ पछि पनि मित्र राष्ट्रका लागि मात्र किन नहोस् नेपालमा `कमफर्टेवल´सरकारको अावश्यकता छ । तसर्थ पार्टीको नाम नै `नेपाल समाजवादी केन्द्र काम्रेस पार्टी´राखिने छ । `काम्रेस´ शब्दले `कम्युनिष्ट त्यागेको, काङग्रेस बनी नसकेको´ भन्ने बुझ्न अाफन्त मित्र राष्ट्रका हितैषीलाई पनि सजिलो हुने छ । यसरी हाम्रो पार्टी संसारको भूगोलमै अाजसम्म नभेटिएको उदेक लाग्दो, विचित्र स्वरुपको, हेर्दा नरम तर सोचले जरखरिएको काम्रेस पार्टी बन्ने छ । यो भन्दा राम्रो नाम अब संसारमा कसैले जुराउन सक्तैन ।
नाम राम्रो राखेर मात्र हुदैन । हाम्रो प्रचन्न काम्रेसले जस्तै ठूलठूलो गफ गर्ने र छलकपटमा माहिर नेता पनि हाम्रो अध्यक्ष काम्रेसको मातहतमा बसेर काम गर्न भेला गर्नुपर्छ । बाउराम, वामदेउ, महिन्दर मात्र अार हुदैन । उनारूसँग जनता छैन तथापि देउवासँग सिटको वार्गेनिङ गर्न अाइस ब्रेकरेलाई सजिलो भा छ । अब त माधव र झलनाथ पनि `काम्रेस´ नामको प्रचन्नको नयाँ पार्टीमा सामेल हुनुपर्छ । अाखिर काङ्ग्रेसको पुच्छर बनेपछि बेरबार गरेको कम्युनिष्ट नामको लगौटी पनि फुस्की गो । अब किन लजाउनु ! माधौ र झलनाथ काम्रेसहर्को साथै हाम्रो उद्देश्य भनेको अाफू नजिते पनि ओलीको पार्टी एमालेलाई हराउने नै हो । एउटै उद्देश्य भएपछि `के भद्रो हेरेर रनभूल्लमा´ बस्नु हुन्छ !
अाम्नु होस् ! यो पटक एउटै चुनाउ चिन्ह लिएर `हामीलाई चुनाउमा हराए पनि एमालेलई भोट नदिनु´ भनेर जनताको घरदैलोमा जाउँ । हामीसँग चुनावी मुद्दा जत्ति छ । हामीलाई मेडियाहर्ले भयङ्कर साथ दिएको छ, मानव अधिकारीवादी भनाउदाहरू, नागरिक अघुवा घिचिवाहरू, स्वघोषित तथाकथित सामाजिक अभियन्ता भारु र डलरेहरू सप्पै हामीले जे जस्तो अपराध गरे पनि चुइँक्क बोल्ने छैनन् । तीनार्लाई हाम्ले `ओली र एमालेको डर लाग्दो मुसलधारे विरोध गर्नु´ अरु तिमार्को काम छैन भन्द्या छ । यिनारू हामीले भनेसी `भट्टीमा जाँड धोक्ने, टट्टीमा नाक ठोक्ने´ बाहेक हाम्रो अादेश अनुसार चल्छन् ।
जन्ताकोमा गएर ओलीका पालामा भएको विकासको काम सप्पै हामीले गरेको भन्नु पर्छ । `नेपालमा रेल ल्याम्न ठूलो दुख गरे, म नभाको भे रेल अाम्दै नअाम्ने´भनेर माध्यौ काम्रेसले भन्नु । झल्लनाथ काम्रेसले `धरहरा, रानीपोखरी, काष्ठमण्डप लगायतका संरचना पुन निर्माण गर्दा पसिना छुट्यो´ भनेर बिलौना घोलेर गोहीको अाँशु झार्दै जनतालाई बेकुफ बनाम्नु । प्रचन्न काम्रेसले- एमसिसी पास गर्छौ भनेर फातिमालाई उहिल्यै पत्र लेखेको कुरा, एमसिसी पास गर्ने बेलामा देखाको नाटकको कुरा, एमसिसीमा व्याख्यात्मक टिप्पणी नामको अम्रिकाले मान्दै नमान्ने पारदर्शी लगौटी लगाइ दिएको कुरा गर्दै नगर्नु । हाम्रो सदावहार अध्यक्ष काम्रेस प्रचन्न कहिलेकहीँ झुक्किएरै भए पनि सत्य कुरो प्वाक्क बोल्नु हुन्छ । त्यसो नगर्नु । भारतमा गएर `जसरी पनि इन्डियनलाई नागरिकता दिलाएरै छाड्छु´भनेर फर्किएको कुरा गर्दै नगर्नु । जनता कमका भेडा छैनन, सप्पै बुझेका छन् ।
ए साँची झन्नै बिर्सेको ! `एसपिपी नेपाललाई अावश्यक छैन´ भनेर सरखारले पत्र लेख्ने निर्णय भाथ्यो । यतिका दिन ल्याङल्याङ र झार्लाङपाटे गर्दै टार्दै जनतालाई वेकुफ बनाम्दै पत्र लेख्ने हिम्मत हामीले गरेका छैनौ । यो कुरो काम्रेसहर्ले जनतालाई सुइँको नदिनु । उनार्ले सोधीहाले भने प्रचन्न, बामदेउ, बाउराम, माद्यौ, झर्लङनाथ सप्पैले रक्ताम्मे हुनेगरी जिब्रो चवार लेघ्रो तान्दै `मने…! त्यो उ गरेर, भनेर भनदेखुन, यस परिप्रेक्ष्यामा, हामीलाई लाइराछ´ भन्दै अन्तिममा `कुरो यत्ति हो´ भन्नु । अर्को कुरो हाम्रो पानदले, भजमने गठकन्दने सरखार बन्नासाथ पेट्रोलियम पदार्थको मूल्य वृध्दि खातखुत घटायौं भन्नु, अनि अन्य दैनिक उपभोग्य वस्तुलगायत सप्पैमा मूल्य बढेको कुरा विर्सेर पनि नगर्नु । बरु ओलीको पालामा बनेको गौतमबुद्ध र पोखरा विमानस्थलतिर देखाउदै `देखेउ हाम्रो विकास´ भनेर जनतालाई सर्लकंकै थाङनामा सुताइ दिनु ।
हामी जति उफ्रिए पनि भर्सेली फोर्न सक्तैनौ । हाम्रो तारणहार भनेको काङ्ग्रेस नै हो । चुनाउसम्म नेपाली काङग्रेसको पाउ समाएर लम्पसारनन्द बन्दै उस्को अारती उतार्नै पर्छ । उता एमाले यता पानदले । अलिकति तलवितल भो भने एमाले एक्लैले चुनाउमा एक दर्जने गठबन्धनलाई ठाउँको ठाउँ पछार्छ । यो सप्पै विचार गरेर काङ्ग्रेसले सय सिट लिएर हमीलाई ६५ सिट मात्र दियो भने पनि `ओके छ ! थेङक्यु सोमच´ भन्दै सलोट ठोकेर दह्रो गरी उसको हात समाउनु पर्छ । यदि काङग्रेसले हात झड्कारो भने हामी त सोत्तर हुन्छौ । नेपाली काङ्ग्रेसले हाम्रो हात नछोडोस् भन्दै हामी सप्पै मिलेर होली वाइनले अस्नानगरी भैसीं देवताको पूजा अारधना गर्नुपर्छ ।
विचरा हाम्रो सर्वहारा अध्यक्ष काम्रेसलाई चितवने काङग्रेसले फेरि फसाउने भए । घरबेटी विचराले पनि अहिलेको सरखारबाट ६/७ अर्ब भन्दा बढी जम्मा गरेको हिसाब देखिदैन । यता धनार्जनले पनि १०/१२ अर्ब भन्दा बढी जम्मा गरेको जस्तो बुझिएन । यस्तो अवस्थामा चितवनका काङग्रेसको मुख बुझो लगाउन यसो चिया खर्च भनेर अाधा अर्ब जति त दिनै पर्छ । अस्ति पनि प्रचन्नले चुनाउ खर्चिलो भयो, गाउँपालिकाको अध्यक्षले चुनाउमा एक करोड खर्च गरेर जितेका छन् भने । जे होस् `हाम्रो अस्तित्व जोगाई देउ प्रभु´ भनेर लम्पसार पर्नु बाहेक अर्को विकल्प छैन । सबैलाई काम्रेसी लाल सलाम ।