परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

लथालिङ देशको भताभुङ पार्टी !

फुटानी

म त निरास भएँ भिरघरे ।

किन काका ! के भो त्यस्तो !

अब पार्टी पनि फुटी हाल्यो । कार्यकर्ता पनि छरपस्ट । सबै मिलेर सके । तिमार्को काँग्रेसलाई सुकेनासले खाएन भने सप्रेर आउने भयो । हामी रमिते हुने भयौं ।

बढी नै भाको थियो काका । ओलीलाई काम गर्न नदेको पनि पक्का हो । ओलीले पनि नरहे बाँस नबजे बाँसुरी भनेर ठोकेकै हुन । मलाई चैं दुवै पक्षले यतिसम्म चैं गर्लान भन्ने लागेको थिएन ।

नलागेर के गर्नु ! गरी खान नसके पछि ‘लथालिङ देशको भताभुङ्ग पार्टी’ बनाइ हाले ! अब के होला त भिरघरे । अदालतले के गर्ला, निर्वाचन आयोगले के गर्ला अनि यी पार्टीहर्ले के गर्लान् ।

पार्टीहरु आन्दोलन गर्छन् बस्छन् । अबको आन्दोलनहरुमा जनसहभागिता कम हुन्छ । किनभने नेपाली जनताले २००७ सालदेखि आन्दोलन गरे । साँच्चै भन्ने हो भने काका तिमार्ले गरेको माओवादी युद्ध बाहेक सबै आन्दोलन सफल भए । सरकार मात्र होइन, व्यवस्था नै परिवर्तन भयो । तर, नेपाली जनताको समस्या यथावत् नै रहे । सत्ता र व्यवस्था परिवर्तन भयो शासकहर्को सोच परिवर्तन भएन । तिम्रा-हाम्रा नेता सत्तामा पुगे पछि बादशाह बने । जनताको नेता बन्न सकेनन् । कि कसो काकी !

ठिकै हो भतिज ! जब माओवादीका नेता प्रचण्ड जस्ता अत्यान्तै ढोंगी, दम्भी र महत्वकांक्षी व्यक्तिलाई सर्वहारा वर्गका महान नेता भन्न थालियो, जब माधव नेपाल जस्ता व्यक्तिलाई लोभ लालच नभएका अत्यान्त सरल नेता भनेर बुझ्न थालियो, जब…!

के जब, जब भन्छेस झुम्री ! जब ओलीलाई माओवादी जस्तो महान पार्टीले सत्तामा विराजमान गरायो तब उनी बादशाहा बने । तर, जे भने पनि एमालेको दह्रो संगठन, प्रतिवद्ध कार्यकर्ता पंक्ति र विस्तारित अवस्थालाई हाम्रा महान काम्रेड प्रचण्डले योजना अनुरुप ‘ब्रेक थ्रु’ गरेकै हो । तहसनहस, ध्वस्त बनाकै हो । अब तिनार्को लेबी उठ्न छाडी सकेको छ । कार्यकर्ताहरु निरास छन् । तिनार्को जिल्ला पार्टी कार्यालयहरु हामी कब्जा गर्छौं ।

काका ! अब पनि कब्जा, अब पनि आतङ्क, अब पनि चन्दा, अब पनि हत्या जनताले रुचाउँछन् र !

नरुचाए रुचाउँदैनन् । पहिला पनि कहाँ रुचाएको थियो र ! तर, हामीले जनता र राष्ट्रलाई मुक्त बनाएरै छाड्यौं ।

काका ! यो हावा कुरा नगर । एउटा काम चै प्रचण्डले सफल गरे त्यो हो एमाले संगठन ध्वस्त बनाउने काम । अर्को भनेको जनतामा माओवादी पार्टीप्रति घृणा व्याप्त छ । त्यसलाई पनि अलि मिसमास गर्ने काम पनि सम्पन्न गरे । हामी काँग्रेसलाई त खुदो पल्टेको छ ।

तिमारु काँग्रेसहरु हुतिहारा र निणर्य गर्न नसक्नेको जमात हौ । ओलीको विरोध पनि गर्ने अरे प्रतिनिधिसभा स्थापना हुनुपर्छ पनि नभन्ने अरे ! यस्तो विरोधाभाष पनि नीति हुन्छ ?

अदालतमा विचाराधीन विषय तिमार्ले जस्तो फैसला हाम्रै पक्षमा हुनुपर्छ भनेर कांग्रेसले भन्दैन । कांग्रेसले जहिले पनि स्वतन्त्र न्यायालयको वकालत गर्छ र अदालतको फैसलालाई स्वीकार गर्छ । सडकमा परक्क बटारिएर अस्तिसम्मका आफ्ना साथीलाई तथानाम भन्ने, अर्काको कार्यालय कब्जा गर्ने, जुनसुकै काम जबरजस्ती गर्न लगाउने कांगे्रसबाट हुदैन ।

हेर भिरघरे ! तिमार्ले हामीलाई पछ्याउने हो । अब नेपालमा प्रचण्ड र देउवाको बाहेक अरुको पार्टी हुँदैन । उस्तै परे बाबुराम पनि दलबल सहित हामै्र पार्टीमा प्रवेश गर्छन् । हाम्रो पार्टीले नेपालमा अब १५-२० वर्ष शासन गर्छ । सर्वहारा वर्गका एक मात्र नेता हाम्रा महान काम्रेड प्रचण्ड नै नेकपाका अध्यक्ष र मुलुकको प्रधानमन्त्री बन्ने छन् ।

सपना देख्न पाइन्छ काका ! जब सोम शर्माको सातुको घ्याम्पो फुट्छ तब होस् खुल्छ । अब तिमार्ले यो वडामा पनि जित्तैनौ । यहाँ त हाम्रो र ओलीको पार्टीको प्रतिस्पर्धा हुन्छ । जिल्लामा चै फेरि पनि धनबहादुर बुढा नै बलिया छन् ।

ठिक भन्यो भतिजले । जिते ओलीको नेकपाले जित्छ । आफ्नो वरिपरि हेर्नु छैन गफ गर्छन् यी बुढा । यहाँ हामी १० घर भोटर्स छौं, ३१ जना मतदाता छन् । त्यस मध्ये यी बुढासमेत ३ जना प्रचण्ड अर्को ३ जना माधव नेपालको, अरु ११ जना कांग्रेस अरु सप्पै ओली पक्ष छन् । अन्त पनि यस्तै छ होला नि !
यस्तो चैं छैन झुम्री ! नचाहिने कुरो नगर ! चितवन, काठमाडौं, विराटनगर, झापा, इलाम, बुटवल, नेपालगञ्ज, धनगढी, दाङ जस्ता जिल्लामा एक छत्र प्रचण्डलाई भोट दिने कार्यकर्ता छन् ।

हो काका ! कार्यकर्ताले त एकलौटी हैन दुईलौटी देलान तर जनताको भोट चैं तिमार्को कुनै पनि पार्टीलाई आउँदैन । पहिला देकै थियो । पचाएनन् । पचाउन नसक्नेलाई किन दिनु !

यस्तो कन्सिरी तात्ने कुरो नगर भिरघरे । यो जिल्ला बाहेक ओलीकाले काहीं पनि जित्दैन ।

मत पत्र गन्दा च्यात्ने र चवाउने गर्ने दाउ होला अब त्यस्तो गर्न दिदैनन् । बुढा ! चितवनमा छोरीलाई जिताउन देउवालाई प्लेनमा हालेर लगेका थिए । आफु जित्न ओलीलाई लगेर भाषण गर्न लगाए । अहिले ठूलो गफ गरेर धमास दिन्छन् ।

हैन ए झुम्री । तेरो ओलीले चैं कहाँबाट जित्ने ? अब त झापालीले पत्याउदैनन् । अब त्यहाँ ओलीले जे भन्यो त्यही हुँदैन । हाम्रो प्रचण्ड काम्रेडले भनेको हुन्छ । पहिला यो हाम्रो प्रचण्ड काम्रेड थिएर जनताले भोट दिए । अब उनैलाई गाली गरेपछि किन दिन्छन् ।

काका ! थोरै पनि विश्लेषण गर्न आउँदैन तिमीलाई । प्रचण्डले चितवनबाट जित्न जति तिक्डम गरे ओलीले झापाबाट जित्न त्यसो गर्नु परेको थिएन । दुई वर्ष ओलीलाई कार्यकाल पुरा गर्न देको भए अरु २० वर्ष शासन गर्ने थिए । धन्न प्रचण्ड काम्रेड थिए र देउवाको भाग्य खुल्यो ।

तँ पनि देउवा, देउवा भन्दै सकिने भईस् ।

चुनाव मात्र होस्न काका ! प्रत्यक्ष देखिहाल्छौ नि ! ओली र प्रचण्डको पार्टीलाई धुलो चटाउने, डाँडा कटाउने काम हाम्रो कांग्रेसले गरी हाल्छ नि !
वाइयात, काल्पनिक कुरा गर्ने तँ जस्ता हुन्जेल कांग्रेस उभो लाग्दैन ।

हेरौंला ! लौ काका, काकी अब म घरतिर लागें । अर्को आइतवार आउँला ।

अहिलेलाई भने, जै नेपाल !

Facebook Comments