परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पुनर्वासको हिमाली बस्ती

झापा–पृथ्वीनगरको मीठो सम्झना

रियाे रसियन जिप जंगलबीचकाे कच्ची बाटाेमा धुलाे उडाउँदै आउँथ्याे । हामी, त्यही धुलाेकाे पुच्छर समातेर पछाडि कुद्थ्यौँ । केही क्षणमा धुलाे मण्डलीले हामीलाई छाेप्थ्याे । आँखा अगाडि संसार धमिलाे हुन्थ्याे । धुलाे आकाश छयाँङ्ग हुँदा हरियाे जिप पर धमिलाे आकृतिमा हराउँथ्याे । कहाँबाट आएकाे, कहाँ जान लागेकाे ? कलिलाे अवस्थाको मेराे बालसुलभ प्रश्न अझैसम्म मनमै छ ।

यस्तै धमिला सम्झनाहरू छन्, मेरा पृथ्वीनगर, झापासितका । २०३० सालतिरकाे कुरा । म जम्मा पाँच बर्षकाे थिएँ ।

पुनर्वास आउँदाताका लेखक बाबा–आमासँग (बाबाले बोकेको)।

जताततै रुख ढलेका फाँटहरू । भर्खर खरले छाएका, छाउँदै गरेका घरहरू । सबै, आफैँ आफ्ना लागि बासकाे जाेरजाम गर्दै थिए ।

काे कहाँबाट आएकाे, कसैलाई साेध्ने फुर्सदमा थिएनन् । आफ्नाे बासस्थल छाडेर, बसाई सरेका उनीहरू पुनर्वासी थिए ।

हामी केटाकेटीले, आकाश मुन्तिरकाे अर्काे झन् ठूलो आकाश भेटेका थियोँ । जहाँ कुदे पनि हुने, जहाँ खेले पनि हुने । जता लडिवुडी गरे पनि, हाम फाले पनि आफ्नै आकाश थियाे । सिमाना खाेजिरहनु नपर्ने ।

घरका ठूलाबडा भने, त्याे जंगलबीच आ-आफ्नाे सिमाना काेर्दै थिए । अस्थायी झुप्रा बनाएर, अन्न उमार्ने खेतमा आली लगाएर । आ-आफ्नाे बस्ती बसालेर । धेरैका नाम कम्पनीले दिएकाे थियाे । कसैकाे नम्बरबाट, कसैकाे अझरबाट । हाम्रो बस्तीलाई हाम्राले आफ्नै नाम दिए । असामे लाईन, पछि गएर हिमाली टाेल ।

मेरा आफन्तहरू, नेपालबाट सुखी  जीवनकाे खाेजीमा भारतकाे आसामस्थित ब्रम्हपुत्र नदीको किनार पुगेका रैछन् । पृथ्वीनगर, अरुका लागि पुनर्वास भए पनि, हाम्राहरूका लागि देशसितकाे पुनःमिलन थियाे । माटाेसितकाे साइनाे फेरि जाेडिएकाे थियाे । भावनामा अनन्तः वेग थियाे । सम्बन्ध फेरि आफ्नै आकाशमुनि साईनाे गाँस्दै थियाे ।

यी सब काममा मेरा स्वर्गीय पिता प्रभात भण्डारी मियाे बन्नुभएको थियो । सहजकर्ता हुनुभएको थियो । देश फर्कनुकाे महत्त्व, माटाेसितकाे साईनाे बुझाउने मास्टर बन्नुभएको थियो ।

घरहरू बन्दै थिए । मलाई याद छ, सबैले सबैकाे घर बनाउदै थिए । ऊ उसको घर, ऊ उसको घर बनाउन दिनरात सघाउँदै थिए । घर बने । गाउँ बन्याे । बस्ती बन्याे । सबैले इनार खने । आँगन बनाए । फूल राेपे । गाईवस्तु जाेरजाम गरे । खेतलाई आलीले छुटयाए । अन्न राेपे । राेपाईँ गरे । अब बस्ती बन्दै थियाे । याे झाेरामा एउटा नयाँ मानव बस्ती विकास हुँदै थियाे ।

सबैले आ-आफ्नाे चाडपर्व मनाउन थाले । दशैमा कसैका घरमा घिरौँला, कसैका बाेका, कसैका राँगा, कसैका भाले वली दिन थालियाे । सुँगुर काटेर रमाइलाे गर्ने पनि कम थिएनन् । सबै, सबैका चाडपर्वमा रमाउँथे । हाम्रा गाउँका क्षेत्री बाहुन पनि धान नाच्न जान्थे । राई लिम्बू देउसी भैलेमा मिसिन्थे । हामी भुरा पनि, सतार हुलका पछाडी तालमा ताल मिलाएर आँगनमा नाच्थ्यौँ । अनि, सबैले कुल देवी र देउता घरकाे सुरझित कुनामा भित्र्याएका थिए ।

हिमाली उच्च मावि ।

सबैका केटाकेटी पढाउनु पर्छ भनेर पाठशाला पनि सबै मिलेर खाेले । पाठशालामा पढाउने र पढ्ने पनि हाम्रै गाउँका धेरै भए । भारतमै म्याट्रिक्स गरिसकेकी मेरी आमासँगै सानीआमा, मामा सबै पाठशालाका शिक्षक, हामी भुराहरू विद्यार्थी । मेरी आमापछि त्यहाँकी हेड गुरुआमा पनि हुनुभयो ।

पाठशाला खाेल्न पनि बुवा नै अगाडि हुनुहुन्थ्याे रे । पछि मलाई अरुले सुनाएका । आजीवन प्रधानपञ्च रहेका मेरा मितबुवा कमानसिंह लिम्बू । उहाँले सुनाउनु भएकाे, ‘एकदिन जेठ कि व‌ैशाखकाे टण्टलापुर मध्यान्हमा काेदालाे बाेकेर स्कुलकाे काम छ भनेर जाँदै गरेकाे बुवालाई भेटेका अरे’ । अलिक डाँडामा पाठशाला थियाे । मितबुवाकाे घरबाटाे भएर जानुपर्थ्याे ।

पाठशालाकाे नाम पनि हिमाली स्कुल राखियाे । खरले छाएकाे । काठले वेरेकाे । डाँडाकाे नाम पनि हिमाली डाँडा भयाे । मेराे पहिलाे पाठशाला । जहाँ मैले कखरा चिनेँ । गन्ती गन्न सिकेँ । अहिले, हिमाली उच्च माध्यमिक विध्यालय भएकाे छ ।

हाम्राे आसामे लाइनबाट हामी केटाकेटी कहिल्यै मुलबाटाे हुँदै स्कुल गएनौँ । आधा खेत, आधा काटिएकाे बनवाटाे थियाे । त्यहि विच हामी खेल्दै कुद्दै स्कुल पुग्थ्यौँ, अनि फर्कन्थ्यौँ । बाटाेमा रूख काटेपछि निसान लगाएर छाडिएका सेताे चक यत्रतत्र हुन्थे । हाम्रा लागि कालाे सेलेटमा लेख्न कहिल्यै खरी किन्नु परेन । कपी पेन्सिलमा लेख्ने नभउन्जेलसम्म ।

स्कुल हाम्रा लागि नयाँ संसार बनेकाे थियाे । पुनर्वास भएकाले, त्यहाँ अनेक जात, अनेक रंग, अनेक संस्कार र संस्कृति अनि अनेक ठाउँका फरक पृष्ठभूमिमा हुर्केका र हुर्किँदै गरेका हामी केटाकेटीहरू थियौँ ।

एकदिन मध्यान्हमा, फागुन चैतकाे हुरीले आगाेकाे झिल्का पनि उडाएर ल्यायाे । सबैले मन बन्धकी राखेर बनाएकाे खर काठकाे स्कूल घण्टामा खरानी बनायाे । गुरुआमा र सरहरु खरानी बनेकाे स्कूल अघिल्तिर उभिएर खुब राेए । गाउँले सबै राेए । त्यसपछि, केही हप्ता हामी स्कूल डाँडाकाे बनमा रुख मुन्तिर बसेर पढाइ गर्याैँ । तर, सबै गाउँलेले उत्साहका साथ फेरि स्कूल बनाए । अझ बलियाे पारे । हामी खुसीले उफ्रिँदै आफ्ना कक्षा काेठामा फर्कियाैँ ।

काेही उत्तर पहाडबाट झरेका, काेही अझ पश्चिमबाट बसाइँ सरेका, काेही अझ पूर्व हामीजस्ता भारत, बर्मा पुगेर फर्केका नेपालीहरूकाे सम्मिश्रण । दमाई, कामी, राई, लिम्बू, नेवार, बाहुन, क्षेत्री अनि रैथाने सतार, राजवंशी, धिमाल सबैकाे मिश्रण थियाे । यहाँ एउटा सानाे नेपाल थियाे ।

सतार समुदायको सांस्कृतिक कार्यक्रम ।

राजा महेन्द्रकै पालामा तराईमा व्यवस्थित बसाेबास गराउने उद्देश्य सहित पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै पुनर्वास कार्यक्रमकाे थालनी भएकाे हाे । यही कार्यक्रमले पहाडका पहिराे पीडित, तराईका बाढी पीडित अनि परदेशिएका नेपालीलाई समटेकाे थियो । जसका लागि अमेरिकी सहयाेग निकायले सहकार्य गरेकाे थियाे ।

विक्रम संवत् २०२३ सालमै सरकारी याेजनाकार गाैरीप्रसाद भट्टराईले आफ्नाे याेजना प्रतिवेदनमा लेखेका रहेछन। पुनर्वासका तिन सुत्र — मानव वास व्यपस्थापन, भूमी व्यवस्थापन र सीमा व्यवस्थापन ।

त्यसैले हाेला, पृथ्वीनगर बस्दा शुरुका बर्ष, मैले चिल्लाे टिनमा आउने घ्यु, तेल, सेताे म‌ैदाकाे राेटी अनि पाउडर दूध खुब खाएँ । आमाले त्याे घ्युमा सेकेर दिनुहुने राेटीकाे स्वाद जिब्राेमा अझै छ । पाउडर दूध त लुकी चाेरी फाँको हाल्थेँ ।

सानै थिएँ । तर, अहिले सम्झना ठूलो छ । हाम्राे पुनर्वासभन्दा पहिले राजवंशी र सतार गाउँहरू विकसित र व्यवस्थित भइसकेका थिए । मिठाे राम्राे चाहिँदा हाम्रा गाउँका पनि कि डुगडुगी कि अझ ठूलो बजार बनियानी जान्थे । यी कैयौं बर्ष पुरानाे राजवंशी र सतार गाउँहरू हुन् ।

अन्य आकर्षणहरू

गाउँ यात्रा

जुम्लामा हल्ला हमला

जुविथामा खल्बल

मेरा अर्का मीत बुवा कल्याणसिंह राजवंशी ठूला जमिन्दार थिए । हैकम थियाे उनकाे । उनी बनियानी-डुगडुगी क्षेत्रका नेता पनि थिए । सँधै घाेडामा हिँड्थे । मैले पनि मितबुवाकाे काखमा बसेर धेरैचाेटी धुलाे उडाउँदै पृथ्वीनगर शयर गरेकाे छु । क्या मज्जा आउँथ्याे । अहिले पनि सम्झँदा मन त्यसै दाैडिन्छ, घाेडा जस्तै । घाेडा चढ्दा, म अरुलाई सानाे, हेपिएकाे, गरीब देख्थेँ । आफूलाई सँधै उच्च भएकाे महसुस हुन्थ्याे । मितबुवाले घाेडाबाट आेराल्देपछि झसङ्ग हुन्थेँ । म त त्यहीँ छु, त्यही धर्तीमा छु । एकछिनकाे स्वप्न भ्रम टुट्थ्याे ।

यी मितबुवा चै मेराे बुवाकाे मीत, अर्का चै मेराे मितका बुवा ।

मेरा मितका बुवा, भूतपूर्व ब्रिटिश सेना, लाहुरे । त्यसबेला नै गाउँमा माेटरसाइकल चढेर हिँड्ने । त्यसैले मैले त्याे विरान पृथ्वीनगरमै मितबुवाकाे कम्मर समातेर पहिलाे पटक माेटरसाइकल चढेँ, मीत हङ्कुकाे पछिड लागेर। एउटा मितबुवाकाे अघिल्तिर काखमा बसेर घाेडा सवार गरेँ, अर्काे मितबुवाकाे पछिल्तिर कम्मर समाएर माेटरसाइकल सवार ।

डुगडुगीमा मंगलबार, बनियानीमा बिहीबार हाट लाग्थ्याे । बनियानी ठूलो हाट । म त्यहाँ त्यति गइनँ । डुगडुगीसित चैँ मेरा अविस्मरणिय सम्झनाहरू छन् ।

बजारकाे बीचमा ठूलो पिपल रूख थियाे । माईलाे भाइ र मलाई आमाले त्यहीँ बसाउनुहुन्थ्याे । अनि, एक थुप्राे आँप हाम्रा अगाडि राखिदिनुहुन्थ्याे । ती कति दाना हुन्थे, कहिल्यै गनिएन । अमन हुन्जेल आँप चुसिन्थ्याे । त्याे बर्षलाई पुग्ने गरी । हाटमै आँप, अलिअलि चिनीगुट्टी (चकलेट) र प्याजी (पका‌ैडा) थपेको पेट हिँडेर घर आइपुग्दा ठाममा आइसकेकाे हुन्थ्याे । अनि, आमाले हाटमा किनेको मागुर माछाकाे झाेल र भात बेलुका स्वादले खाइन्थ्याे ।

हाम्राे आसामे लाइनमा फल्ने मेमलाई चामलकाे चाम्रे, तीलकाे अचार, काँचाे गुन्द्रुकमा काँचै लसुन माेलेकाे अचार, वेलचना पातकाे अमिलाे हालेकाे गरै माछाकाे झाेल । सम्झदा मुखभरि रसाउँछ । अजी (हजुरआमा) ले खाेलामा समातेर सुकाएकाे चिप्ले माछा मिसाकाे घिरौँला तरकारी अनि कालाे दालभात । यति भएपछि, मलाई पुग्थ्याे । यी उनीहरूले बसाइ सर्दा आफुसितै आसामबाट ल्याएका थिए ।

मेची पुलमा रिक्सा सवार।

गाउँ जंगल नै थियाे । अनि जंगली मुन्तला, अमला, जामुन, केमुन अनेक फलफुल पनि सानैमा मैले त्यहाँ चाखेँ । घरकाे आँगनमै चर्न आउने थरिथरीका रंगिविरंगी चराचुरुङ्गीसित आँखा जुधाउथेँ । मबाट केही पटक गुलेली सिक्ने लहरले तिनलाई मार्ने र घाइते बनाउने काम पनि भयाे । अहिले सम्झँदा, आत्मग्लानी हुन्छ ।

मकैबारीकाे फुटुक टिपेर खानु अनि आलीमा उम्रेका लज्जावती घाससित घण्टौँ खेलेर बस्नु । तिनमा लाजले खुम्चिनु, सम्झँदा ओठ मुस्काउँछ । बाँसघारीलाई पिङ बनाउनु । अनि, राती खुला आकाशमा तारा गन्नु । कहिलेकाहीँ आकाशकाे जुनसित मैले खुब लुकामारी खेलेँ गाउँमा । याे चैँ मेराे आफ्नै खेल अविष्कार थियाे । यसमा पनि लुक्न म त्यही बाँसघारीभित्र छिर्थेँ । कैयौँबेरपछि थाकेर सुटुक्क निस्कँदा आकाशमा जुन त्यहीँ देखेपछि, लुसुक्क हारेर सुत्न जान्थेँ ।

अनि, गुननुन गर्ने, काठकाे प्वालभित्र बस्ने भमरा थुनेर रेडियाे बजाउँथ्याै । घामकिराकाे पुच्छरमा डाेरी बाँधेर हेलिकप्टर उडाइ खेल्थ्यौँ ।

हाम्राे पृथ्वीनगर देउनीवारि मात्रै थियाे । सदरमुकाम चन्द्रगढी, भद्रपुर हामीले हिँडेरै त्यहाँ पुग्न सक्ने भएपछि देखेका हौँ । नत्र भने, सबै मेची नदी तरेर भारतकाे ठाकुरगन्ज जान्थे । किनबेच पनि त्यहीँ चल्थ्याे । खास गरेर धान, सनपाट उता जान्थ्याे । नुनतेल उताबाट आउँथ्याे ।

भारतकाे आसाम, सिक्किम र दार्जिलिङ भेगसित सम्बन्ध भएकाहरू पनि ठाकुरगंज, गलगलिया हुँदै ठूलो रेल स्टेसन सिलिगुढी पुग्थे । सिलिगुढी पश्चिम बंगालकाे कलकत्तापछिकाे ठूलो केन्द्र हाे । शहर हाे ।

बाँस नराेपेकाे  घर हुँदैनथ्यो । केराका बोट , बाेटमा फलेका लटरम्म पहेँला, हरिया केरा हाम्रा लागि फल मात्रै हाेइन, तरकारी र अचार पनि बन्थे ।

रात परेपछि, यिनै केराका झाङ्गले जंगली हात्तीलाई निम्ताे दिन्थे । हाती गाउँ छिरेपछि, घरका मुलीहरूकाे हाेश उड्थ्याे । आगाेकाे पुल्ठाे बालेर हाती धपाउन निस्कन्थे । हामीहरू आमाकाे छातीमा लुक्थ्यौँ । आमाहरूकाे सुरक्षा घेरामा हुन्थ्यौँ । यसरी पनि त्रासदी रात हाम्राे गाउँमा आउँथ्याे ।

बिस्तारै पृथ्वीनगरमा पहाडकाे हाट संस्कृति सुरु हुन थाल्याे । हाटहरू र ठाउँकाे नाम बारमा सर्न थाल्याे । पहिलाकाे डुगडुगी, बनियानी जस्तै अब नजिकै साेमबारे, बिहीबारे भए हाट लाग्न थाल्याे ।

अहिलेका हाटले, पहिलेका माछा बजारलाई विस्थापन गरी सुँगुरकाे मासु र काेदाेकाे जाँडलाइ स्थापना गर्याे । दिनभरि लाग्ने हाट, राती धान नाच नाच्ने ठाउँ बन्थ्याे ।

बाबाका साथमा नयाँ (नेपालगञ्ज) यात्राका लागि तयार लेखक ।

सतारहरूकाे मितुवा नाच आफुलाई जाेगाउन, हाम्रा घर घरमा दशैँ तिहार पर्खेर आइपुग्थ्याे । रैथाने बसाेबासीहरू अल्पसंख्यक वन्दै थिए । उनका परम्परा, संस्कार र संस्कृति पहाडमुन्तिर आइपुगेकाे थियाे ।

मेराे सम्झना घर हिमाली बस्तीमै छाडेर, एकदिन विक्रम संवत् २०३४ सालकाे झिसमिसे विहानमा म, हामी, हाम्राे परिवार पृथ्वीनगर छाेडदै थियौँ । फेरि अर्काे रमाइलो बसाँ सराइकाे राेमान्च मेराे बाला मनभरि भरिएकाे थियाे । म पृथ्वीनगर छाेडेकाेमा म असाध्यै खुसी थिए ।

तर, आज लाग्छ । हिमाली बस्ती, आसामे लाइन, स्कुले डाँडा, साेमबारे, बनियानी, डुगडुगीभन्दा म टाढा गएकै रहेनछु ।

दशरथ दा, खेमु दा, अरु दादाहरूसित भलाकुसारी चलिरहन्छ । दिलिप, खड्गनारायण, राजन अझै हिमाली बस्तीमै छन् । ठुली आमा र बुवाहरू, मामाहरू पनि त्यतै छन् ।

मैले भाेगेकाे, बाँचेकाे पृथ्वीनगरले मलाई धमिलाे सम्झना बनेर कुतकुत्याइरहन्छ । अब, कहिले आउने भनेर साेधिरहन्छ ।

(तस्बिर सौजन्यः लेखक । )
Facebook Comments