वृद्ध वृद्धाहरूलाई राज्यले भार ठान्दै
बुढ्यौली साहित्य
बाँच्तैछन् कसरी छ हाल यिनको कस्तो छ दैनन्दिनी ।
रोगीको उपचार हुन्छ अथवा तड्पेर बस्छन् कहीँ ।
गर्दैनन् यिनमा विचार कहिल्यै बर्बादिमा जो परुन् ।
ठान्छन् शासक वृद्ध जेजति भए यी राज्यका भार हुन् ।।१
पाका खातिर अस्पताल कहिल्यै छुट्टै बनेनन् यहाँ ।
माग्छन् भोट सबै म गर्दछु भनी फर्केर हेर्थे कहाँ ।
के गर्थ्यो उपचार वृद्ध जनको सित्तैँ जुटी राज्यले ।
खल्ती भर्न सघाउने स्वजनमा मन्त्रीहरू नै परे ।।२
भत्ताले सब टर्छ सङ्कट भनी ठान्दै गयो राज्यले ।
पाकाको उपहास हैन गरिमा बुझ्ने गरोस् राज्यले ।
खुट्टा, हात चलाउनै सकस भै पर्छन् थला जो जन ।
अर्कैले उपभोग गर्छ रुपियाँ के काम भो लौ धन ।।३
भ्रष्टाचार नहोस्, कुरीति नबढोस्, अन्यायको अन्त्य होस् ।
नातेदार सुटुक्क उच्च पदमा राख्ने बहाना नहोस् ।
खाता ठ्याक्क मिलाइ राज्य ढुकुटी रित्याउने कैद होस् ।
फर्जी काम खडा गरी मुफतमा खाने व्यवस्था नहोस् ।।४
यस्ता भ्रष्ट रही रहे यदि भने चुस्छन् सबै राष्ट्र यो ।
मास्नैपर्छ समग्र देशभरि नै बालेर राँको छिटो ।
जोगिन्थ्यो धन लाख अर्ब यसरी पक्कै गरौँ निश्चय ।
यस्तो अर्थ प्रयोग गर्नुछ यहाँ बन्छन् चिकित्सालय ।।५