काम केही हुँदैनन्
बुढ्यौली कविता शृङ्खला - ३२
चाला उस्तै भारदारी चलेको
राणा शाही शासनै हो कि जस्तो
पंखा चल्छन् मेचमा जागिरे छन्
वार्ता गर्छन् काम टार्दै रहन्छन् ।१
पाना पल्टे सात वा आठ चोटि
आँखा लागे खै यहाँ एक चोटि
साह्रै राम्रा कोट पाइन्ट भिर्छन्
कुर्सी घुम्छन् हात थन्केर बस्छन् ।२
पाना एकै हेर्न लाग्दो छ घन्टा
यो यो ल्याऊ फेरि अर्को छ टन्टा
वाक्कै दिक्कै लाम बासी छ उस्तै
राजाको हो काम यो जान जस्तै ।३
भन्छन् कोही अस्तिबाटै छ बाँकी
बाजे भन्छन् काम सुस्तै छ नाति
चस्मावाला भन्छ मेरो अगाडि
बच्चावाला हेर पार्दै पछाडि ।४
हेर्दाहेर्दै खात लाग्दै छ काम
त्यै बेलामा पुग्छ खाजा बदाम
कुर्सी लाग्यो फन्न फन्का पछाडि
साथी हेर्दै बक्न लाग्यो गफाडी ।५
घन्टा बित्दा हुन्न खोस्टो तयार
डाको चर्को हाकिमी छन् हजार
चस्मा भित्रै कुन्नि के के छ चाल
दायाँबायाँ हेर्न लागे कमाल ।६
देख्दा अग्लो चार तल्ले अटाली
बुर्जा निस्के चौदिशा पङ्ख हाली
चर्को गर्मी भित्र पंखा चलेको
तातो हप्को बाहिरीफेर चल्दो ।७
पालो कुर्दा लाग्छ कामै बनेन
के के गर्ने ल्याउने खै भनेन
यस्तो चाला देश के बन्छ राम्रो
नौलो नौलो बन्छ नेपाल हाम्रो ।८
बिस्तारै यो चल्छ सञ्जाल हेर
घुम्दै सुत्दै गर्छ वा चल्छ नेट
शंकामात्रै हुन्छ जैले यहाँ त
सानो जाबो काम रुक्ने यता त।९
पालोसान्ती गर्न सङ्केत * चालू
देखाएको नामको मात्र भालु
आयो आयो नाम अर्कै कसैको
ताजा पेशी यो थियो जो कसैको ।१०
थोत्रो धेरै कागजी लालपुर्जा
टुक्राटुक्रा भैसकेको अवस्था
फेरौँ भन्दा लाग्छ लौ धेर धामा
छैनन् कोही आफ्नू काका र मामा ।११
मेरो आफ्नो कागजी लेख छैन
सोही मैले पाउनै आश छैन
झुत्रो थोत्रो फेर्न गाह्रो छ यस्तो
पैसा ख्वाए बन्छ होला कि चाँडो ?१२
तन्नेरीको काम चाँडै हुने रे
वृद्धा पुस्ता यत्तिकैमा रुँने रे
के के बोल्छन् हेर भाषा नयाँ छन्
बूढो पुस्ता कष्ट लाखौं थपिन्छन् ।१३
(सरकारी कामको सिलसिलामा वृद्ध पुस्ताले पाएको हैरानीलाई समेटिएको )