खुशी
मीत्बा उबाच
जब पढिन्छ, लेखिन्छ,
संसार देखिन्छ, बुझिन्छ,
दिमागमा स्व-विवेक भरिन्छ,
आफ्नै गन्तब्य जानिन्छ ।
आफुसंग जे-जति छ,
त्यसैमा राम्ररी होस् पुर्याए
जीवन रमाउँदै बाँचिन्छ।
उफ्रेर बाँचिन्छ,
बिग्रेर बाँचिन्छ,
दिएर बाँचिन्छ,
पिएर बाँचिन्छ,
चारेर बाँचिन्छ,
हारेर पनि बाँचिन्छ,
आफुलाई मनपर्ने जीवन
आफैलाई सोधेर बाँचे
सजिलै आ-आफ्नो
लक्षमा पनि पुगिन्छ,
हो, त्यसै गरे
जीवन जति बाँच्न पर्ने हो,
त्यति नाँचि-नाँची बाँचिन्छ।
त्यसैले सँधै आफै र
आफ्नाहरुका लागि मात्र
काम, नाम, र दाम
कति कमाउँछौ ?
अरुको लागि पनि
केही गरेर बाँच्नपर्छ,
लोभ र इर्श्याको जंघार
बेलैमा तरेर बाँच्नपर्छ,
आनन्दले एक्छत्त सास मात्र
फेरेर पनि बाँच्नपर्छ,
माया, प्रेम, सद्भाव
धेरै तिर छरेर बाँच्नपर्छ,
एक-दुई खुड्किलो
तल झरेर बाँच्नपर्छ,
पटक-पटक भयो, पुग्यो भनेर बाँच्नपर्छ,
दिन-रात नभनेर पनि खुशीले बाँचनै पर्छ।