परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मोदनाथ प्रश्रितको पत्र

(प्रगतिशील साहित्यकार तथा वामपन्थी चिन्तक मोदनाथ प्रश्रित असी वर्ष लाग्न लाग्नु भएको अवसरमा यस अवसरमा परिसंवाद डक कम उहाँको सुस्वास्थ्य र दीर्घायुको हार्दिक कामना गर्दछ । यस अवसरमा उहाँले पार गर्नभएको वलीदानीपूर्ण र कठोर विगतको संस्मरण गर्न २०४२ साल मंसिर १८ गते गौर जेल रौतहटबाट प्रगतिशील साहित्यकार, लेखक तथा वामपन्थी नेता मोदनाथ प्रश्रितले केन्द्रीय कारागार काठमाडौंमा रहनु भएका आफ्ना मित्र गोविन्द पोखरेललाई लेख्नु भएको पत्र प्रस्तुत गरेका छौं– सं)

गौरजेल, रौतहट, ना.अं.
मंसीर १८, २०४२

प्रिय गोविन्दजी,
हार्दिक नमस्कार !

तपाईंको मंसीर ६ को पत्रबाट तपाईंहरु सकुशल रहनु भएको र केही गरिरहनु भएको थाहा पाएर खुसी लाग्यो ।

पत्र पढ्नासाथ त्यहाँका सम्झनाहरु लहराए मनमा । २८ फागुनमा तपाईंहरुसित विदाभएपछि फेरि गाह्रा साँगुरा बाटा हिंड्दै यहाँसम्म आइपुगियो ।

त्यहाँका साथीहरु मान कुमारजी, केशव नेपालजी, छिन्ताङका साथीहरु, कंगालजी, कमानजी, चन्द्रजी, समसेर दाइ, रुद्रजी। राधाकृष्णजी आदिआदिका चित्रहरु नाचे । सबैसम्म पुर्याउनोस् सम्झना ।

जेल जीवनमा जेल बारे नै तपाईले खुल्दुली पोख्नुभएछ । हुन त तपाईका प्रश्नहरुको सटीक ऐतिहासिक उत्तर दिने सन्दर्भ सामग्री मसँग अहिले छैन तर पनि आफ्नो ऐतिहासिक समझदारीका आधारमा यसबारे केही बताउँ।

मानव समाज पशुपालन युगमा प्रवेश गरेको मोटामोटी रुपमा १० हजार वर्ष भयो र पशुचारी जीवनबाटै गुजारा गर्न थालेको सात हजार वर्ष भयो । त्यसअघि निजी सम्पत्ति जोर्नु र एक कवीलाले अर्का कविलालाई अधीन पार्ने र दास राख्ने चलन हुनु सम्भव थिएन । पशुपालनको मात्रा बढेपछि र विशेष गरी आजको छ हजार वर्ष अघि खेतीको थालनी भएपछि नै मानव श्रमको खाँचो बढ्यो र युद्धमा पक्डिनेहरुलाई मार्नुको सट्टा आफ्नो नियन्त्रणमा राखेर दास बनाउन थलियो । संसारमा सबभन्दा पहिले त्यसरी युद्धमा पक्डिनेहरुलाई नै भाग्न नसकुन भनेर ‘युद्धवन्दी’ को रुप दिइयो । दासहरुलाई पालो–पहरा दिएर, नेल र साङ्लाहरुले बाँधेर राखी श्रममा जोताउन थालेपछि नै जेलको जन्म भएको मान्नु पर्छ । तपाई ई.पू. २५०० तिरका मिश्रका पिरामिड निर्माता र सिन्धु सभ्यताका ई.पू. २००० तिरका दासहरुको सम्झना गर्नुहोस् । यसरी सम्पतिशाली मालिक वर्गले शासित श्रमिक वर्गलाई नियन्त्रण गर्ने साधनको रुपमा जेलको उत्पत्ति भयो । यस्ता प्रसङ्गहरु महाभारतका विभिन्न प्रसङ्गमा पनि पाइन्छन् ।

गोलघरको माथि मुरली बजाइरहेका कृष्ण महाभारतकालीन नायक हुन् र तिनी जेलमा जन्मेका थिए । तिनको कथाले जेल, शासकहरुद्वारा आफ्ना विरोधीहरुलाई नियन्त्रण गर्नमा त्यसबेलादेखि प्रयोग गरिन्थ्यो भन्ने प्रष्ट हुन्छ । त्यसैले शासक वर्ग र उसका बुद्धिजीवीहरु जेललाई सुधारगृहको नाम दिन्छन् भने भौतिकवादी विचारकहरु र यथास्थितिवादका विरोधीहरु श्रमिक जनतालाई नियन्त्रणमा राख्ने यातनागृहको रुपमा लिन्छन् ।

ऐतिहासिक कालमा ई.पू.६०० तिरका कोसल, मगध राज्यहरुमा मौर्य शासनकालमा पनि जेल र नेल, हथकडी प्रयोग भएको पाइएको छ । तर माथिल्ला वर्गद्वारा सञ्चालित प्रायः सबै राज्यहरुमा थुनिनेभन्दा थुन्ने बढी अपराधी भएको पनि पाइएको छ । त्यहाँ शासक वर्गको ठूलो हिस्सा जतिसुकै अपराध गरे पनि जेल पर्दैन । हात्ती चोर्ने जेल पर्दैन, कुखुरा चोर्ने जेल पर्छ या अत्याचारको विरोध गर्ने पर्छ, मारिन्छ । करोडपतिले जेल काट्नै पर्दैन कंस र हिट्लरलाई संझनोस् । राम्ररी सञ्चालित समाजवादमा मात्र जेल सुधार गृह बन्न सक्छ ।

आज जुन अर्थमा हामी, राजनीतिक सत्ता, शासक वर्ग वा सरकार भन्दछांै, तिनीहरुले– समाजमा असमान वर्गहरु र वर्ग विरोधहरु हुनाको कारणले, विना जेल सत्ता चलाउनु सम्भव छैन र अहिले संसारका कुनैखाले (सामन्ती, सैनिक, पूँजीवादी, फासीवादी, समाजवादी आदि) राज्यसत्ता पनि विना जेल चलिरहेका छैनन् ।

माक्र्सवादीहरुले परिकल्पना गरेको वर्गविहीन समाज संसारमा कहीं पनि कायम भैसकेको छैन र त्यस्तो समाज राज्यहीन पनि हुने हुनाले त्यहाँ आजको रुपमा जेलको अस्तित्व रहने छैन । समाजमा वर्गविरोध रहेसंम कुनै खास–खास वर्गको नै शासनसत्ता हुनेहुनाले जेल रहित राज्यको कल्पना कोरा आदर्शवाद मात्र हुन्छ ।

तपाईले सोध्नु भएका प्रश्नको सार रुपमा उत्तर यही हो जस्तो मलाई लाग्छ ।

तपाईले नेपालको बारेमा लेख्न थाल्नु भएको कुरा सफलहोस्, हार्दिक शुभेच्छा । खुव पढ्नुहोस्, लेख्नुहोस् र जेलको सम्पूर्ण समयको सदुपयोग गर्नुहोस् ।

अहिले यति
तपाईकै
मोदनाथ प्रश्रित

(पत्रचार गर्दा यहाँ बैरङ पत्रको शुल्क तिर्नुपर्ने स्थितितिर ध्यान दिनुहुन अनुरोध छ ।– प्रश्रित)

Facebook Comments