बोल्ने चरी छैन खै ?
बुढ्यौली साहित्य (शृङ्खला -१५)
आँखामा अघिको छ चित्र रमिता पर्दा घुमेका सरि
के के भोग्न र देख्न पर्छ दुनियाँ यो नाटकै हो हरि
कस्तो फूलसमानको वय थियो प्यारी म छोरी थिएँ
खेल्ने खान र लाउने रुचि थियो डुल्दै घुमेँ हुर्किएँ ।१
छोरी हो ममता दिने कुसुम यो भन्ने पिताजी उता
छातीभित्र अटाउने मृदुमती आमा गइन् खै कता
खानी त्यो सुखको अपार ममता माटो भयो, पोलियो
बा–आमा अघि जानु भो सबजना प्रारब्धमा लेखियो।२
कविता
सानो जागिरको गरेर लहना आफू बसेँ लोकमा
बाँचेकी छु म आजसम्म जगमा लड्दै रुँदै भोकमा
कस्तो इज्जतमा पढाउनुभयो मेरा बुवाले अघि
सोही कर्म फलेर वृक्ष अब यो झुल्दो छ हाँगाभरी ।३
शिक्षा स्वास्थ कमी थिएन पुरमा बाबा हुँदासम्म ता
पानी खेत कुलो चले सब हरा मेरा बुबाको कृपा
बस्तीका जनमा कुनै दुःख परे आफैं बुबा लाग्नु भो
मन्त्री, पञ्चसभा बसाउनु भयो हाँसेर बोल्नु भयो ।४
उस्ता पुज्य पिता अनि जननीकी सन्तान छोरी म हुँ
आफ्नै वर्णन मात्र धेर कसरी आफ्ना मुखैले गरूँ
सेनाको अति उच्च जागिर थियो मेरा पिताको अघि
माथिल्लो तहसम्मका पहुँचमा थियो पिताको छवि ।५
आए माग्न भनेर हात घरमा कस्ता ठुला पोष्टका
मन्त्री डाक्टर आउँथे र कति ता छोरा थिए इष्टका
केही छैन कमी यिनी बसिरहुन् के दुःखमा होमिनु
भन्दै ती सबमा विदा दिनुभयो छोरी कहाँ अन्मिनु ?६
जैलेसम्म उमेरको हद थियोे जागीर मैले गरेँ
साना भाइहरू थिए मदन झैं सेवा उनैको गरेँ
बाबाको हुन दिन्नथेँ म अपुरो मागी बिहे गर्दिएँ
साना ती कलिला मुनासरि भए स्याहार राम्रो गरेँ ।७
आफ्नो कर्म गरेर वर्ष यतिका मैले गुजारेँ यता
आफ्नो जागिरमा म अब्बल थिएँ लागेन केही खत
साठी वर्ष उमेरले घर बसेँ मिल्दैछ यो पेन्सन
भोकी छैन म, रोग छैन तनमा छैनन् अरू टेन्सन ।८
माया मोह गरेर रात दिन जो हुर्काइयो बालक
खै आफन्त भनेर भन्छ कुनले पर्दो छु छक्कै म त
आआफ्ना लघु सोचमा सबजना एक्लै परेकी म छु
राम्रो जीवन होस् सधैं शुभ रहोस् राम्रो चिताई बसूँ ।९
मेरो पेन्सन आउँदो छ मकनै चाहिन्न केही अरू
तिम्रै लालन पालना विषयमा चिन्ता छ मेरो बरु
राम्रो ज्ञान लिएर मानिस भए त्यै देख्न पाए भयो
मेरा हात र पाउ छन् सबल यी चल्दै रहे भैगयो ।१०
तिम्रा चाल म देख्दछु जब यता छोइन्छ भित्री कुना
कस्तो जीवन यो गरेँ शिव हरे दुख्दो गुना चौगुना
हेर्दै चित्त बुझाउँछु मन भरी आफन्त मेरा भनी
जे जस्तो हुन लेखियो अघि कठै मेटिन्न केर्दा पनि ।११
आफ्ना रक्त भए दया र ममता बेसी हुने नै थियो
आफ्नो रक्त भए त पथ्थर बनी के हेर्न सक्ने थियो
आफ्नैको अपमानमा अलि खुसी मिल्ने थियो के गरूँ
आमा बन्न थिएन भाग्य लहरी यस्तो कुरा के गरूँ ।१२
के हो चाह भएन बैँस भरमा वैवाह सन्तानको
गाँज्दै यो वयले लग्यो अब पुगेँ यो सत्तरी खुट्किलो
सानो बास बनाइयो सदनमा बोल्ने चरी छैन खै
यो निस्सार सधैं छ एकल हरे ढोका सधैं बन्द नै।१३
(सत्तरी वर्षीया एक पूर्व कर्मचारी अविवाहित एकल महिलाको अवस्थामा आधारित )
छन्द:- शार्दूलविक्रीडित